Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १८ चैत । एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।  परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । 

छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो ।  प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ ।  

परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै सहभागी होऊन् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिए । 

परीक्षा केन्द्र छात्रामैत्री बनाउनका लागि पनि उक्त वस्तु प्रदान गरिएको हो । हरेक केन्द्रमा पुग्ने गरी ९७ प्याकेट प्याड र साबुन जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले मङ्गलबार हस्तान्तरण गरेका छन् । 

शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपाङ्गमैत्री बनाइएको पनि जनाएको छ ।  महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुनपानीसहितको पक्की शौचालय, उमेरअनुसारका फर्निचरको व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताए ।  

त्यससंँगै अपाङ्गताको प्रकृति हेरी त्यस्ता परीक्षार्थीलाई छुट्टै व्यवस्था मिलाइएको उनले बताए । यस वर्ष पर्वतबाट एसएलसी परीक्षामा चार हजार ३०० परीक्षार्थी सहभागी हुने भएका छन् । 

रासस 

 

प्रतिक्रिया