Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

बालगृहमा क्रिश्चियन धर्म सिकाइँदै

शनिबार, २० चैत्र २०७२

काठमाडौँ, २० चैत्र । चितवनमा सञ्चालित अधिकांश बालगृहका बालबालिकालाई क्रिश्चियन धर्म सिकाउने गरेको पाइएको छ । जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय चितवनले गरेको अनुगमनमा जबरजस्ती धर्म परिवर्तन गर्ने गराइएको पाइएको हो ।  अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले अधिकांश बालगृहले क्रिश्चियन धर्मको ज्ञान बालबालिकालाई सिकाउने गरिएको बताइन् । 

उनका अनुसार ती बालगृहमा खानाखानु अघि र खाना खाइसकेपछि यशुको प्रार्थना गर्न लगाइन्छ । यशुको प्रार्थनापछि प्रसादको रुपमा खानालाई दिने गरेको र बालबालिकालाई सोही धर्मका विषयमा पढाउने गरिएको छ । चितवनमा ३१ वटा बालगृह सञ्चालनमा छन् । जहाँ ५२१ बालक र ५२५ बालिका गरी एक हजार ४६ जना बालबालिका रहेका छन् । यस वर्षको तथ्याङ्क भने आउन बाँकी रहेको प्रमुख पौडेलले बताइन् ।   

सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकामा १६ वटा बालगृह छन् भने रत्ननगर नगरपालिकामा १० वटा, नारायणी नगरपालिकामा ३, राप्ती नगरपालिकामा एउटा र खैरहनी नगरपालिकामा एउटा रहेका छन् । तिनीहरूमध्ये ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको बताइएको छ । 

बालबालिकासम्बन्धी महासन्धी १९८९, बालबालिका ऐन २०४८ र बालबालिका नीति २०६९ ले अनाथ बालबालिकाको परिभाषामा बाबुआमा दुबैको मृत्यु भएको र एकाघरका कोही पनि नभएको अवस्थालाई मात्रै अनाथको रुपमा व्याख्या गरेको छ । तर पनि बाबुआमामध्ये कुनै एकको मृत्यु भएको अवस्थामा सङ्ख्या बढाउनकै लागि अनाथको व्याख्या गरेर बाल गृहले राख्ने गरेको पौडेलले बताइन् । 

उनले दीर्घकालीन भन्दा क्षणिक हेर्ने गरिएको र गरिबीको फाइदा उठाइएको बताइन् । दाताले आफ्नो स्वार्थपूर्तिका लागि रकम दिने गर्दछन् । अधिकांशले तीनै दाताको रकम ल्याएर उनीहरुले भनेबमोजिम धर्मको बारेमा अध्ययन गराइएको पाइएको छ । 

सरकारले सहयोग गर्न नसक्दा अनाथ र गरिब बालबालिकालाई धर्म प्रचारको माध्यम बन्न बाध्य पारिएको पाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बालबालिकालाई कुनै पनि धर्मको जबरजस्ती अध्ययन गराउन नपाइने बताउछन् । जबरजस्ती धर्म परिवर्तन गराउनुलाई कानुनले दण्डनीय मानेको छ ।

 

प्रतिक्रिया