Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षक भएको १७ बर्ष, पढाउने काईदा थाह पाएको बल्ल !

शुक्रबार, १२ चैत्र २०७२

ललितपुर - चक डष्टर बोक । कक्षामा छिर । विद्यार्थीका अघिल्तिर उभिएर पढाऊ । विद्यार्थीलाई हल्ला गर्न मात्रै हैन चल्न चटपटाउन समेत फिटिक्कै नदेउ । पढाए पछि बुझ्यौ भनेर सोध । विद्यार्थीले टाउको हल्लाए न हल्लाएको हेर । घण्टि बज्छ अनी अर्को कक्षामा जाऊ ।

शिक्षक भएको १७ बर्ष सम्म कृष्णमैंया केसीको दैनिकी यस्तै चल्यो !

बितेको ३ बर्ष देखि भने उनको रुटिन बदलिएको छ । बज्रबाराही उच्च माविकी प्राथमिक तहकी शिक्षक केसीका विद्यार्थी हिजो आज खुब हल्ला गर्छन् । नचलिकन बेञ्चमा बस्ने विद्यार्थी देख्न त मुस्किल हुन्छ । विद्यार्थीको चाला माला लेख्दा दिक्क मान्नु सट्टा केसी औधि खुसी छन् ।

उनी हिजो आज विद्यार्थीलाई पढाउने हैन सिकाउने शिक्षक भएकी छन् । विद्यार्थीका अघिल्तिर उभिएर कम विद्यार्थीसंग संगै बसेर ज्यादा समय विताउँछिन् उनी ।

'मेरा विद्यार्थी पाठ्य सामग्री आफैं जुटाउँछन्, त्यसलाई काट्छन्, बनाउँछन्, अनी म ती सामग्रीबाटै सिकाउँछु' गणित विषयकी शिक्षक केसी भन्छिन्, 'म हिजो आज त चक डष्टर विनै पढाउँछु ।' 

घरमा प्रयोग भईसकेर खेर जाने सामग्रीका खोललाई प्रयोग गरेर विभिन्न उपयोगि सामग्री बनाउने कला त उनले पहिल्यै जानेकी थिइन् । दुधका पोकाको प्लाष्टिक, चक्लेट र बिस्कुटका खोलबाट उनले सजावटका विभिन्न सामग्री बनाउँथिन् । दुधका पोकाबाट हात खुट्टा धुने सामग्री बनाउँथिन् । जसलाई उनले नाम राखिन् 'हात खुट्टा धुने बल' । यस्तै अन्य बस्तुबाट सजावटका सामग्री बन्छन् । २०५२ साल देखि शिक्षक भएर २०६२ सालमा स्थायी भएकी केसीले तीनै सामग्रीको प्रयोगबाट सिकाउन सकिन्छ भन्ने कुरा चाँही ३ बर्ष अघि मात्रै चाल पाईन् ।

ललितपुरको सैंवु, लुभु, गोदावरी र बज्रवाराही गरी ४ श्रोत केन्द्रका २० विद्यालयका २ सय ३४ शिक्षकलाई सिकाइ सुधार गर्न शुरु गरिएको कार्यक्रममा सहभागि भएपछि मात्रै उनले यो कुरा चाल पाईन त्यही दिन देखि कक्षामा शुरु गरिहालिन् । 

हिजो आज त उनका विद्यार्थीले नै बोकेर ल्याउँछन् यस्ता खेर जाने बस्तु र त्यसबाटै बन्छन् यस्ता लोभलाग्दा पाठ्य सामग्री :

यस्ता कृयाकलाप गरेर पढाउँदा विद्यार्थीको सृजनात्मकता संगै सिकाइमा रुचि बढेको  उनले पत्ता पाईसकेकी छन् । विद्यार्थीले कैँचि चलाउन सिकेका छन्, सिधा काट्न जानेका छन्, बाङ्गो टिङ्गो काट्न जानेका छन्, प्लाष्टिकको धागोको डोरीमा गाँठो पार्न जानेका छन् । यीनै सामग्रीबाट जोड घटाउ भागा गुना सिकाउँदा विद्यार्थीले पढाइलाई बोझ हैन सिक्दै खेल्दै जानी सकेका हुन्छन् - उनले पत्ता पाएको कुरा हो यो ।

'पहिला पहिला एक पिरियड पढाउँदा पनि विद्यार्थी दिक्क मान्थे, हिजो आज लगातार ४ पिरियड एउटै कक्षामा बस्दा पनि कति छिटो घण्टि लागेको भन्छन्' खित्का छाड्दै उनी भन्छिन्, 'सिधै पढाउनु भन्दा यसरी कृयाालाप गर्दै सिकाउँदा त ६ दिनको काम पाँचै दिनमा पो सक्छन् ।'

विद्यार्थीलाई सहभागि नबनाईकन पढाउँदा नै सिकाइ कमजोर भएको शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माको निष्कर्ष छ । चल्नु चटपटाउनु गर्न नदिएर पढाइले सिकाइ सुधार नहुने उनी बताउँछन् । 'कक्षामा पिन ड्रप साईलेन्स गर्नु पर्छ भन्ने मानसिकताका शिक्षकको धारणामा परिवर्तन नल्याईकन गुणस्तर सुधार हुँदैन' उनी भन्छन्, 'विद्यार्थीलाई सहभागि नबनाईकन जति कुरा गरे पनि सिकाइ हुँदैन, र सिकाइ विनाको पढाईको कुनै काम छैन ।'

विद्यार्थीको सिकाइ सुधारका लागि शिक्षक आफैं सकृय हुनुको विकल्प नभएको शिक्षा मन्त्रालयका सहसचिव डा. डील्लीराम रिमाल बताउँछन् । शिक्षक आफैंले परिवर्तन नगरिकन सिकाइ सुधार नहुने पछिल्लो उदाहारण ललितपुरका ४ श्रोत केन्द्रमा लागू गरिएको कार्यक्रम भएको उनी बताउँछन् । तर, कार्यक्रम चलिञ्जेल मात्रै शिक्षक जागरुक हुने चलनको अन्त्य शिक्षक स्वयंले गर्नु पर्ने उनको भनाई छ । 'यस्ता कार्यक्रमहरु मेला लाग्या जस्तो मात्रै भएको अभ्यास छ' उनी भन्छन्, 'यसलाई निरन्तरताका लागि शिक्षक नै जागरुक हुनु पर्छ ।'

यूनिसेफको सहयोगका ग्लोवल एक्सन नेपालले लागू गरेको कार्यक्रमको पहिलो ८ महिने अवधिको समिक्षा गर्न आयोजित कार्यक्रममा यूनिसेफकी शिक्षा निर्देशक मेर्लिन होरले पैसा र नीतिले कक्षा कोठामा सुधार नहुने बरु शिक्षक विद्यार्थी विचको गतिविधिले नै सुधार गर्न सकिने बताईन् । ग्लोवल एक्सनका कण्ट्रि डाईरेक्टर बाबुकाजी श्रेष्ठले शिक्षक तालिम धेरै भए पनि कक्षा कोठामा शिक्षक र विद्यार्थी विचको सहभागिता नहुँदा सिकाइ प्रभावकारी नभएको निष्कर्ष सहित पाईलटिङ्को रुपमा ललितपुरमा कार्यक्रम शुरु गरेको बताए ।

कार्यक्रमले शिक्षकको घुम्ति बैठक, अभिभावक सँग छलफल गर्दै विद्यार्थीको सहभागिताबाट सिकाइ सुधार गरेको उनले बताए । शिक्षकका लागि सिकाइ सुधार गर्न क्रियाकलाप कार्ड समेत निर्माण गरिएको छ । 
कार्यक्रमको समिक्षा बैठकमा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक डा. तुलसी थपलिया, उपनिर्देशक ईश्वरीप्रसाद पोखरेल, ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेल लगायतले सिकाइ सुधारमा शिक्षकको भूमिका महत्वपूर्ण हुने र यसका लागि शिक्षक आफैं जागरुक हुनु पर्ने बताए ।

प्रकाशित मिति २०७२ चैत १२ गते

प्रतिक्रिया