Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

अलमलमै एसएलसी अक्षराङ्कन

मंगलबार, १६ चैत्र २०७२

- सन्तोष विष्ट / एसएलसी परीक्षाको सुरुवात देखिको नतिजा प्रकाशन पद्धति यसै बर्ष देखि परिवर्तन हुँदै छ । अब देखि विद्यार्थीले अंकमा नभई अक्षरमा आफ्नो मूल्याँकन हेर्न भोग्न पाउने भएका छन् । विगत केही वर्षदेखि उच्च शिक्षामा सेमेष्टर र अक्षराङ्कन (Letter Grading System) पद्धति लागु भएको भएता पनि विद्यालय स्तरमा पहिलो पटक हो ।

अक्षराङ्कन भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कन पश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो । जसमा विद्यार्थीको प्राप्ताङ्कलाई तोकिएको बर्गान्तरका आधारमा अंग्रेजी अक्षरमा राखी नतिजा प्रकाशन गरिन्छ । विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार (शंसोधित) ९० देखि १०० प्रतिशत प्राप्ताङ्कलाई ‘ए प्लस’ ८० देखि ९० प्रतिशत प्राप्ताङ्कलाई ‘ए’, ७०— ८० प्रतिशत प्राप्ताङ्कलाई ‘बी प्लस’, ६०— ७० प्रतिशत प्राप्ताङ्कलाई ‘बी’, ५०— ६० प्रतिशत प्राप्ताङ्कलाई ‘सी प्लस’, ४०— ५० प्रतिशत प्राप्ताङ्कलाई ‘सी’, २०— ३० प्रतिशत प्राप्ताङ्कलाई ‘डी, ०— २० प्रतिशत प्राप्ताङ्कलाई ‘ई’ गरी वर्गान्तर गरिएको छ ।

विद्यालय स्तरमा कुनै तहमा यसको अभ्यास नभई एकै पटक फलामे ढोका मानिने एसएलसीमा हुने भएकाले यसमा केही अलमल भएको छ ।

विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति हचुका भरमा लागु भएको होइन । शिक्षा मन्त्रालयले एसएलसीको नतिजा अक्षराङ्कन पद्धतिमा लाने कुरा सन् २००९ मै घोषणा गरे पनि सो सम्बन्धि कार्य अगाडि बढ्न सकेको थिएन । पटक पटकको सरकार परिवर्तनका कारण सो सम्बन्धि नीति तथा कार्यविवधि नै अल्मलिएको थियो । पछिल्लो पटक भने विभिन्न अध्ययन प्रतिवेदनहरूको राय, सुझावहरू तथा प्रचलित अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै एसएलसीमा अक्षराङ्कन पद्धति लागु गर्न लागिएको हो ।

अक्षराकङ्न पद्धति लागु भइसके पछि कुनै पनि विषयमा उत्तीर्णाङ्क तोकिदैँन भने विगत देखि दिइदै आएको मार्कसीटलाई ग्रेड सीट भनिने छ । ग्रेड सीटमा हरेक विषयको प्राप्त अङ्कलाई अक्षरांकन पद्धति बमोजिम ग्रेड र ग्रेडप्वाइन्टमा उल्लेख गरिनेछ । यस पद्धतिमा समेत राम्रो विद्यार्थी राम्रो र कमजोर विद्यार्थी कमजोर नै हुन्छन् । यो नितान्त विद्यार्थीको सिकाइ क्षमतामा भर पर्ने कुरा हो । हाल यसबारे केही भ्रमहरु समेत सृजना भएका छन् जस्तै यसमा नपढे पनि पास भइन्छ, अर्थात फेल नै भइँदैन । यस पद्धतिमा फेल नहुने भनिए पनि प्रत्येक ग्रेडका लागि ग्रेड प्वाइन्ट तोकिएको हुन्छ र यसको व्याख्या समेत गरिएको हुन्छ ।

