Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

साझा प्रकाशनको जगेर्ना गर्ने प्रतिबद्धता

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ, २१ चैत । ‘साझा बचाऊ’ अभियानकर्मीले नेपाली साहित्य र साहित्यकारको प्रतिष्ठित प्रकाशन साझा प्रकाशनको जगेर्नाका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।  उक्त प्रकाशनको यही चैत २५ गते हुन लागेको अंशियारको निर्वाचनका तीन उम्मेदवारले शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो प्रकाशन ऐतिहासिक महत्वको भएको बताउँदै त्यसको संरक्षणका लागि सामूहिक रुपमा लाग्ने विश्वास व्यक्त गरे । 

साहित्यकार हरिहर खनालले सो प्रकाशनले नेपाली लेखकको साझा संस्थाका रुपमा लामो समयसम्म इतिहास कायम राखेकाले आगामी दिनमा पनि यसका स्रोतसाधनलाई उचित व्यवस्थापन गरी संस्थालाई जीवन्त राखिने बताए । 

लेखक डा विजय सुब्बाले संस्था अहिले ऋणमा डुब्नाको कारण पत्ता लगाएर समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे । साहित्यकार जीवनचन्द्र कोइरालाले राजनीतिक कारणले बिग्रिएको संस्थाभित्र भएका गुटबन्दीलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । 

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापक तथा कर्मचारीको लापर्बाहीका कारण आठ वर्षदेखि साधारणसभा तथा ११ वर्षदेखि लेखापरीक्षण हुन नसकेको जानकारी दिँदै सबैको साथ सहयोगले संस्थालाई बचाउन सकिने बताए । 

राणाकालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’को उत्तराधिकारी प्रकाशनको अंशियारका लागि खनाल, कोइराला, डा सुब्बा र मनोहर लामिछाने उम्मेदवार हुन् ।

रासस 

 

प्रतिक्रिया