Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

युद्धपीडित विद्यार्थीका डाक्टर र इन्जिनियर सपना

मंगलबार, १६ चैत्र २०७२

काठमाडौँ, १६ चैत्र ।  आफ्ना बुबा कस्ता थिए, उनलाई सम्झाना छैन। माओवादी जनयुद्ध त्यो बेला चरमोत्कर्षमा थियो। सुर्खेत रझेनाका दिनेश बफाल पुन जन्मेको ६ महिना नपुग्दै उनको बुबा कमानसिंह बफालको मृत्यु भयो।  

माओवादीको लडाकू कमान्डरसम्म भएका उनका बाबु त्यो बेला सल्यानमा थिए। ‘आमाले पछिमात्रै भन्नुभयो,‘सल्यानमा सेनाको आक्रमणमा परेर बुबा बित्नु भएको रे।’दिनेश परिवारका एक मात्रै सन्तान हुन्। त्यसपछि उनका कोही पनि परिवार माओवादीमा लागेनन्।  

सुर्खेतकै सरकारी विद्यालयमा कक्षा ३ सम्म पढेका उनी शान्ति प्रक्रियापछि दाङमा खुलेको सहिद स्मृति उमाविमा कक्षा ४ मा भर्ना भएका हुन्। उनी यही वर्षको एसएलसी परीक्षाको तयारीमा जुटिरहेका छन्। भन्छन्,‘त्यसपछि साइन्स पढ्छु।’ कक्षाकै अब्बलमध्येका एक हुन् उनी। तेस्रो, चौथो स्थानमा आउने दिनेशको सपना छ, इन्जिनियर बन्ने।  

‘आमाले पनि त्यही भन्नुभएको छ, उनी भन्छन्,‘बुबा सहिद हुनु भयो, मैले पढेर केही गर्छु।’ दिनेशलाई राजनीतिमा खासै चासो छैन। तर गफिँदै गर्दा उनी मुस्काए ‘इन्जिनियर भएर पनि त राजनीतिमा जान सकिन्छ नी।’  

कालिकोट धौलागाहका कविराज भण्डारी पनि त्यस्तै सपना बुनेर एसएलसी तयारीमा छन्। युद्धमा माओवादी लडाकू भएका उनका आमाबाबु दुवैजना अपाङ्ग छन्। लडाइँका क्रममा २०५९ सालमा बुबाको खुट्टामा गोली लाग्यो भने त्यसको एक वर्षपछि उनकी आमाको हातमा गोली लागेर घाइते भइन्। सेना समायोजनपछि दुवै जना अहिले गाउँमै छन्।   

दाङकी जोसिला ढकाल र रोल्पा थवाङकी सुनिमा रोकाको सपना पनि उस्तै छ। दुवैले एसएलसीपछि विज्ञान पढ्ने सपना बुनिरहेका छन्। दुवैजनाले डाक्टरी पढ्ने लक्ष्य राखेका छन्।  

(अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया