Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

झाडापखालाबाट एसएलसी परीक्षार्थी विरामी

मंगलबार, २३ चैत्र २०७२

काठमाडौँ, २३ चैत । जाजरकोटको दसेरा गाविसमा झाडापखालाबाट ४० भन्दा बढी बिरामी भएका छन् ।  जिल्लाको जनप्रिय उच्च माध्यमिक विद्यालय दसेरामा एसएलसी दिँदै गरेका विद्यार्थी, परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक चारजना र १६ जना स्थानीय बिरामी परेका हुन् ।  

पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनबहादुर थापा र २० जना परीक्षार्थी बिरामी परेको केन्द्राध्यक्ष अधिकारीले बताए । परीक्षा केन्द्रमै अहिले बिरामीको उपचार भइरहेको छ ।  

एसएलसी दिँदै गरेका रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्च मावि सीमाका विद्यार्थी बिरामी परेका छन् ।  आइतबारदेखि पखालाका बिरामी बढ्दै गएका छन् । आइतबार २२ जना र आज २५ जना पखालाका बिरामीको उपचार गरिएको दसेरा स्वास्थ्य चौकीका प्रमुख स्वास्थ्य सहायक नवीना कँडेलले जानकारी दिए ।  

उनले बिरामीमा अपच, झाडाबान्ता र भाइरल ज्वरो देखापरेको बताउँदै झाडापखाला महामारीका रुपमा फैलन नदिन उच्च सतर्कता अपनाइएको पनि बताउनुभयो । तीन जना स्वास्थ्यकर्मीले काम गरिरहेको बताउँदै इन्चार्ज कँडेलले भने –“सामान्य स्थितिमा केही समयलाई पुग्ने औषधि बाँकी छ ।”  

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका महामारी प्रमुख कृष्णबहादुर खत्रीले अवस्था हेरेर थप औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्न सकिने जानकारी दिँदै उनले भनिन् –“अवस्था बुझिरहेका छौँ, सुधार नआए तत्काल जिल्लाबाट थप जनशक्ति परिचालन गर्छौं ।”  

रासस 

 

प्रतिक्रिया