Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
खबर/फिचर

बूढानीलकण्ठले छात्रवृत्ति छनौट ब्यवस्थित गर्ने

सोमबार, ११ फागुन २०७१

काठमाडौं ११ फागुन / बूढानीलकण्ठ स्कूलले झुट्टा विवरण पेस गरी छात्रवृत्ति प्राप्त गर्ने क्रमलाई निरुत्साहि बनाउने दावी गरेको छ । झुट्टा विवरण स्विकृत गर्ने पदाधिकारीहरुलाई कारबाही तथा नतिजा प्रकाशन हुनुभन्दा अगाडि सम्भावित विद्यार्थीको विवरण सत्यापन गराउने व्यवस्था गर्दा पनि यो क्रम नरेकिएको भन्दै विद्यालयले कडाई गर्न लागेको जनाएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कूलले, काठमाडौँ तथा साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका विद्यालयहरुमा विपन्न समुदायका जेहेन्दार बालबालिकाहरूलाई छात्रवृत्ति दिदैं आएको छ । कार्यक्रम अन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा कक्षा ५ देखि अध्ययनका लागि खुला प्रतियोगिताबाट छनौट हुने ब्यवस्था छ ।

लक्षित वर्गले समयमा सूचना नपाउने र हुनेखानेका छोराछोरीहरुले झुट्टा विवरण पेस गरी छात्रवृत्ति प्राप्त गर्ने गरेको भन्दै यस बर्ष विशेष ब्यवस्था गर्न लागेको विद्यालयका प्रिन्सिपल केशर खुलालले बताए ।

‘छनौट प्रक्रियालाई चुस्त र दुरुस्त बनाउन यस वर्षदेखि प्रत्येक आवेदन कर्ताले आवेदन फाराममा भरिएका विवरणलाई परीक्षा अगावै सम्बन्धित प्रधानाध्यापक र स्रोत व्यक्ति वा विद्यालय निरीक्षकको सिफरिसमा सम्बन्धित जिल्ला शिक्षा अधिकारीबाट प्रमाणित गर्नु पर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘झुट्टा विवरण उल्लेख गरी भरिएको दरखास्त फाराम फेला परेमा कुनै पनि बेला छात्रवृत्ति रद्द गर्ने र सिफारिसकर्तालाई आवश्यक कारवाही समेत हुनेछ ।’

प्रत्येक वर्ष बूढानीलकण्ठमा ४० र साझेदारी कार्यक्रम अन्तर्गतका विद्यालयमा प्रत्येक जिल्लाका १÷१ गरी कुल १ सय १५ जनालाई छात्रवृत्ति प्रदान गर्दछ ।

यस बर्ष चैत ३० गते देशका विभिन्न विद्यालयमा परीक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ । आवेदन फाराम बूढानीलकण्ठ स्कूल, शिक्षा विभाग र शिक्षा मन्त्रालयको वेब साइटमा राखिने छ तथा सबै जिल्ला शिक्षा कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

यस वर्षको छनौट परीक्षा इलाम, धनकुटा, इटहरी (सुनसरी), लाहान (सिरहा), सल्लेरी ( सोलुखुम्बु), जनकपुर, सिन्धुलीमाडी ( सिन्धुली), चन्द्रनिगाहपुर ( रौतहट), भरतपुर ( चितवन), धुलिखेल (काभे्रपलाञ्चोक), बूढानीलकण्ठ स्कूल (काठमाडौं), चामे (मनाङ), पोखरा (कास्की), तानसेन (पाल्पा), बाग्लुङ्ग, तौलिहवा (कपिलवस्तु), घोराही (दाङ), नेपालगञ्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत), अत्तरिया (कैलाली), साँफेबगर ( अछाम), पाटन (बैतडी), दार्चुला र जुम्लामा हुने छ । परीक्षा २०७१ चैत ३० गते बिहान ११ बजे हुने छ ।

सन् १९७२ मा बूढानीलकण्ठ स्कूलको स्थापना भएको हो । सबै जातजाति, धर्म, संस्कृति अपनाउने भिन्न भिन्न परिवेशबाट आएका विद्यार्थीहरुलाइै एउटै छानामुनि समान रुपमा अध्ययन अध्यापन गराउन तत्कालीन श्री ५ को सरकार र बेलायत सरकारको संयुक्त लगानीमा स्कुलको स्थापना गरिएको हो ।

४३ वर्षको लामो अन्तरालमा विद्यालयबाट ३५ वटा एसएलसी ब्याच, २८ वटा ए लेभल ब्याच र १६ वटा +२ ब्याच दिक्षित भईसकेको विद्यालयले जनाएको छ ।

स्कुल स्थापनाकालमा छात्रहरुका लागि मात्र सञ्चालनमा ल्याइएको भए तापनि सन् १९९१ बाट सह शिक्षामा गएको हो । यो विद्यालय शैक्षिक गुठीबाट सञ्चालित छ र यसको मुख्य गुठियार शिक्षा मन्त्रालय हो ।

समावेशी सिद्धान्तलाई ध्यानमा राखी विभिन्न भौगोलिक क्षेत्र समेट्दै नेपाल राज्यभित्रका आर्थिक रुपले विपन्न एवं सामाजिक रुपले कमजोर पारिवारिक पृष्ठभूमि भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई स्तरीय शिक्षाको अवसर दिने उद्देश्यले स्थापनाकालदेखि नै नेपाल सरकारले छात्रवृत्ति व्यवस्था गर्दै आएको छ ।

सुरुमा कुल विद्यार्थीको एक चौथाइ र पछि आएर एक तिहाइ संख्यामा यसले छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसबाट १५ सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भइसकेका विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसको दायरा बढाउने उद्देश्यले विगत ५ वर्षदेखि नेपाल सरकार शिक्षा मन्त्रालयले निजी तथा संस्थागत साझेदारी कार्यक्रम अन्तर्गत देशका ६ वटा शैक्षिक गुठीहरुमा पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

बूढानीलकण्ठ स्कूल, काठमाडौँमा ४०, र साझेदारी कार्यक्रम अन्तर्गतका, शितलादेवी मा.वि. पाख्रिवास, धनकुटा, नवजीवन विद्याश्रम उ.मा.वि., सर्लाही, कुलेश्वर आवास मा.वि., कुलेश्वर, बाल मन्दिर मा.वि., लुम्ले, कास्की, जनता नमुना उ.मा.वि., तानसेन, पाल्पा र वीरेन्द्र विद्या मन्दिर उ.मा.वि., टीकापुर, कैलाली गरी प्रत्येक जिल्लाका १ जना गरी जम्मा ७५ जना विद्यार्थीहरु छनौट गरी सिफारिस गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया