Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसीको नारा ‘मुस्कान युक्त, चिट मुक्त’

सोमबार, २२ चैत्र २०७२

जाजरकोट– एसएलसीलाई मर्यादित बनाउन जाजरकोटमा ‘मुस्कान युक्त चिट मुक्त’ नारा तय गरिएको छ । परीक्षा केन्द्रमा चिट चोराउनेको भीड भाडको तस्बिर र भिडियो सार्वजनिक भए पछि जिल्लाकै बदनाम भएको भन्दै यस्तो नारा दिइएको हो । परीक्षा हलमा हलमा प्रवेश गर्नुअघि मुस्कान सहित प्रवेश गराउने र चिट मुक्त गराउने नारा बनाएको शिक्षा कर्यालयले जनाएको छ ।

अन्य जिल्लामा परीक्षा सुरु हुनु आधा घण्टा अघि परीक्षा केन्द्रमा प्रवेश गर्नु पर्ने हुन्छ भने जाजरकोटमा एक घण्टा अघि पुगिसक्नु पर्ने हुन्छ । ‘परीक्षा सुरु हुनु एक घण्टा अघि देखि विद्यार्थीको शरीर खानतलासी गर्ने व्यवस्था गरेका छौ’ जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले भने, ‘त्यसैले यसवर्षको परीक्षा बिगतको जस्तो भीडभाड र चोराउने छैनन् ।’

बिहीबारको अंग्रेजी बिषयको परीक्षामा जनता उच्च मावि पैंकमा लाइन लगाएर विद्यार्थीको शरीर खानतलासी गर्ने क्रममा ढुङगा हान्दा एक जना प्रहरी सामान्य घाइते हुने बाहेक अप्रिय घटना नभएको कार्यालयले जनाएको छ । यो केन्द्र सदरमुकामबाट १७ कोष टाढा पर्छ ।

परीक्षा केन्द्रबाट एक किलोमिटर टाढासम्म परीक्षा अवधि भर होटल, पसल खोल्न नपाउने नियम बनाईएको छ । त्यस्तै परीक्षा सुरु भएदेखि अन्तिम दिनसम्म केन्द्र वरीपरी मदिरा बिक्रि वितरणमा रोक लगाईएको सिंहले बताए । ‘जिल्लाको बिगतको खस्किएको साख माथि ल्याउनु छ’ उनले भने ।

परीक्षा दिने विद्यार्थीमा स्वास्थ्य समस्या आउने सक्ने भन्दै प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । प्रत्येक परीक्षा केन्द्रमा छात्राको लागि स्यानिटरी प्याडको समेत व्यवस्था गरिएको छ ।
१९ परीक्षा केन्द्र रहेको जाजरकोटमा ६ हजार सात सय ५७ विद्यार्थीले एसएलसी दिइरहेका छन् । त्यसमा नियमित तर्फ चार हजार चार सय २४, एक्ज्याम्टेड तर्फ २ हजार २ सय ८९ र प्राविधिक धारबाट ४४ जनाले परीक्षा दिइरहेका छन् ।

फाईल फोटो

प्रकाशित मिति २०७२ चैत २२ गते

प्रतिक्रिया