Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

तथ्याङक आयो, पुस्तक बिकेन

आइतबार, १० फागुन २०७१

काठमाडौं १० फागुन / बाढी पहिरोमा परी विद्यार्थीको पुस्तक बगाएको भन्दै मध्यपश्चिमका ४ जिल्लाबाट हजारौं सेट पुस्तक माग भएपनि खपत भएको छैन । साउन पहिलो साता आएको बाढीले २२ हजार विद्यार्थीको पुस्तक बगाएको भन्दै मध्यपश्चिमको बाँके, बर्दिया, सुर्खेत र दाङको शिक्षा कार्यालयले रकम माग गरेका थिए ।

कार्यालयको मागको आधारमा विभागले चालू आर्थिक बर्षको लागि पाठयपुस्तकका लागि विनियोजन भइसकेको रकम खर्च गर्न निर्देशन दिएको थियो ।

पहिलो चौमासिकमा उक्त रकम फुकुवा गरेर विद्यालयलाई दिन भनिएको थियो । तर, यि चार जिल्लामा ५ हजार पुस्तक मात्रै बिक्रि भएको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । शिक्षा कार्यालयले आवश्यक पुस्तकको लागि लाग्ने रकम केन्द्रीय निकायबाटै पठाइदिने आशमा रकम माग गरेपनि विभागले चालू आर्थिक बर्षका लागि निकासा भइसकेको पाठयपुस्तकको बजेट शीर्षकबाट खर्च गर्न निकासा फुकुवा गर्दा खर्च नभएको हुन सक्ने विभागले जनाएको छ ।

शिक्षा विभागको असोज १२ को निर्णय अनुसार चालू आर्थिक बर्ष ०७१/७२ को स्वीकृत बजेट कार्यक्रमबाट जिल्लास्तरमा यसअघि पठाइएको कार्यक्रम तथा बजेटको खर्च शीर्षकको पहिलो चौमासिकमा विनियोजित रकमबाट नै पाठ्यपुस्तकको भुक्तानी निकासा दिने व्यवस्था गर्न भनिएको थियो ।

शिक्षा कार्यालयले रकम उपलब्ध गराउँदा विभागका अधिकारीहरुले स्थलगत अध्ययनबाट निकालेको प्रतिवेदनमा उल्लेख भएको प्रभावित विद्यार्थीको संख्यालाई समेत आधार मान्न भनिएको थियो । त्यस्तै जिल्ला दैविप्रकोप उद्धार समितिबाट पाठयपुस्तक उपलब्ध गराउनु पर्ने कक्षागत विद्यार्थी संख्या एकीन गरी आवश्यक विद्यार्थीलाई मात्रै पुस्तक उपलब्ध गराउन निर्देशन दिईएको थियो ।

कक्षागत पाठयपुस्तकको विवरण र त्यसको लागि निकासा भएको रकम समेत राखेर थप बजेट व्यवस्थाका लागि शिक्षा विभागमा लेखी पठाउन भनिएको थियो । यसरी विद्यार्थी विवरण र रकमको माग प्राप्त भएपछि विभागबाट थप कार्यक्रम तथा बजेट एवं अख्तियारी पठाइने भनिएको थियो ।

मध्यपश्चिमको बाँके, बर्दिया, सुर्खेत र दाङमा आएको बाढीले २२ हजार ५ सय २७ विद्यार्थीको पुस्तक बगाएको शिक्षा कार्यालयले तथ्याङक पठाएको थियो । यि विद्यार्थीका  लागि कार्यालयले रकम माग गरेपछि विभागले रकमको व्यवस्था गरेको थियो । त्यस अनुसार यि विद्यार्थीका लागि ६० लाख ८९ हजार ४ सय ५५ रुपैयाँ निकासा फुकुवा गरेको थियो ।

त्यसमा बर्दियामा १४ हजार ४ सय ९४ विद्यार्थीका लागि ४१ लाख ९९ हजार ३ सय ७, सुर्खेतमा २ हजार ७ सय ७९ विद्यार्थीका लागि ७ लाख १६ हजार ७ सय ९४, दाङमा २ सय जनाको लागि ५२ हजार १ सय ६७ र बाँकेमा ५ हजार ५२ का लागि ११ लाख २१ हजार १ सय ८७ रुपैंया निकासा फुकुवा भएको थियो ।

पुस्तकको लागि यतिका रकम तत्काल व्यवस्था गर्न असोज ७ मा सचिव स्तरीय निर्णय भएको थियो ।

प्रतिक्रिया