Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

ग्रेडिङमा परिमार्जनसँग गुणस्तरमा चिन्ता

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौँ, १२ चैत्र । ग्रेडिङ प्रणालीमा एसएलसी नतिजा प्रकाशन गर्दा विद्यार्थीलाई अंक दिने र वर्गीकरण गर्ने सरकारी मापदण्डले विद्यालय शिक्षाको गुणस्तर खस्कने देखिएको छ । प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको प्राप्तांक जोडेर विषयगत रूपमा विद्यार्थीलाई ग्रेड दिने मन्त्रालयको निर्णयले यस्तो देखिएको हो ।  

गत साता शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को बैठकले प्रयोगात्मक र सैद्धान्तिक रूपमा छुट्टाछुट्टै परीक्षा दिएका विद्यार्थीको नतिजा जोडेर ग्रेड दिने निर्णय गरेको हो । त्यसअघि विद्यार्थीलाई प्रयोगात्मक र सैद्धान्तिक खण्डको परीक्षाका आधारमा छुट्टाछुट्टै ग्रेड दिने बताइएको थियो ।  

नयाँ निर्णयअनुसार एक सय पूर्णांकको कुनै एक विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षामा २० नम्बर र ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा १० नम्बरमात्र ल्याए पनि सम्बन्धित विद्यार्थी ग्रेडिङ प्रणालीअनुसार डी ग्रेडमा पर्दछ । डी ग्रेडमा ३० नम्बरदेखि ४० नम्बरसम्म ल्याउने विद्यार्थी पर्दछन् ।विगतमा प्रयोगात्मक र सैद्धान्तिक खण्डमध्ये कुनै एक खण्डमा मात्र अनुत्तीर्ण भए पनि सम्बन्धित विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुन्थे ।  

ग्रेडिङ प्रणालीसम्बन्धी नयाँ प्रावधानले सैद्धान्तिक विषयमा अत्यन्त कमजोर विद्यार्थीलाई पनि प्रयोगात्मक परीक्षाको प्राप्तांकका कारण उच्च कोटिको मान्नुपर्ने देखिन्छ ।  शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार हतारमा निर्णय गर्ने र नतिजा आएपछि पछुताउने सरकारी परिपाटी ग्रेडिङ प्रणालीमा पनि दोहोरिएको छ । उनले भने, ‘ग्रेडिङ प्रणालीमा सरकारी तयारी अत्यन्त फितलो छ । यो समस्या भविष्यमा कति विकराल हुन्छ ।'  

विगतमा एसएलसी परीक्षामा सहभागीमध्ये चालीसदेखि पचास प्रतिशतका हाराहारीमा विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । एसएलसीमा उत्तीर्ण भएर कक्षा एघारमा भर्ना भएकामध्ये पनि चालीसदेखि पचास प्रतिशतकै हाराहारीमा विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।  

समग्रमा डी ग्रेडमात्र ल्याए पनि उक्त विद्यार्थी उच्चशिक्षा अध्ययनमा कमजोर हुने शिक्षाविद्को तर्क छ । विगतका तथ्यांकअनुसार एसएलसी परीक्षामा विज्ञान, अंग्रेजी, गणितलगायत विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् ।  

एसएलसीमा विद्यार्थीले प्रतिविषय एक सय पूर्णांकका दरले कुल आठ विषयको परीक्षा दिनुपर्ने हुन्छ । तीमध्ये अंग्रेजी, विज्ञान र जनसंख्या तथा वातावरण विषयमा २५ अंकका दरले तथा ऐच्छिक प्रथम विषयमा कम्प्युटर विज्ञान पढ्नेलाई ५० तथा ऐच्छिक द्वितीयमा जुन विषय पढे पनि २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुन्छ । प्रयोगात्मक विषयको परीक्षामा अंक दिने अधिकार विद्यालय र शिक्षकलाई भएका कारण अधिकांश विद्यालयले विद्यार्थीलाई पूर्णांककै हाराहारीमा अंक दिने गरेका छन् ।  

परीक्षा नियन्त्रक कृष्ण काप्रीले ग्रेडिङ प्रणालीसँगै विद्यार्थी अनुत्तीर्ण र उत्तीर्ण हुने प्रावधान हटेकाले नतिजालाई नकारात्मक रूपमा बुझ्न नहुने बताए । उनले भने, ‘शिक्षा नियमावलीअनुसार प्रयोगात्मक परीक्षामा अंक दिने अधिकार विद्यालयलाई भए पनि कमजोर विद्यार्थीलाई मनपरी अंक दिन मिल्दैन । यस्तो भएको पनि छैन ।'  सरकारी मापदण्डअनुसार एसएलसी उत्तीर्ण विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्दा नौ तहमा वर्गीकरण गरेर अङ्क प्रदान गरिनेछ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया