Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

यस बर्षको एसएलसी परीक्षा शुरु, मर्यादित बनाउन सरकारको अपिल

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ - यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी) बिहीबार (आज)देखि शुरु भएको छ । परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी छन् ।  चैत्र २६ गतेसम्म सञ्चालन हुने परीक्षाका लागी देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सबै तयारी पुरा गरिएको छ । अक्षराङ्कन पद्धतिबाट नतिजा प्रकाशित हुने परीक्षामा देशभरबाट ६ लाख १५ हजार ५ सय ५३  जना विद्यार्थी सहभागी रहेकामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र एक्जामटेडतर्फ १ लाख ५९ हजार ४१७ विद्यार्थी छन् । 

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि छन् ।  यस बर्ष पनि सबैभन्दा बढी विद्यार्थी काठमाडौं उपत्यकाबाट ३५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् भने सबैभन्दा कम मनाङमा ६९ जना छन् । 

विहान ८ बजेदेखि शुरु परीक्षाको पहिलो दिन आज बिहीबार परीक्षार्थीले अंग्रेजी विषयको परीक्षा दिदै छन् ।  यस्तै यसपछिका परीक्षामा भोली शुक्रबार १९ गते नेपाली, तेश्रो दिन चैत्र २१ गते गणित, २२ गते विज्ञान, २३ गते सामाजिक अध्ययन, २४ गते स्वास्थ्य तथा जनसंख्या शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक दोश्रो विषयको परीक्षा हुनेछ । 

परीक्षा नियन्त्रंक कृष्ण प्रसाद काप्रीले परीक्षा मर्यादित र निष्पक्ष बनाउन आवश्यक सबै तयारी गरिएको बताए । ‘प्रश्नपत्र सबै केन्द्रमा पुर्याउनदेखि सुरक्षा व्यवस्था र जिल्ला समन्वय समितीलाई तयारी अवस्थामा राखिएको छ’ उनले भने ‘केही गल्ती, त्रुटि, परीक्षामा अमर्यादित काम गर्नेलाई नियमअनुसारको कारबाही गर्न पनि कार्यालय पछि पर्ने छैन् ।’

परीक्षामा अमर्यादित काम गर्नेलाई रु एक लाख जरिवाना वा छ महिना कैद देखि दुबै सजायको व्यवस्था भएकाले नियम कडाईका साथ लागु हुने पनि उनले दाबी गरे । तर बर्षेनी परीक्षा मर्यादित नभएको भन्दै आलोचना पनि बढ्दै गएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयमै ६ बर्षको अनुभव लिएका नियन्ंत्रक काप्रीले यस बर्षको पोहोर परार सालको एसएलसी भन्दा उत्कृष्ट हुने जिकिर समेत गरे ।

परीक्षालाई व्यवस्थित बनाउन हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख र जिल्ला शिक्षा अधिकारीसहित जिल्लाका सरोकारवालाहरुको सहभागितामा परीक्षा समन्वय समिती समेत बनाएको छ । यही समिती अन्तर्गतको एसएलसी परीक्षा अनुगमन समितीले विभिन्न केन्द्रमा गएर प्रत्यक्ष अनुगमन समेत गर्नेछ ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा केन्द्रमै विद्यार्थीलाई परिचयपत्रको व्यवस्था गरेको छ। परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा केन्द्रमै परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने व्यवस्था गरेको हो ।

परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन परीक्षा केन्द्रमै वा १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने छन् ।

मर्यादित बनाउन सरकारको अपील 

तयारी पुरा नगरेको र अलमलकै बीचमा पनि अक्षराङ्कन पद्धति (लेटरग्रेडिङ सिस्टम) लागु गरेको भन्दै आलोचित भएको सरकारले एसएलसी परीक्षामा सहयोग गर्न र मर्यादित बनाउन सबैलाई अपील गरेको छ । 

बुधबार साझँ शिक्षामन्त्री गिरीराजमणि पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सरकारले परीक्षालाई उत्कृष्ट, मर्यादित र व्यवस्थित बनाउन आवश्यक सहयोग गर्न अपील गरेको हो ।

परीक्षामा कुनै किसिमको अमर्यादित काम नगर्न र गरेकालाई कानुनअनुसार कारबाहीका लागी सहयोग गर्न पनि सरकारले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७२ चैत्र १८ गते ।

 

 

प्रतिक्रिया