Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

आठ कक्षाको अंग्रेजी प्रश्नपत्रमा गल्ती नै गल्ती

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौँ, १२ चैत्र । काठमाडौ जिल्ला शिक्षा कार्यालयले आधारभूत तहमा लिएको जिल्लास्तरीय परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नप्रत्रमा त्रुटीहरु भेटिएका छन् । प्रश्नपत्रमा कतै नामयोगी र हिज्जेमा गल्ती त कतै वर्णविन्यास र क्रियापद नै छुट्टाइएका छन् । प्रश्न पत्रमा दिएको अनुच्छेदमा उल्लेखै नभएको प्रश्नको उत्तर र विपरीत शब्द लेख्न निर्देशन दिइएको भेटिएको शिक्षकहरुले बताएका छन् । 

त्यस्तै ७५ पूर्णाङको परीक्षामा ७३ अंक भारको प्रश्न सोधिएको छ । प्रश्न नम्बर ४ मा ‘गेम्स एण्ड स्पोर्टस्’ बारे अनुच्छेद दिइएको छ । प्रश्न १० मा गेम्स एण्ड स्र्पोट्सकै निबन्ध लेख्न भनिएको छ । यसको अंक भार १५ छ । 

काठमाडौंमा ३७ हजार विद्यार्थी जिल्ला स्तरीय परीक्षामा सहभागी छन् । प्रश्न नम्बर ५ ‘ए’को ‘आइभी’ प्रश्नमा ‘टू’ छुट्याइएको छ । त्यही प्रश्नको ‘बी’ को ‘आइआईआई’ मा सोल्डको विपरीतार्थ सोधिएकोमा अनुच्छेदमा त्यसको उल्टो अर्थनै छैन । यसैगरी त्यही प्रश्नको ‘सी’ को ‘आइआईआई’ मा उल्लेखित प्रश्नको उत्तर अनुच्छेदमा नभएको बिषय शिक्षकहरुले बताए । प्रश्न नम्बर ६ को अनुच्छेदमा जुत्ताको लेसको हिज्जे नै गलत छ । यही प्यासेजमा ‘आइ ह्याभ अ क्लास...’ पछि ‘कमा’ नराख्दा विद्यार्थीलाई बुझ्न असजिलो भएको शिक्षकहरुले बताए । 

यही प्यासेजको ‘बी’ प्रश्नको ‘आइभी’ मा ड्राइभर हुनु पर्नेमा ‘ड्राइभ’ मात्रै र ‘सी’ प्रश्नको ‘आइआई’ मा ‘ह्वाई’ को स्पेलिङ ‘डब्ल्युएचएवाई’ लेखिएको छ । प्रश्न नम्बर ७ मा दिइएको चिठीमा ‘वेयर डिड यू फर दि टूर रु’ मा भर्व नहुँदा अनर्थ लाग्छ । त्यहाँ ‘गो’ हुनुपर्ने शिक्षकहरुले बताए । 

शिक्षकहरुका अनुसार प्रश्न पत्रको कम्तिमा आठ स्थानमा नौ त्रुटी भेटिएको छ । राजधानीकै जिल्लास्तरीय प्रश्नपत्रमा ‘सिकारु अंग्रेजी’ भेटिनु शिक्षा कार्यालयको गैर जिम्मेबारीपूर्ण कार्य भएको उनीहरु बताउँछन् । ‘प्रश्नपत्रमा सामान्य प्रूफहरुमा पनि गल्ती हुनुहुन्न’, एक शिक्षकले भने ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंका परीक्षा शाखा प्रमुख गीता घिमिरेले प्रश्नपत्रमा गल्ती भएको स्वीकारिन् । ‘जिल्लास्तरीय परीक्षाको मापदण्डअनुसार प्रश्न नभएको मलाई पनि लागेको छ,’ उनले भनिन्, ‘फ्रुफ रिडिङमा गलत भएको हो । अर्को पटकबाट गल्ती हुँदैन ।’ यो शाखाको जिम्मेवारी सम्हालेको उनले एक साता मात्रै भयो । यसअघिकै उपसचिवको टिमले तयार गरेको प्रश्न घिमिरेले परीक्षा केन्द्रमा पठाएकी हुन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया