Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसी दिने भन्छन् ‘बाआमाले ल्याप्चे लाउथेँ भनेर सन्ततिले नभनुन्’

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ - एसएलसी दिने विद्यार्थी धेरैको सपना छ । पास भएपछि डाक्टर, इन्जिनियर बन्नलाई उच्च शिक्षा पढ्ने । कोही शिक्षक र सरकारी जागिरे पनि होलान् ।  तर राजधानीको डिल्लीबजार कारागारबाट एसएलसी दिइरहेका सिन्धुली १ बस्तीपुरका दीपक सुनुवारलाई फरक चिन्ता र चासो छ । ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका उनी विगतको गल्ती भन्दा पनि भोलीका सन्ततीले आफुलाई कतै पनि अशिक्षित भनेर नगिज्याउन् भन्ने चिन्ता छ । 

‘भोली मेरा सन्ततीले नभनुन् की मैले अर्थात मेरो बाआमाले ल्याप्चे लाउथेँ भनेर । किनकी बाआमाले पढेपछि नै छोराछोरीले पढ्न सिक्छन् । पढेर ठूलो बन्नलाई आमाबुवाको जति प्रेरणा अरुको हुन सक्दैन् । त्यसैले पनि एसएलसी दिए ।’ दीपकले भने ।

बिहीबारबाट शुरु यस बर्षको एसएलसी परीक्षामा डिल्लीबजार कारागारबाट १२ जनाले एसएलसी दिइरहेका छन् । त्यसैमध्येका एक हुन दीपक सुनुवार । करिब ६ बर्षअघि अघि उनी साथीहरुकै भीडमा रक्सी खाइरहेका बेला भएको झडपमा उनको कुटाईले एक जनाको ज्यान गएपछि उनी त्यही सजाय भोगिरहेका छन् ।

उनलाई सजाय भन्दा पनि आफ्नो शिक्षालाई सही उपयोग नगरेकोमा बढी पश्चाताप महसुस गरिरहेका छन् । ‘एसएलसी दिइरहेको छु । तर मैले पढेको शिक्षाले मलाई किन आत्मअनुशासन सिकाएन ? किन मैले गल्ती गरिरहेको छु भन्दा पनि मलाई सम्हाल्ने मौका भएन्’ उनले भने ‘मैले जति पढ्नुपथ्र्यो त्यति पढेन् । त्यसैले पढाई पुरा गर्न चाहन्छु । र आफ्ना सन्ततीलाई व्यवहारिक बनाउन चाहन्छु ।’

घरमा श्रीमति र छोरी भएका उनी पटक पटक एकहोरिएरै भने ‘जीवनमा ठूलो सजाय भनेको शिक्षाबाट बञ्चित हुनु र बनाउनु हो । किनकी सही शिक्षा भएन भने जोसूकै पनि अपराधी बन्न सक्छ । कारगारबाटै भएपनि एसएलसी दिन पाएँ । खुशी छु । भोली मेरा सन्ततीले मलाई भन्दैनन् की मेरा बाआमाले पढेका छैनन् भनेर ।’

उनीसंगै एसएलसी दिइरहेका सिन्धुलीकै श्याम मगर पनि छन् । उमेरले २० बर्ष पुगेका उनी दुई बर्ष अघि पढ्दापढ्दै जबरजस्ती करणीको मुद्धामा हिरासतमा पुगे ।

पहिलो बर्ष हिरासतमा पुगेपनि एसएलसी दिन पाइदैन् भनेर विद्यालयले प्रवेशपत्र नदिएपछि उनले एसएलसी दिन पाएनन् । यस बर्ष कारागारले नै सो व्यवस्था मिलाईदिएपछि उनले एसएलसी दिन पाएका हुन् । 

‘१० कक्षा पढ्दै पक्राउ परे । तर एसएलसीको फर्म भरेको थिए । प्रवेशपत्र पनि आयो । तर विद्यालयले प्रवेशपत्र नै दिएन् । प्रवेशपत्र नभएपछि एसएलसी कसरी दिनु । अहिले सबै कारागारले नै सबै व्यवस्था गरेपछि एसएलसी दिन पाइयो ।’ उनले भने ।

डिल्लीबजार कारागारका लेखा अधिकृत सन्तोष दाहालले कारागारमा पनि एसएलसी दिन पाइन्छ भन्ने कुरा अभिभावक र विद्यालयलाई थाहा नहुदा एसएलसीबाट बञ्चित भएको बताए । ‘विद्यालयलाई थाहा नै रहेनछ । कारागारमा पनि पढ्न पाइन्छ । एसएलसी दिन पाइन्छ भन्ने कुरा । पछि हामीले फेरी फर्म भर्न लगाएर प्रवेशपत्र झिकाएर एसएलसी दिन लगायौँ ।’ उनले भने ।

संगै एसएलसी दिएका श्याम र दीपक कारागारमा पनि मिल्ने साथी हुन् । श्यामलाई विज्ञान गाह्रो लाग्छ भने दीपकलाई गणित । दुबै जना मिलेर राम्ररी अध्ययन गरेर एसएलसी परीक्षामा पास हुने योजना सुनाउँछन् ।

‘अग्रेंजी विषय राम्रो भएको छ । नेपाली पनि राम्रो हुन्छ । तर गणित चाही निकै गाह्रो लाग्छ’ दीपकले भने ‘श्यामसंग मिलेर पढ्ने सोच बनाएको छु ।’ 

ग्रेडिङको अलमल 

श्याम एसएलसीको नतिजा ग्रेडिङमा आउँछ भन्ने कुरा जान्दछन् । तर दीपकलाई यसबारे थाहै छैन् ।  ‘मैले एकदिन पत्रिका पढेर थाहा पाएको हुँ । तर मलाई ७० प्रतिशत नल्याई सुख छैन् । किनभने बढी प्रतिशत ल्यायो भने सबैले राम्रो भन्छन्’ उनले भने ‘७० प्रतिशत ल्यायो भने बी प्लस त आउँछ होला नि ।’

आफुलाई ग्रेडिङ भन्ने नै थाहा नभएको दीपक बताउँछन् । ‘यो ग्रेडिङ भन्ने नाम त सुने जस्तो लाग्छ । तर कसरी पास भइन्छ भन्ने थाहा छैन् । नपढी कसरी पास भइएला र  ? राम्रोसंग परीक्षा दिए त पक्कै पास भइन्छ।’ उनले भने ।

यस बर्षदेखि सरकारले एसएलसीको नतिजा अक्षराङ्कन अर्थात ग्रेडिङ पद्धतिबाट सार्वजनिक गर्दैछ । विद्यार्थीहरुलाई यसबारे अलि अलि जानकारी भएपनि पुैरै ज्ञान भने छैन् ।

कारागार जेल होइन् ब्वाइज होस्टेल 

कारागारमा पनि आफुले पढ्न पाउँछु भन्ने थाहा थिएन श्यामलाई । जबर्जस्ती करणीमा जेल पुग्नसम्म पनि उनलाई त्यही चिन्ताले सताईरहेको थियो । तर जुनदिन उनले पढ्न पाइन्छ । एसएलसी दिन पाइन्छ भन्ने कुरा थाहा पाए । त्यसदिन देखि उनी कारागारलाई जेल होइन् ब्वाइज होस्टेल भन्छन् ।

‘यसरी पढ्न पाइन्छ भन्ने नै थाहा थिएन । जुन दिन यहाँका दाईहरुले र सरहरुले पढ्न पाइन्छ भने मलाई यो जेल नभईकन ब्वाइज होस्टेल हो जस्तो लाग्छ । सानैमा होस्टेल बसेको थिए । अहिले आएर यहाँ बसे । सबै कुरा पाइन्छ निकै आनन्द आउँछ । खाली बाहिर जान पाइदैन् भन्ने मात्र हो ।’ श्यामले भने ।

कारागारबाटै एसएलसी दिने र दिएकादेखि डिग्री, पीएचडी गर्नेसम्मका छन् । लेखा अधिकृत दाहाल भन्छन् ‘हामी यहाँ डिस्करेज होइन्, इन्करेज गर्छौ । किनकी भोली उनीहरु यही समाजमा बाच्नन् बस्छन् । यही समाजमा उनीहरु हामीलाई चाहिन्छ र हामीलाई पनि उनीहरुको खाचोँ हुन्छ । त्यसैले यहाँ विगतको गल्तीलाई भन्दा भोलीको सार्थक जीन्दगीका बारेमा धेरै कुरा सिकाउँछौँ।’ 

एसएलसी पछि के गर्ने : पहिलो प्राथमिकता विदेश 

एसएलसीपछि के गर्ने भन्दा श्याम भन्छन् ‘प्लस टुपछि व्याचलर सकाएर विदेश जाने । किनभने नेपालमा कामै छैन् । काम नभएपछि यहाँ कसरी बस्ने ?’ दीपक करिब ८ बर्षपछि छुट्नेछन् भने श्याम तीन बर्षपछि सजाय पुरा गरेर घर फर्किनेछन् । 

नेपालमा सामान्यतया पर्याप्त रोजगारीको अवसर नभएको श्याम बताउँछन् । श्यामको कुरामा दीपकको पनि समर्थन छ । ‘गर्न त केही सकिन्छ । तर जति विदेशमा गर्न सकिन्छ । त्यो नेपालमा सकिदैन् । कारण यहाँ त्यसरी सहयोग गर्नेहरु निकै कम छन् । सरकारले पनि न रोजगार दिन्छ न केही व्यवसाय गर्न सहयोग गर्छ । त्यसेले विदेशै ठिक ।’

केही गर्नेलाई सरकारले सहयोग गर्नुपर्ने दीपकको भनाई छ । ‘आज पढेकाहरु त विदेश गइरहेका छन् । हामी झन् भर्खर एसएलसी दिदैछौँ । विदेश जानेलाई रोक्न त देशमै रोजगारीको अवसर हुनुपर्यो । होइन् भने हामीले नेपालमा पढेर मात्रै केही हुदैन् ।’ 

प्रकाशित मिति : २०७२ चैत्र १९ गते ।

 

 

 

 

 

 

 

प्रतिक्रिया