Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

गुरुकुलमा छात्राका वेदका मधुर ध्वनि

सोमबार, २२ चैत्र २०७२

काठमाडौँ, २२ चैत । नक्सालस्थित गार्गी कन्या गुरुकुलको एउटा कक्षामा पुग्दा तीन वर्षदेखि १२÷१३ वर्षसम्म उमेरका साना नानी नबिराई संस्कृतको श्लोक भनिरहेको सुन्दा एक त अचम्म लाग्यो अनि अर्कोतर्फ रमाइलो अनुभव भयो ।  चौध जना साना नानीलाई एकै ठाउँमा राखेर संस्कृत विषयको अध्ययन गराउने हसिली शिक्षक शुभद्रा नेपालले विद्यार्थीलाई संस्कृत भाषाअन्तर्गत वेद पढ्न लगाइरहेका थिए । 

हामी कक्षामा प्रवेश गर्ने बित्तिकै सबै विद्यार्थी उठेर नमस्कार गरी आफ्नो शिष्टताको परिचय दिइहाले । उनीहरुको परीक्षा लिने तयारी भइरहेको रहेछ । त्यसैले विद्यार्थी वेद, गीतालगायतका संस्कृत ग्रन्थका श्लोक कण्ठ गरिरहेका थिए ।  ओखलढुङ्गाबाट आएर गुरुकुलमा कक्षा ४ मा पढिरहेकी चेतना वाग्लेले अहिले नै लक्ष्य पनि तय गरिसकेकी छिन् । उनको गाउँमा संस्कृत विषय नपढाइने भएकाले अब गएर संस्कृत विषयलाई नै मुख्य विषय बनाएर गाउँका भाइबहिनीलाई पढाउने ।  

कक्षा ५ मा अध्ययनरत कालिकोटकी सुनिता बटालाको सोच शिक्षक बन्ने छ तर गाउँमा गएर अरु विषय पढाउनेभन्दा वेदलाई नै प्राथमिकता दिनेमा उनी प्रतिबद्ध छिन् ।  बिहानै ५ बज्दानबज्दै उठेर योग गर्न थाल्ने सुनितालाई आफूले सिकेको योगलाई अरुलाई सिकाउन आनन्द आउँछ । त्यसैले उनी योग सिकाउनलाई पनि छुट्टै कक्षा चाहिने बताउँछिन् ।  

इलामकी विजया खनाल पनि भविष्यमा शिक्षक नै बन्ने बताउँछिन् । गुरुकुलमा संस्कृत भाषा मात्र हैन अन्य विद्यालयमा पढाइने नेपाली, अङ्ग्रेजी, विज्ञान, हिसाब पनि पढाइन्छ । यसका साथै योग, चित्रकला, नृत्य, सङ्गीतजस्ता विषयलाई पनि प्राथमिकताका साथ पढाइने गरिन्छ । अहिले संस्कृत विषयअन्तर्गत रुद्री पाठको नयाँ अध्ययनसमेत पढाउन सुरु गरिएको छ । शिक्षक नेपालले रुद्री पाठ कसरी गराउने पूजा विधि केके हुन् भन्ने विषयमा पढाउन सुरु गरिसकिएको जानकारी दिए । 

संस्कृत भाषा मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि लागि अग्रणी भूूमिका खेल्दै आउनुभएका शिक्षाविद् डा अङ्गुुरबाबा जोशीको अगुवाइमा डा कमला सुवेदी, डा निर्मला पोखरेल, मन काफ्लेलगायतले उक्त विद्यालय स्थापनामा योगदान पुर्याएका थिए ।  विसं २०६८ मा स्थापित सो विद्यालयमा अहिले १४ जना छात्रा अध्ययनरत छन् । संस्कृत ब्राह्मणले मात्र पढ्नुपर्छ भन्ने पहिलेको मान्यतालाई तोड्दै गुरुकुलले विभिन्न जिल्लाका विभिन्न भाषाभाषी र जातका छात्रालाई एकै ठाउँमा राखेर संस्कृतका वेद, शास्त्रको अध्ययन गराउँदै आएको छ ।  

वेदका प्रखर ज्ञाताका रुपमा रहेका महर्षी गार्गीको नामबाट स्थापना गरिएको सो गुरुकुलले महिलालाई पनि संस्कृतका शास्त्रमा विज्ञ बनाउने र पण्डित्याइका काममा महिलालाई अगाडि बढाउने लक्ष्य लिएको छ । संस्कृत भाषाको अध्ययनका लागि कुनैबेला भारतको बनारसमा जाने परम्परा नेपालमा पनि थियो । अहिले हराउँदै गइरहेको संस्कृत भाषालाई गुरुकुलले केही छात्राको उत्पादन गर्दै संरक्षण गर्ने प्रयासमा छ । 

रासस 

 

प्रतिक्रिया