Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसी परीक्षाको पहिलो दिन ६ निरीक्षक र ११ विद्यार्थी निष्काशित 

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ – एसएलसी परीक्षाको पहिलो दिन बिहीबार मात्रै ६ निरीक्षक र ११ विद्यार्थी निष्काशित भएका छन् । रौतहटमा चार निरीक्षक र महोत्तरीमा २ निरीक्षक तथा ११ विद्यार्थी निष्काशित भएका हुन् । बिहीबारबाट शुरु भएको एसएलसी परीक्षाको पहिलो दिन  बिहीबार भएको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले रौतहटका चार जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको हो । 

निष्काशित हुनेमा उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रका इन्द्र चौधरी र रामदयाल साह रहेका छन् ।  यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ । 

परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।   रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी छन् । 

महोत्तरीमा ११ परीक्षार्थी र दुई निरीक्षक निष्कासित 

यस्तै चिट चोरी गर्ने कार्यमा संलग्न भएको भन्दै महोत्तरीमा ११ जना परीक्षार्थी र दुई जना निरीक्षक निष्कासित गरिएको छ ।   बिहान जिल्लाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालित एसएलएसी परीक्षाको अनुगमनमा निस्केको प्रहरी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुगमन टोलीले उनीहरुलाई निष्कासन गरेको हो । 

परीक्षा हलभित्र चिट चोरी गर्ने कार्यमा संलग्न रहेका धमौरा परीक्षा केन्द्रका सात जना, वलवाका दुई जना, कलुवा वगेवाका एक जना, लोहरपट्टीका एक जना परीक्षार्थी निष्कासित भएका हुन् । त्यस्तै, धमौरा परीक्षा केन्द्रबाट एक जना पुरुष निरीक्षक तथा मटिहानी परीक्षा केन्द्रबाट एक जना महिला निरीक्षकलाई पनि निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । 

अनुगमनका क्रममा धमौरा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउने कार्यमा संलग्न रहेका परौल निवासी २८ वर्षीय वीरेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ पर्ने यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

रासस 

प्रकाशित मिति : २०७२ चैत्र १८ गते ।

 

 

 

प्रतिक्रिया