Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

औँला नभएपछि नाडीको भरमा एसएलसी !

शनिबार, २० चैत्र २०७२

काठमाडौँ, २० चैत । दुवै हात गुमाएका एक विद्यार्थीले झापाको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा (एसएलसी) दिएका छन् ।  एमराल्ड एकेडेमी भद्रपुरमा अध्ययनरत भद्रपुर नगरपालिका–४ निवासी १६ वर्षीय चन्दनकुमार महतोले पहिलो दिन अङ्ग्रेजी विषय र शुक्रबार दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । उनका दुवै हातका औँला छैनन् । आइतबार गणित विषयको परीक्षा छ । 

उनले दुवै नाडीको सहायतामा अरू विद्यार्थीसरह सजिलै परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए ।  परीक्षा समितिले अपाङ्गता भएका विद्यार्थीलाई तोकिएको समयभन्दा डेढ घन्टा बढी समय थप गरेपनि उनले नाडीको सहायताले तीव्रगतिमा लेखेकाले निर्धारित समयमै परीक्षा दिन सफल भएको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष कुलबहादुर गुरुङले बताए । 

परीक्षार्थी महतोको १० वर्षअघि घरको छतमाथि रहेको विद्युत्को नाङ्गो तार छुनेक्रममा करेन्ट लागेर दुवै हात गुमेका थिए ।   बिहीबारदेखि सुरु भएको एसएसली परीक्षा झापामा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।  

झापाका ५२ परीक्षा केन्द्रबाट यस वर्ष १६ हजार ९८५ जना परीक्षार्थी सहभागी हुने भनिएपनि पहिलो दिन २५५ जना अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए ।

रासस 

 

प्रतिक्रिया