Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

स्ववियु निर्वाचन : विद्यार्थी संगठनकै अडानले रोक्यो त्रिविलाई !

सोमबार, २२ चैत्र २०७२

 विष्णु विवेक /  विगत आठ बर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन विद्यार्थी संघ  संगठनका आ–आफ्नै अडानले ढिलाई भएको खुलेको छ।   त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन आउने बैशाखमा गर्ने सम्पुर्ण तयारी अगाडी बढाइरहेका बेला विद्यार्थी संगठनका आफ्नै अडानले यस बर्ष पनि अन्तिम समयमा चुनाव रोकिन सक्ने अन्योलता देखिएको हो ।  

त्रिभुवन विश्वविद्यालयले २०७३ बैशाखमा चुनाव गर्ने तयारी तिब्रताका साथ अगाडी बढाइरहेको छ । यसअघि सम्पूर्ण विद्यार्थी संघ संगठनसंग सामुहिक छलफल गरिसकेको त्रिविको सोमबार बस्ने पदाधिकारी बैठकले स्ववियु निर्वाचनको मिति सकेसम्म चाडैँ घोषणा गर्नेछ ।  तर तीन ठूला पार्टी एमाले, एमाओवादी र नेपाली काग्रेसका विद्यार्थी भातृ संगठनको अडानले मिति घोषणापछि पनि निर्वाचन हुने की नहुने अझै पक्का छैन् । 

खासगरी एमाओवादी, बैद्य र विप्लव निकट अखिल क्रान्तिकारी र नेपाली कांग्रेस निकट नेविसंघको अडानले चुनावको मिति घोषणा गर्नै त्रिविलाई सकस परेको हो । अखिल क्रान्तिकारीले निर्वाचनमा पूर्ण समानुपातिक या कम्तीमा पनि सचिव र कोषाध्यक्ष पदका लागी समानुपातिक निर्वाचन हुनैपर्ने अडान राखेको छ भने नेविसंघले निर्वाचनमा उमेर हदबन्दी हटाउनुपर्ने अडान राखेको छ । 

क्रान्तिकारीले समानुपातिक निर्वाचनको माग गर्दा उमेर हदबन्दीलाई पूर्ण रुपमा अस्वीकार गरेको छ । यता नेविसंघले स्ववियु निर्वाचनमा उठ्ने उम्मेद्वारलाई उमेर हदबन्दी लगाउन नहुने र समानुपातिक निर्वाचन आफुलाई मान्य नहुने भनेको छ । 

बैद्य माओवादीको विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले भने ‘हामीले कम्तीमा पनि सचिव र कोषाध्यक्ष पदका लागी समानुपातिक निर्वाचन हुनुपर्ने भनेका छौँ । यसलाई नेविसंघ र अनेरास्ववियुका साथीहरुले मानेका छैनन् । यही कुरा नमिल्दा विद्यार्थी संगठनबीचमै चुनावका लागी आवश्यक वातावरण नभएको जस्तो देखिएको हो ।’

अध्यक्ष ढकालले आफुहरुले उमेर हदबन्दीलाई एक कार्यकालसम्म स्वीकारेपनि त्रिविको नियमले सधैलाई उमेर हदबन्दी राख्न नमिल्ने बताए । त्रिविको विनियमअनुसार एक कार्यकालसम्म उमेर हदबन्दी लाउन नपाइने भएपछि २०६५ पछि स्ववियु निर्वाचन नहुँदा स्वतः यो व्यवस्था खारेजीमा परेको छ । 

२०६७ मै अर्को स्ववियु निर्वाचन हुनुपर्नेमा त्यो नभएपछि चुनाव नभईकनै एक मात्र होइन दुईओटै कार्यकाल सकिएको छ। यसले नेविसंघलाई प्रत्यक्ष रुपमा आफ्ना पुराना विद्यार्थी नेतालाई एकपटक भएपनि क्याम्पस सभापति बनाउन ठुलो ‘तगारो’ खडा गरिदिएको छ ।  ‘स्ववियु निर्वाचन हुनुपर्ने बेलामा नभएपछि अहिले उमेर हदबन्दी मान्नैपर्छ भन्न मिल्छ ?’ नेविसंघ प्रवक्ता युपी लामिछानेले भने ‘हामीलाई बाएस गरेर गरिने स्ववियु निर्वाचन हुन सक्दैन् ।’

उनले लामो समयदेखि विद्यार्थी आन्दोलनलाई अगाडी बढाएकाहरुलाई आफुले सुखद विदाई गर्न चाहेको भन्दै उमेर हदबन्दी आफुहरुलाई मान्य नभएको जिकिर गरे ।  ‘आज विद्यार्थी आन्दोलनलाई यति ठुलो उचाई दिन जसले योगदान दिएको छ । त्यसलाई कुल्चिन मिल्दैन् । यसका लागी उमेर हदबन्दीको कारण देखाएर उनीहरुलाई बाएस गर्ने हो भने हामी चुनावमै सहभागी हुदैन् । हामीलाई बाएस गरेर गरिने चुनाव कसरी हुन्छ हामी पनि हेरौलाँ ?’ उनले भने ‘यसअगाडी पनि निर्वाचन मिति घोषण गरेपनि चुनाव नभएका थुप्रै उदाहरण छन् । यसपटक राम्रोसंग ख्याल गरियोस ।’

यसमा एमाले निकट अनेरास्ववियुका सचिव आरसी लामिछाने आफुहरु दुबै संगठनलाई मिलाएर जान चाहेको बताउँछन् । तर यसका लागी स्ववियु निर्वाचनको मिति चाडो घोषणा हुनुपर्ने उनको भनाई छ ।  ‘यतिका बर्षसम्म चुनाव भएन् । यसमा टीयु र विद्यार्थी साथीहरुका आ आफ्नै अडान हुन सक्छन् । तर टियुले पहिला चुनावको मिती घोषणा गर्नुपर्छ’ उनले भने ‘दुई संगठनर्ला सन्तुलनमा राखेर अगाडी लैजान र निर्वाचन सम्पन्न पार्न हामी तयार छौँ ।’  

यता त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठी भने त्रिविले निर्वाचनको मिति घोषणा गरेर चुनाव सम्पन्न पार्ने दाबी गर्छिन् ।  ‘हाम्रो सम्पूर्ण तयारी लगभग पुरा हुदैछ । विद्यार्थी संग संगठनसंग आवश्यक छलफल गरिसकेका छौँ र अब पदाधिकारी बैठकले निर्वाचन मिति घोषणा गरेर चुनाव गर्छ ।’ उनले भनिन् ।

विद्यार्थी संघ संगठनका अडानले पनि निर्वाचन हुन नसकेको विषयबारे यो आफुहरुको सरोकारको विषय नभएको बताइन् ।  ‘हामीले चुनाव गरिदिने हो । अब चुनावै चाहदैनन् भने त हाम्रो भन्नु के छ र ? यसअगाडी पनि यस्तै यस्तै कारणले चुनाव रोकिएको थियो’ उनले भनिन् ‘अहिले पनि विद्यार्थी संगठनहरु आफ्नै अडानमा बस्छन् भने हामी के गर्न सक्छौँ  ?’

२०६५ पछि २०६७, २०६९ र २०७१ मा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर आठ बर्षसम्म एकपटक पनि निर्वाचन हुन सकेको छैन् । यसरी आठ बर्षसम्म पनि चुनाव नहुनुमा त्रिविले विद्यार्थी संघ संगठनलाई दोष दिदै आएको छ भने विद्यार्थी संघ संगठनले त्रिविको लापरबाही भनेका छन् ।

यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको थियो । यथासिघ्र स्ववियु निर्वाचनको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले २०७२ बैशाख ८ गते आदेश जारी गर्दै तिन महिनाभित्र चुनाव गर्नु भनेको थियो । तर त्रिविले पाएको सो आदेश बैशाख १२ को भूकम्पले गर्दा अनिश्चित हुन पुग्यो ।

नियमअनुसार हरेक दुई दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०६५ सालपछि भएको छैन।  पछिल्लो समय २०७० जेठ २३ र २०७१ जेठ १४ गते तोकिएको निर्वाचन पनि त्रिविको ढिलासूस्ती र विद्यार्थी संघ संगठनकै अनावश्यक अडानका कारण स्थगित भएका थिए । 

यसपटक बैशाख २० आसपासमा चुनाव गर्ने त्रिविको भित्री मनशाय पनि विद्यार्थी संघ संगठनका आ आफ्नै अडानले प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २०७२ चैत्र २२ गते ।

 

प्रतिक्रिया