Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

दक्ष विद्यार्थी विदेश जादाँ दिक्क मान्ने नायिका

शुक्रबार, १२ चैत्र २०७२

नायिक झरना थापाको स्कुले जीवन, भोगाई नेपालको शिक्षा प्रणालीबारे केही गुनासो – यो साताको शनिवार विशेषमा :

- विष्णु विवेक / काठमाडौं - पढेर दक्ष युवाको लर्को विदेश तिर हानिएको देख्दा राज्य सञ्चालन गर्नेहरुको मन कत्तिको पोल्छ थाह छैन, तर, यो दृष्यले नायिका झरना थापालाई खपिसक्नु हुन्न । देशको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थलको गेटमा छर्लङग देखिने दैनिक १२ सय भन्दा धेरै युवाको लामले उनलाई भत्भती पोल्छ ।

महिनाको सरदर ३ हजार अर्थात दैनिक १ सय विद्यार्थी पनि यो भिडमा भेटिन्छन्, जो अध्ययनकै लागि विदेशिन्छन् । पढेर दक्ष भएका नेपालीहरु यसरी विदेश पलायन हुदाँ झन् धेरै दिक्क लाग्छ उनलाई । 

‘पढेकाहरु पनि अवसर नपाएर विदेश जादाँ निकै दुख लाग्छ । अहिले पनि दिनहुँ युवाहरु विदेशिरहेका छन्' स्नातक पढ्दा पढ्दै छाडेकी थापा भन्छिन्, 'त्यसमा पनि धेरैजना प्लस टु, स्नातक गरेर विदेश पलायन भइरहेका छन्, यो कुराले मलाई निकै दुःख लागेको छ ।’

पढेकाहरुलाई पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न नसक्ने राज्य सञ्चालकहरुको गैरजिम्मेवारीका कारण यो अवस्था निम्तिएको उनको निष्कर्ष छ । 

‘शिक्षा पद्धति दोषी होइन् । पद्धति नराम्रो भए त उनीहरुले विदेशमा कसरी काम पाउँथे त ? तर पढेका युवालाई काम गर्ने वातावरण र अवसर नेपालमा भएन ।’

एक त रोजगारीको अवसर कम हुनु अर्को, पढेका युवाहरुलाई आफ्नै देशमा श्रम गर्न ‘लाज’ मान्ने प्रवृत्ति हावी हुनुले हामी यो अवस्थामा आएको उनको बुझाई छ । नेपालमा पढेपछि पढाउनैपर्छ । जागिर गर्नैपर्छ । गाउँघरमा किसान खेती गर्नेलाई हेप्ने प्रवृत्तिले पनि युवाहरु यहाँ थेगिन नसकेको उनको भनाई छ ।

‘युवाहरुलाई यहाँ राम्रै काम गर्न लाज मान्ने तर विदेशमा भाडाँ माझ्न पनि केही नमान्ने बानी  छ । यो पनि दोषी छ । पढेपछि जागिरै गर्नुपर्छ । पढाउनैपर्छ भन्ने छैन । काम सानो ठूलो हुन्न नभन्ने कुरा हाम्रो शिक्षाले सिकाएन, जे काम गर्दा आफुलाई आत्मविश्वास हुनुपर्छ । त्यसको अभाव हामीकहाँ धेरै छ ।’ उनले भनिन् ।

शिक्षा सुधार र विस्तारका लागी नायिका थापा आफ्नो सोच, क्षमता र शैलीमा भर पर्ने बताउँछिन् । ‘मैले सुधार्ने भरेर हुँदैन । जुन पक्षले सुधार्ने जिम्मा लिएको हो । त्यो पक्ष मौन बस्दा पो समस्या भयो' उनी भन्छिन्, 'तर शिक्षा सुधारका लागी पहिला आफ्नो सोच, क्षमता र शैलीमा ध्यान भने पक्कै दिनुपर्छ । त्यो पनि फेरी भाषणमा होइन व्यवहारमा हुनुपर्यो ।’

स्कुले ति दिन

दाङ घोराईकी थापाको प्रारम्भिक शिक्षा जिल्लामै भयो । कक्षा १ देखि ५ सम्म सिद्धार्थ बनस्थलीमा । गाउँमा पढाई नराम्रो होला, छोरी विग्रेली भनेर उनलाई काठमाडौंमा बोर्डस गरिदिए आमा बाबुले ।

होस्टलको जीवन घरको जस्तो सहज, रमणीय र पारिवारिक वातावरण कहाँ हुनु ! ‘होस्टेल बस्दा मैले घर परिवारलाई धेरै ‘मिस’ गरे । कहिलेकाही त रुन्थे नै । साझँ पखतिर घरको निकै याद आउँथ्यो । सानै थिएँ । भाई र म संगै बस्थ्यौ । आफु रुन खोज्दा भाई पनि रुन्थ्यो भन्ने डरले लुकेर रुन्थे । अहिले पनि मलाई त्यसको निकै याद आउँछ ।’ होस्टेल जीवन सम्झिदै उनले भनिन् ।

होस्टेलमा बसेर पढ्नु बाध्यता भएको झरनाको भनाई  छ । पछिल्लो समय जागिर, व्यापार गर्ने धेरैले आफ्ना छोराछोरी होस्टेलमा राखेर पढाउँदा ती बालबालिकाले  आफ्नो बाल्यकाललाई रोचक र स्वतन्त्र रुपले बिताउन नसक्ने उनी बताउँछिन् ।

‘बोर्डस राम्रो होइन । मैले र भाईले होस्टेल पढ्दा अब आउने छोरा छोरी भतिज भतिजीलाई बोर्डस नगर्ने कसम खाएका थियौँ ।’ तर भने जस्तो कहाँ हुन्छ र !  मैले नै मेरो छोरीलाई बोर्डस गर्नुपर्यो आफैले नभ्याउने भएर ।’

उनले कुरा लुकाईनन् ।

५ देखि कक्षा १० सम्म फेरी घोराईकै पद्मोदय उच्च माध्यामिक विद्यालयमा पढेर २०५० सालमा एसएलसी पास गरेकी हुन् थापाले ।

काठमाडौंबाट फर्किएपछि कक्षाको क्याप्टेन !

काठमाडौं पढेर फर्केकी केटी । त्यसमाथि देशकै नाम चलेको स्कुलबाट उनलाई सर मिसले सिधै क्याप्टेन बनाईदिए । ‘सबैलाई ‘ट्रयाक’मा ल्याउनुपर्ने जिम्मा थियो, अनि कत्ति साथीसंग झगडा पनि पथ्र्यो’ उनले भनिन्, ‘कक्षामा सामान्य विद्यार्थी भएपनि अभिनय मन पर्ने भएकाले सानैमा अरुसंग बोल्ने कुराकानी गर्नमा म सिपालु थिएँ ।’

‘त्यसैले पनि सरले मलाई विश्वास गर्नुहुन्थ्यो’ उनले कक्षाकोठामा पढ्दै गरेका दिन सम्झिदै भनिन् ‘कक्षामा सरले मलाई बढी विश्वास गर्ने भएकाले खासै कुटाई चान्ही खाइएन् ।’ कहिलेकाही गृहकार्य नगर्दा शिक्षकले हातका औलामा पेन्सिल वा डटपेन हालेर च्याप्ने गरेको चाँही उनले भुलेकी छैनन् । ‘त्यतिबेला औला दुखेपनि अहिले सम्झिदा निकै रमाईलो लाग्छ ।’

ठूली भएपछि डाक्टर इञ्जिनियर !

अधिकाँश वालवालिका जस्तै थापालाई पनि ठूलो भएपछि डाक्टर इञ्जिनियर बन्नु पर्छ भन्थे उनका अभिभावक र आफन्त । बाल मस्तिष्क त हो, उनी पनि डाक्टर इञ्जिनियर हुने सपना बुनेरै हुर्किईन् ।

तर भित्र मनामा बंैकमा काम गर्ने इच्छा थियो रे उनको । ‘अरुले डाक्टर इञ्जिनियर बन्नु पर्छ भन्दा आफुलाई बैंकमा काम गर्ने इच्छा अलिकति थियो । मैले आईए पद्मकन्या क्याम्पसबाट पढ्दा यो इच्छा पलाएको थियो । अभिनयमा भिज्दै जादाँ पछि त्यो पनि हरायो ।’

समय अनुसार जिन्दगीको मोड फेरिने नायिका थापाको भनाई छ । गाँउघर स्कुलमा नाच्ने भएकाले अभिनयमा रुचि बढे पनि नायिका नै बन्छु भन्नेमा ढुक्क थिईनन् रे उनी । ‘म नायिका बन्छु भनेर सोचेको थिइन । समय अनुसार जिन्दगीले मोड लिदोँ रहेछ । एक्कासी अभिनयको मौका मिलेर अभिनय शुरु गरेको पछि सबैले मन पराए पछि अन्य फिल्मबाट पनि अफर आयो र गर्दै गएँ ।’ फिल्म क्यारियरका बारेमा उनले भनिन् ।

‘दाइजोे’ फिल्मबाट अभिनय यात्रा शुरु भएको हो थापाको । अहिलेसम्म ७० बढी फिल्ममा अभिनय गरिसकेको बताउँछिन् उनी ।

प्रकाशित मिति २०७२ चैत १३ गते

प्रतिक्रिया