अक्षराकङ्न पद्धति सम्बन्धि कार्यविधि २०७२ मा ग्रेड ‘डी प्सल’ लाई आंशिक स्वीकार्य, ग्रेड ‘डी’ लाई अपर्याप्त र ग्रेड ‘ई’ लाई धेरै अपर्याप्त भनी व्याख्या गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने फेलको व्यवस्था नराखिएको भए पनि औसत भन्दा कम ग्रेड आएको खण्डमा सर्वस्वीकार्य हुन सक्दैन ।

उदाहरणका लागि हाल नेपालका संचालित विश्वविद्यालयहरुले विद्यार्थीको उपलब्धिलाई विभिन्न तहमा प्रथम, द्धितीय र तृतीय गरी तीन किसिमको श्रेणी निर्धारण गरेको छ । जब कि आफैले प्रदान गरेको तृतीय श्रेणीका विद्यार्थीले सम्बन्धित विश्वविद्यालयले आह्वान गरेको शिक्षण पेशातर्फ उम्मेदवार समेत बन्न पाउँदैनन् । यसरी आफैले दिएको योग्यतालाई समेत मान्यता नदिइ रहेको अवस्था विद्यामान रहे जस्तै एसएलसीमा फेल नहुने पद्धतिका रुपमा बुझेका विद्यार्थीलाई समय मै जानकारी गराइएन भने उनीहरुको भविष्य अन्धकार हुन सक्छ ।

अक्षराङ्कन पद्दति सम्बन्धी जिज्ञासाहरु मेटिएका छैनन् । उनीहरुका जिज्ञासाका उत्तर दिने कतिपय शिक्षकहरु स्वयं अक्षराङ्कन पद्दतिबारे अनविज्ञ छन् भने परीक्षामा सहभागी हुने विद्यार्थीमा समेत अन्यौल कायम छ । कतिपय शिक्षक, विद्यार्थी र अभिभावकहरुमा यस्ता भ्रमहरुका बीच एसएलसी परीक्षा संचालन हुदैछ । 

कतिपय त अक्षराङ्कन पद्धति लागु भएपछि विद्यार्थी फेल नहुने र सजिलै उच्च शिक्षाका लागि बाटो खुल्नेमा ढुक्क छन् । ग्रेडिङ पद्धतिमा समेत न्यूनतम् ग्रेड आउने विद्यार्थीले अगाडिको उच्च शिक्षा अध्ययन गर्न नपाउने पनि हुन सक्छन् । उच्च शिक्षा अध्ययनका लागि विषय अनुसार न्यूनतम ग्रेड वा जिपिए तोकिएको हुन्छ । सीटिइभीटीले ‘सी’ भन्दा तल्लो ग्रेड आएमा आफ्ना शैक्षिक कार्यक्रममा भर्ना नलिने भनेबाट आवश्यक ग्रेड वा जिपिए नभएको खण्डमा उक्त विद्यार्थी सो विषय अध्ययन गर्नबाट बञ्चित हुनेछन् ।

अक्षरांकन प्रणाली लागु गर्नु भन्दा पहिला सम्बन्धित पक्षले हाल संचालनमा रहेका विश्वविद्यालय, अन्य शैक्षिक संस्थाहरु लगायत लोक सेवा आयोगसँग समेत परामर्श लिइ वा जानकारी गराउनु पर्ने थियो । हाल कतिपय त फेल भइदैन भनेर ढुक्क छन् । तर भोलीको दिनमा लोक सेवा आयोग वा अन्य शैक्षिक संस्थाहरुले निश्चित मापदण्ड तोक्ने नै हुन्छन् त्यस बेला त्यस्ता विद्यार्थीले के गर्लान् ? विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२ अनुसार ‘प्रदान गरिएको प्रमाण पत्रलाई माथिल्लो शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्न वा सार्वजनिक सेवा वा रोजगारीका लागि योग्यता कायम गर्ने सम्बन्धमा सरोकारवाला निकाय वा संस्थाले आफ्नो उद्देश्य र आवश्यकता अनुसार यसको उपयोग गर्न सक्ने छन्’ भनिएको छ ।

यस व्यवस्थाबाट उच्च शिक्षा अध्ययन तथा रोजगारीका लागि सम्बन्धित निकायले आफ््नो आवश्यकता अनुसार उपयोग गर्न सक्ने भएकाले यसबाट समेत कतिपय विद्यार्थी पहिले जस्तै राम्रा क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुने नै छन् । यसको एक मात्र सबल र बलियो पाटो के हो भने पहिले जस्तो एक दुई विषयमा तल्लो ग्रेड पाउने विद्यार्थीलाई अघिल्लो तहमा भर्ना हुनबाट रोक भने लाग्ने छैन । न त पहिला जस्तो घृणित हुनु पर्ने हुन्छ । अब एसएलसीको नतिजा प्रकाशन पछि आत्महत्या गर्र्ने अवस्था सृजना हुने छैन भन्ने आशा समेत गरिएको छ ।

डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णय बमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने छन् । तर दुई विषय भन्दा बढी विषयमा डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनःमूल्याङ्कन गराउन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउने छन् । दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था जस्तै अक्षराङ्कन पद्दतिमा पनि ग्रेड बृद्धिका लागि मौका दिइनेछ । तर यस अघि जस्तै कुनै विषयमा राम्रो ग्रेड आएका तर दुई भन्दा बढी विषयमा तल्लो ग्रेड आएका विद्यार्थीले आफुले चाहेकै विषयमा मात्र आगामी परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

यस अघि आगामी परीक्षामा पुरै विषयको परीक्षामा सहभागी हुनै पर्ने बाध्यात्मक अवस्था थियो । अक्षराङ्कन पद्दति लागु भए पश्चात कुनै विषयमा एक पटक चित्त बुझ्दो ग्रेड प्राप्ति पछि सोही विषयमा पुनः परीक्षा दिई राख्नु नपर्ने हुन्छ । मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले मात्र भाग लिन पाउने व्यवस्था भएकोमा अक्षरांकन प्रणालीमा जुनसुकै विषयमा पनि मौका परीक्षा दिई ग्रेड बृद्धि गर्न पाइनेछ । यसरी ग्रेड बृद्धि गर्नका लागि दिइएको परीक्षामा पहिलेको भन्दा कम ग्रेड प्राप्त भएमा पुरानै ग्रेड कायम रहने व्यवस्था गरिएकाले विद्यार्थीलाई झनै फाइदा हुने देखिन्छ ।

विभिन्न अनविज्ञताका बीचमा यसपालीको एसएलसी परीक्षा हुदैछ । त्यसमा पनि यसपाली बैशाखमा गएको भुकम्प र त्यस पछिको तराई आन्दोलनका कारण कतिपय विद्यालयहरु बन्द नै रहे भने कतिपय विद्यार्थीले आफ्नो विद्यालयमा पढ्न नपाई ट्युसनकै भरमा परीक्षा दिदैँछन् । अधिकांश सामुदायिक विद्यालयमा कोर्ष पूरा नहुने पुरानै रोग हो । एकातिर कोर्ष पुरा नहुनु, अर्को तर्फ अभाव र पढ्ने माहौल नहुनु अझै यसपाली देखि परीक्षाको नतिजा प्रकाशन प्रणालीमा परिवर्तन हुनु र परीक्षाको मुखैमा समेत त्यसबारे अनविज्ञ रहनुले एसएलसी जटिलता मै रहेको बुझ्न कठिन छैन ।

तै पनि परीक्षा मुखैमा आईसकेको अवस्थामा एसएलसी वास्तविक परीक्षा जस्तै मर्यादित होस्, वर्षभरी मिहेनत गर्ने र परीक्षामा चिट चोर्ने विद्यार्थी बीच स्पष्ट पहिचान हुने गरी परीक्षा कोठा व्यवस्थापन होस्, एसएलसी तयारीमा रहेका विद्यार्थीलाई सफलताको शुभकामना ।

[email protected]

प्रकाशित मिति २०७२ चैत १७ गते

प्रतिक्रिया