Edukhabar
शनिबार, ०८ मंसिर २०८१
अन्तर्वार्ता

रिस, आवेग र तनाव नियन्त्रण गर्न नसक्ने शिक्षकनै हैनन् : डा. पाठक

विहीबार, ११ चैत्र २०७२

पढ्न गएका विद्यार्थीलाई शिक्षकले अंग भंग हुने गरी कुट्छन् भन्दा संसारको अघिल्तिर हाम्रा शिक्षकको हैसियत धुलिसात भईरहेको छ । तर, पनि हाम्रा शिक्षक चेत्दैनन् । केही समय अघि मात्रै शिक्षकले कुटेका २ घटना सार्वजनिक भए । पढ्नुहोस् :

डीआईको कुटाईले विद्यार्थीको कानको जाली फुट्यो, घटना ढाकछोप गर्ने प्रपञ्च गरिएको अभिभावकको गुनासो

शिक्षकले कुटेर ६ विद्यार्थी घाईते, भागेका शिक्षक प्रहरी नियन्त्रणमा

विद्यार्थी कुट्नु भनेको ठूलै पुरुषार्थ गरेझैं ठान्ने शिक्षकको बोलबाला कायमै छ । विद्यार्थी कुट्ने शिक्षकको मनोविज्ञान, यसको कारण र समाधानबारे मनोविद डा.गंगा पाठकसंग विष्णु विवेकले गरेको कुराकानी :

- शिक्षकले किन विद्यार्थी कुट्छन् ?

बालबालिका पिट्नेलाई त शिक्षक नै नभनौं, ति शिक्षक हैनन् । जुन शिक्षक मानसिक रुपमा पढाउन तयार छैन । कसरी पढाउनु पर्छ भन्ने कुराको ज्ञान छैन । आफ्नो आन्तरिक समस्या र तनाव व्यवस्थापन गर्न सकेको छैन । यस्तै शिक्षकले आफ्नो रिस, आवेग अनि तनावको निशाना बालबालिकालाई बनाउँछ र पिट्न पुग्छ ।

पहिलो विद्यालय त घर हो । घरमै बालबालिकालाई बुझेर हुर्काइएको छैन । अनी फेरी शिक्षक पनि त कुनै घरकै सदस्य हो । उसलाई पनि यो कुरा थाहै भएन । उसको सब भन्दा पहिलो काम विद्यालय पुगेका बालबालिकालाई पढ् होइन भन्ने पिटछु भन्दै डर देखाउने भयो । अनुशासनका नाममा बालबालिकाको कमलो मस्तिष्कमा डर र त्रास देखाएर सिक्न लगाइन्छ । विद्यालय जाने सबै बालबालिका एकनास हुदैनन् । डरैले भएपनि सिक्न त खोज्छन् तर उसको कुनै सानो गल्तीमा शिक्षक जाईलागि हाल्छन् । उनीहरुले गरेको गल्ती होइन सिक्न खोज्दैछन् भन्ने कुराको ख्यालै गर्दैन । उल्टै आफूलाई नटेरेको भन्दै कुटेर तह लगाउने तिर लाग्छ ।

- शिक्षकले बालबालिकाको त्यो मनोविज्ञान कसरी बुझ्ने त ?

पहिलो कुरा अभिभावकले नै बालबालिकाको मनोविज्ञान बुझेनन् । दोश्रोमा बालबालिकाको भविष्यको मार्गदर्शक भनेको शिक्षकले पनि मनोविज्ञान भन्ने शब्दलाई बुझ्न र पढ्न सकेनन् । बाल अधिकारका सन्धि महासन्धिले बालबालिकालाई पिट्नु त परै जाओस औठा उठाउन र उनीहरुलाई त्रसित गर्ने कुनै कुरा भन्न नपाईने ब्यवस्था गरेको छ । यसबारेमा शिक्षकले जानकारी राख्नु पर्यो, राख्न लगाउनु पर्यो ।

शिक्षक र अभिभावक दुबैले मनोविज्ञानलाई बुझेर अगाडी बढ्ने र ती कलिला बालबालिकालाई सिकाउने भन्नेमा जानकार हुनु पर्यो, बनाउनु पर्यो । हामीकहाँ पढाउने भनेको कक्षामा गएर आफुले जानेको कुरा पढेर सुनाउने, घोक्न लगाउने, रटाउने, आफु जान्ने भएर कक्षाकोठामा उपस्थित हुने मनोवृत्ति हावी भयो । बालबालिकाको मनोविज्ञान बुझ्ने र त्यही अनुसार सिकाउने भन्ने कुरा भएन । किताबमा भएका एक दुई कुरा भने पुग्छ, ए पढ्, नभए पिटाई खान्छौ भनेर हप्काउने बाहेक अर्को विकास र पद्धति भएन । यसलाई सबैभन्दा बढी बुझ्नु र पढ्नु पर्ने मान्छेले नपढेपछि र नबुझेपछि कसरी बालबालिकाले बुझ्छन् ? अनि कक्षाकोठामा शिक्षकबाट र घरमा छदाँ आमाबुवा वा अभिभावकबाट पाउनुपर्ने साथी जस्तो ‘फ्रेण्डली’ व्यवहार बालबालिकाले कहाँबाट पाउँछन् ? यति नपाए पछि बालबालिका आफुले जानेको गर्न खोज्दा त्यो भएन भनेर कुटिन्छन् ।

- एक जना शिक्षकलाई कसरी यो कुरा बुझाउने ?

प्रमाणपत्र हातमा लिदैमा शिक्षक भइयो भन्ने गलत प्रवृत्तिले गदा यस्तो भएको हो । शिक्षक त डाक्टर, इञ्जिनियर, पाइलट भन्दा पनि बढी संवेदनशिल पेशा हो । यसमा चुनौति पनि त्यतिकै छ । डाक्टर पाइलट पढेपछि भइन्छ । तर शिक्षक भन्ने कुरा पढेपछि मात्र बन्न सकिन्न । शिक्षक बनेर पढाउनका लागी आवश्यक शैली र ज्ञान चाहिन्छ । त्यसैले पहिलो कुरा शिक्षक र अभिभावकले बालबालिकालाई बुझ्न र बुझाउन सक्नु पर्यो ।

आफुले बुझेको कुरा जबर्जस्ती लाद्दा नै सन्तुष्टि लिने क्रम भयो । अर्को कुरा भनेको बालबालिकाको मनोविज्ञानका बारेमा शिक्षकलाई सरकारले नै बुझ्ने, बुझाउने, अध्ययन गर्ने गराउने तर्फ सोचिएन । यसले गर्दा ठुल्ठुला घटना दुर्घटना भएपछि मात्रै यी कुराहरु बाहिर आए । अघिपछि सोधखोज नै गरिएन । यसले गर्दा नै बढीजसो बालबालिकाहरु राम्रोसंग पढ्न नसक्ने, पढेपनि नबुझ्ने, बर्षभरी पढेपछि पनि पास नहुने, पास भए पनि रोजगार र आत्मविश्वासी नहुने समस्याहरु बढेका हुन् ।

- त्यसो भए हामीसँग भएका सबै शिक्षक बालबालिकालाई नबुझ्ने मात्रै छन् त ?

जुन शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर पढाउँछ, ऊ केही हदसम्म सफल छ । अलिकति भए पनि विद्यार्थीको अनुहार, उसको व्यवहार र क्षमता हेरेर पढाएको विद्यार्थी पनि सफल छ । तर धेरैजसो शिक्षकले किताबका पाठ रटाएर मात्रै पढाए । आफुले पढाउनु भन्दा पहिले विद्यार्थी पढ्न तयार छ की छैन ? यसबारेमा सोधीखोजी शिक्षकले पनि गरेनन् र त्यो वातावरणका साथै त्यस्तो व्यवस्था पनि भएन । धेरैजसो अभिभावक अझै पनि शिक्षित छैनन् । शिक्षित भएकाहरुले पनि मनोविज्ञानबारे गहिरो अध्ययन गरेका छैनन् । बालबालिकालाई घरमा विग्रिए भनेर विद्यालय पठाईदिने चलन छ । अनि विद्यार्थी स्कुलमा गएर स्वतन्त्र हुदैन । बस्नैपर्ने, पढ्नैपर्ने नपढे कुटाई खाइने, आमाबुवाको गाली खाइने डर र त्रासबाट ग्रसित भयो । यी दुबै कुरा भोगिरहेको विद्यार्थी पनि इच्छुक भएन । सानैदेखि उसलाई यसबारेमा थाहा नै दिईएन ।

- हामीसँग भएका शिक्षक यीनै हुन् । हाम्रा बालबालिका यीनै शिक्षकबाट पढिरहेका छन्, उनीहरुलाई बालबालिका प्रति सद्भाव पूर्ण ब्यवहार गर्ने बनाउन कसरी सकिएला ?

शिक्षक हेर्ने निकाय भनेको शिक्षा मन्त्रालय नै हो । तर विडम्बना मन्त्रालय र मातहतका निकाय यसबारे गम्भिर भएनन् । मलाई अनुभव छ । मन्त्रालयका कर्मचारीहरुलाई नै मनोविज्ञानबारे ज्ञान, अध्ययन र अनुसन्धान छैन । मन्त्रालयका कर्मचारीलाई थाहा नभए पछि कसरी विद्यालयमा सही परामर्श दिने शिक्षक पुग्छन् ? फेरी कागजी रुपमा स्पष्ट छ मन्त्रालय । तर अहिलेसम्म कुनै पनि सरकारी विद्यालयमा परामर्श दिने शिक्षक या त ‘काउन्सिलर’ नियुक्त छैन । केही नीजिमा ‘डिआई’ भनेर नियुक्ति गरिएको छ, मनोविज्ञानको बारेमा ज्ञान नभएका उनीहरुबाटै विद्यार्थी कुटिएर अंग भंग भएका छन् ।

- समग्रमा हाम्रो चिन्ता पनि शिक्षकको हातबाट विद्यार्थी नकुटिउन्, अंग भंग त क्ष्यम्य हुने कुरै भएन । अवस्था डरलाग्दो छ भनेर बस्ने कुरा पनि भएन सुधार त गर्नै पर्यो कसरी गर्ने ? 

सुधारका लागी पहिला त मनोविज्ञानबारे अध्ययन र अनुसन्धान गर्नुपर्यो । अध्ययन गरेकाहरुलाई विद्यालय विद्यालयमा पठाउनुपर्यो । सकभर विद्यालयमा मनोविज्ञान पढेको मान्छेलाई नियुक्त गर्नुपर्यो नभए शिक्षकहरुलाई मनोविज्ञान सम्बन्धि नियमित कक्षा र तालिम दिनुपर्यो । त्यो तालिम कक्षाकोठामा विद्यार्थीलाई प्रयोग भए नभएको बारेमा अनुगमन गर्नुपर्यो ।

अनि सबैभन्दा ठूलो कुरा तालिम लिएपछि त्यसको प्रयोग सबैभन्दा पहिले ती शिक्षकले गर्नुपर्यो । आफुले आफ्नो जीवन र दैनिकीमा परिवर्तन नल्याए सम्म बालबालिकामा परिवर्तन खोजेर हुँदैन । त्यसैले पहिला शिक्षक र अभिभावकलाई मनोविज्ञानबारे बुझाउनुपर्यो । अनि विद्यार्थीलाई सिकाउँदै, पढाउँदै र दिनहुँ व्यवहारमा उतार्दै गयो भने बालबालिका कुटिने क्रम घट्दै जान्छ ।

(विगत २४ बर्षदेखि मनोविज्ञानका क्षेत्रमा कार्यरत पाठक ३० बर्षदेखि शिक्षण पेशामा आबद्ध छिन् । उनले मनोविज्ञानसका बारेमा प्रशिक्षण समेत दिन्छिन् ।)

प्रकाशित मिति २०७२ चैत ११ गते 

प्रतिक्रिया