Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एक करोडमा विद्यालय भवन निर्माण

सोमबार, १५ चैत्र २०७२

झापा - जापानी दम्पत्तिको एक करोड रुपैयाँ सहयोगमा निर्माण भएको विद्यालय भवन सोमबार हस्तान्तरण गरिएको छ ।  बिर्तामोड ५ बुट्टावारीस्थित सरस्वती माध्यमिक विद्यालयको भवन निर्माणमा जापानी दम्पत्ति तोसिरो हिरोता र हात्सुए हिरोताले सहयोग गरेका थिए । सोमबार विशेष कार्यक्रमका विच फर्निचर, पोडियम, ह्वाइट बोर्ड तथा आवश्यक सामग्री सहितको उक्त भवनको चावी हिरतो दम्पत्तिले विद्यालयका अध्यक्ष राजुजङ्ग कन्दङ्वालाई हस्तान्तरण गरे ।

उक्त अवसरमा हिरोता दम्पत्ति तथा घनश्याम स्मृति प्रतिष्ठानलाई विद्यालयले सम्मानपत्रद्वारा सम्मानसमेत गरेको छ । हिरोता दम्पत्तिसहित जापानी नागरिकलाई विद्यार्थी तथा अभिभावक र सामाजिक क्षेत्रका अगुवाहरुले नौमति बाजा सहित स्वागत सत्कार गरे ।

मजदुर तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक विकासका लागि जापानी दम्पत्तिले ‘हिरोता ड्रिम भवन’ निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।
५ सय १८ जना विद्यार्थी अध्ययनरत र २१ शिक्षक कार्यरत सो विद्यालय भौतिक रुपमा जीर्ण भए पछि गत भदौमा निर्माण थालिएको थियो ।

हिरोता दम्पत्तिको सहयोगमा जापान टीम अफ योङ ह्यूमेन पावर (जे एच पी) र झापाको चन्द्रगढीस्थित घनश्याम स्मृति प्रतिष्ठानले चार कोठे उक्त भवन निर्माण गरेका हुन् ।

कार्यक्रममा घनश्याम स्मृति प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल , सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको शुरुमा पूर्व सांसद डिल्ली सिटौलाले नेपाल र जापानको झण्डा झण्डोत्तोलन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद प्याकुरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका अध्यक्ष केदार गिरीले विद्यालयको भौतिक विकासका लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएसँगै विद्यालयमा दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अर्को दुई तले भवन शिक्षा मन्त्रालयको सहयोगमा बनाइएको छ ।

प्रकाशित मिति २०७२ चैत १५ गते

प्रतिक्रिया