Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

विद्यालय शिक्षक किताबखाना सहितको सञ्जाल

बुधबार, २४ चैत्र २०७२

काठमाडौं - शिक्षक, प्रहरी र निजामती किताबखानाको सञ्जाल गठन भएको छ । समान काम गर्ने निकायका काम कारवाहिमा एकरुपता एवं सरल बनाउने उद्धेश्यले सञ्जाल गठन गरिएको हो ।

'सरकारी किताबखानाका काम एकै प्रकृतिका भएकोले एक आपसमा सम्पन्न हुने कार्यको अनुभव साटासाट गर्दा कार्य सम्पादनमा सघाउ पुग्ने ठानेर सञ्जाल गठन गरेका हौं' विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले भने, 'काममा एकरुपता एवं सरल होस् भनेर हामीले मासिक रुपमा बैठक बस्ने निर्णय समेत गरेका छौं ।'

कार्य सम्पादनका बेला भोग्नु परेका सजिला अप्ठ्याराका बारेमा छलफल गरेर सेवाग्राहीलाई थप सहज रुपमा सेवा दिने उद्धेश्य रहेको उनले बताए ।

बुधबार भएको बैठकमा शिक्षक किताबखानाका महानिर्देशक ढुङ्गाना, निजामतीका महानिर्देशक गंगाराम गेलाल र प्रहरीका वेद प्रकाश लेखक सहभागि थिए । अर्थ मन्त्रालय मातहत रहेको निवृत्तिभरण ब्यवस्थापन कार्यालयका लेखा अधिकृत सिताराम निरौला पनि उक्त बैठकमा सहभागि थिए । बैठकमा चारवटै निकायका ११ जनाको उपस्थिती थियो । 

शिक्षक कर्मचारीको विवरण राख्ने तथा सेवा निवृत्त भएपछि पेन्सन पट्टा बनाउने काम कितावखानाले गर्छन् भने पेन्सन रकम वितरणको काम निवृत्तिभरण ब्यवस्थापन कार्यालय मार्फत हुन्छ ।

विद्यालय शिक्षक किताबखानाले कार्यरत १ लाख ७ हजार ८ सय ६० जना शिक्षकको दैनिक बिवरण एवं आवश्यक तथ्याङ्क राख्छ भने सेवा निवृत्त ३५ हजार शिक्षकलाई सेवा दिदैं आएको छ । यस्तै निजामती किताबखानाले कार्यरत ८१ हजार र सेवा निवृत्त ७० हजार कर्मचारीलाई सेवा दिदैं आएको छ भने प्रहरी किताबखानाले जनपद, शसस्त्र, राष्ट्रिय अनुसन्धान तता सर्तकता केन्द्रमा आवद्ध १ लाख १० हजार सुरक्षाकर्मी एवं सेवा निवृत्त ४२ हजार सुरक्षाकर्मीलाई सेवा दिदैं आएको जनाएको छ । यसैगरी निवृत्तिभरण ब्यवस्थापन कार्यालयले २ लाख सेवाग्राहीलाई सेवा दिदैं आएको जनाएको छ ।

प्रकाशित मिति २०७२ चैत २४ गते

प्रतिक्रिया