Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पहिरोमुनि टहरामा एसएलसी परीक्षा

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । तातोपानी सीमा क्षेत्रको झिर्पु उच्च मावि केन्द्रमा पहिरोमुनिको छाप्रोमा एसएलसी परीक्षा सञ्चालन गरिएको छ । गत वैशाख १३ को परकम्पको केन्द्रविन्दु कोदारी नजिकको उक्त परीक्षा केन्द्रको चारैतिर पहिरो गएको छ । 

पहिरो नजिकै बनाइएको अस्थायी सिकाइ केन्द्र ९टीएलसी० मा एसएलसी सञ्चालन भइरहेको छ । माथिबाट ठूला चट्टान र माटोको ढिस्को खस्न नरोकिएपछि केन्द्र तोकिएको झिर्पु उच्च माविका छात्रछात्रालाई गत भदौदेखि नै टहरामा अध्यापन गराइँदै आएको थियो । सरस्वती माविका छात्र प्रमोद तामाङ दुई घण्टा हिँडेर परीक्षा दिन आएका थिए । ‘चारैतिर पहिरो देखिन्छ । मनमा त्रास लिएर पहिलो दिनको परीक्षा दियौं,’ उनले भने । परीक्षा केन्द्रसम्म आउन पनि उनीहरूले जोखिम मोल्नुपर्छ । 

भूकम्पले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी खण्ड आसपासबाट अहिले पनि लगातार सुख्खा पहिरो र चट्टान झरिरहेका छन् । ढुंगाबाट जोगिँदै परीक्षा केन्द्रमा आइपुगेको कोदारी उच्चमावि तातोपानीकी सुविना शेर्पाले बताइन् । सीमा क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस भइरहेकाले पनि विद्यार्थी त्रसित छन् । ‘मानसिक रूपमा छात्रछात्रा फूर्तिला छैनन्,’ केन्द्राध्यक्ष कृष्णहरि अधिकारीले भने, ‘उनीहरूमा परीक्षाप्रतिको लगाव देखिँदैन ।’ उक्त केन्द्रमा एक सय ६८ मध्ये १२ परीक्षार्थी अनुपस्थित छन् । 

आमा र छोरी सँगै

रमादेवी मावि साँगाचोक केन्द्रमा आमा र छोरी सँगै सहभागी भएका छन् । स्थानीय जनजागृति उच्चमाविबाट ३५ वर्षीया आमा मैया गिरी र छोरी प्रमिला सहभागी छन् । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीका अनुसार जिल्लाभरका एसएलसी टीएलसीमा सञ्चालन भइरहेको छ । नियमिततर्फ ८६ सहित दुई सय विद्यार्थी अनुपस्थित भएका छन् । 

टहरामै परीक्षा सञ्चालन

काभ्रे– भूकम्प प्रभावित केही विद्यालयलले अस्थायी टहरामा एसएलसी परीक्षा सञ्चालन गरेका छन् । भवन भत्किएपछि निर्मित अस्थायी सिकाइ केन्द्रमै परीक्षा सञ्चालन भएको हो ।  बनेपास्थित आजाद उच्चमावि केन्द्रका दुई सय ८९ परीक्षार्थीलाई पाल र बाँसले छाएको अस्थायी टहरामा राखिएको छ । जनागालस्थित जनज्योति मावि केन्द्रले पनि अस्थायी टहरामा परीक्षा सञ्चालन गरेको छ । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले भवन अभाव भएका केही केन्द्रले त्यसरी नै काम चलाएको बताए । जिल्लाका ४० परीक्षा केन्द्रका लागि जिल्ला शिक्षा कार्यालयले प्रत्येक केन्द्रलाई एक लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

दुई दृष्टिविहीन विद्यार्थी सञ्जीवनी नमुना उच्चमाविबाट एसएलसीमा सहभागी भएका छन् । चन्द्रा कार्की र वसन्त भुर्तेलको परीक्षा केन्द्र श्रीखण्डपुर उच्चमाविमा छ ।  कार्कीलाई सौगात थापा र भुर्तेललाई विपिन पौडेलले सहयोग गर्ने छन् । आजाद उच्चमावि बनेपाको खुला विद्यालयबाट नौ जना बहिरा विद्यार्थी पनि सहभागी भएका छन् । उनीहरूको केन्द्र धुलिखेलस्थित सञ्जीवनी नमुना उच्च माविमा छ । 

जिल्लाका ४० मध्ये चार परीक्षा केन्द्रको केन्द्राध्यक्षमा महिला छन् । चैतन्य उच्चमावि बनेपामा नगिना कोख श्रेष्ठ, जनज्योति मावि जनागालमा सुभद्रा अधिकारी, चण्डेनी मावि जैसीथोकमा सत्यवती भट्टराई र दुलालेश्वर मावि दोलालघाटमा सरिता चौलागार्इं केन्द्राध्यक्ष छन् । 

दृष्टिविहीनलाई समस्या

दोलखा– जिल्लाका अधिकांश विद्यार्थीलाई अस्थायी टहराभित्र एसएलसीमा सहभागी गराइएको छ । झ्याल–ढोकासमेत नभएका टहराभित्र हावा चल्दा धूलो छिर्ने र कापी उडाउने समस्या छ । पानी पर्दा जस्तापाताको आवाजले परीक्षार्थी समस्यामा पर्छन् । १९ वटै केन्द्रमा अस्थायी टहराबाटै काम चलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अनुपस्थित एक सय २३ परीक्षार्थीमध्ये ५५ जना नियमिततर्फका छन् । 

कालिञ्चोक उच्चमाविका दृष्टिविहीन दुई परीक्षार्थीका लागि केन्द्र अपायक परेकाले सास्ती बेहोर्नु परेको छ । लीला तामाङ र तीर्थ शेर्पाका लागि करिब आठ किलोमिटर कच्ची सडकको यात्रापछि पुगिने सर्व माविमा केन्द्र तोकिएको छ । सार्वजनिक अपराध मुद्दा खेपिरहेका तीन जनालाई कारागारबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । सुन लुटपाट र कुटपिट अभियोगमा पक्राउ परेका भेटपुका विनोद गोले, उदय गोले र महेश गोलेलाई कारागारबाटै सहभागी गराइएको हो । 

दिदीको परीक्षा दिने पक्राउ

धादिङ( दिदीको सट्टा परीक्षा दिने बहिनी पक्राउ परेकी छन् । एसएलसीको पहिलो दिन चौतारा मावि, मार्पाकबाट सहभागी प्रेममाया तामाङको नामबाट उनकै बहिनी शर्मिलाले परीक्षा दिइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्लाका २६ वटा केन्द्रबाट ७ हजार २ सय ४४ जना परीक्षामा संलग्न छन् । छात्रभन्दा छात्राको संख्या करिब ६ सयले बढी छ । एक्जाम्टेडतर्फ पनि छात्रभन्दा छात्रा नै बढी छन् । एक्जाम्टेडतर्फ ५ सय ९७ जना छात्रा र २ सय ३८ जना छात्रले परीक्षा दिइरहेका छन् ।  बालमन्दिर माविसहित ३ वटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष छन् ।

 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया