Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !

सोमबार, २२ चैत्र २०७२

काठमाडौँ, २२ चैत्र । प्रवेशीका परीक्षा (एसएलसी) मा मोबाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएको पाइएको छ ।  परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको हो । उक्त प्रश्नपत्रका आधारमा उत्तरसमेत तयार गरी पुनः भाइबर र म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो । 

परीक्षाको पहिलो र दोस्रो दिन जिल्ला सदरमुकाम माढीभित्रकै परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म पुर्‌याउने नयाँ तरिका अपनाइएको पाइएको शिक्षकले आरोप लागाएका छन् ।  जिल्ला सदरमुकाम माढीस्थित जनज्योति उमावि परीक्षा केन्द्रमा परीक्षाको पहिलो दिन र दोस्रो दिन यसरी चिट चोराउने र चोर्ने काम भएको बताइएको छ । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णप्रसाद निरौलाले भने, ‘केन्द्रबाट वा बाहिरी कुनै केन्द्रबाट प्रश्न आउट भएको भन्ने एकीन भएन तर परीक्षा हलमा सहभागी विद्यार्थीमा भने म्यासेन्जरमार्फत यस्तो प्रश्नको तयारी उत्तर फोटो र एसएमएसमार्फत आएको परीक्षा सम्पन्न भएपछि थाहा भयो । त्यस विषयमा अनुसनधानका लागि जिल्ला शिक्षा कार्यालयमा समेत जानकारी गराइएको छ ।ु 

परीक्षा केन्द्रमा मोबाइलको म्यासेन्जर र भाइबरमार्फत चिट चोर्ने र चोराउने कार्य भएको भन्ने गुनासो आएपछि आइतबारबाट परीक्षा केन्द्रमा खटिने सबै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्षसहितका शिक्षक र विद्यार्थी तथा अन्य कर्मचारीलाई समेत परीक्षा हलभित्र मोबाइल प्रयोग गर्न निषेध गरिएको र केन्द्रभित्र स्विच अफ गरेर मोबाइल राख्न थालिएको केन्द्राध्यक्ष निरौलाको भनाइ छ ।

‘केन्द्रको नाम लिएर गुनासो आएपछि आफैंले शिक्षा अधिकारीलाई जानकारी गराएर मोबाइल प्रयोगमा निषेध गरिएको छ । अहिले परीक्षामा खटिने कुनै पनि शिक्षक तथा कर्मचारी र विद्यार्थीले मोबाइल प्रयोग गर्न पाउने छैनन्,ु उनले भने ।  कसैले मोबाइल लगेर त्यसको दुरुपयोग गर्दै परीक्षामा अमर्यादित गतिविधि गरे त्यस्ता कर्मचारी र विद्यार्थीलाई कारबाही गरिनेसमेतको चेतावनी दिएको जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले बताए । 

जिल्लाका कतिपय परीक्षा केन्द्रबाट केन्द्रमा खटिने कार्यालय सहयोगी, प्रहरी र चिया पसलका सञ्चालकबाट चिया पुर्‌याउने बहानामा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याउने र उत्तरभित्र पुर्‌याउने गरेको समेत आरोप लागेको छ । 

फर्जी परिचयपत्र बनाई गार्ड 

यस्तै सिरहामा एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र बनाई गार्ड बस्ने गरेको पाइएको छ । अनिवार्य गणित विषयको परीक्षामा जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक सञ्जिवकुमार सिंहको नाममा अरू नै गार्ड बसेका छन् । सिंहले आफू परीक्षामा गार्ड नबसेको जानकारी दिए । उनले भने , ‘म परीक्षामा गार्ड बस्न कतै गएको छैन, विद्यालय छुट्टी भएकोले घरकै काममा लागेको छु ।ु 

गोलबजर – ७ चोहर्वास्थित शान्ति निकुञ्च आवासीय विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बसेका छन् । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उद्देश्यले बसेको भए पनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा राखिएको त्यही विद्यालयमा कार्यरत एक शिक्षकले जानकारी दिए ।

जनहित निमावि गोलबजार–६ डोहटियाको नाममा परिचयपत्र बनाई भोजराज चौहान, राजकुमार राम परीक्षामा गार्ड बसेको भए पनि ती नाम गरेका शिक्षक आफ्नो विद्यालयमा नभएको प्रधानाध्यापक बद्री यादवले जानकारी दिए । उनले भने ‘ हाम्रो विद्यालयमा त्यस्तो नामगरेका शिक्षक छैनन् कसरी हाम्रो विद्यालयको नाममा परिचयपत्र बनाए, मलाई त्यसको जानकारी छैन ।ु 

उमेश साह निमावि डाबरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड बसेको भए पनि उनी त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत एक शिक्षकले बताए । 

जिल्ला शिक्षाअधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड बसेको पाइएकालाई कारबाही गर्ने बताए । परीक्षा मर्यादित र शान्त बनाउन गार्ड राखेको भए पनि निजी विद्यालयले आफ्ना विद्यार्थीलाई चिट चोराउन किर्ते परिचयपत्र बनाई गार्ड रेखेका छन् । आफ्नै विद्यालयमा परिचर हुँदा हुँदै पनि चन्द्र परियार, आनन्द भट्टराई, प्रविन भुजेल र भीम लामालाई परिचर राखिएको छ । उनीहरू सबैजना निजी विद्यालयका शिक्षक हुन् । 

सो परीक्षा केन्द्रमा शिशुज्योति आवासीय विद्यालय धनगढी, शारदा इंगलिस बोर्डिङ स्कुल गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल इंगलिस स्कुल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च आवासीय विद्यालयका विद्यार्थीले शिशुज्योति आवासीय माध्यमिक विद्यालय धनगढीबाट परीक्षा दिइरहेका छन् । -

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया