Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

अक्षराङ्कन मूल्याङ्कन पद्धति : कुन बाटो हिँड्ने ?

विहीबार, ११ चैत्र २०७२

- देवीराम आचार्य / १२ वर्ष अगाडि एसएलसी अध्ययनको एउटा प्रतिवेदनले अक्षराङ्कन मूल्याङ्कन पद्दतिलाइ अवलम्बन गर्न सिफारिस गरेको थियो । २०७१ बाट आंशिक र २०७२ बाट पूर्णतया अक्षराङ्कन पद्दति लागू हुने भएको छ, सिफारिस कार्यान्वनयन भएको अर्थमा यसलाई स्वागत नै गर्नु पर्छ ।

१ वर्ष अगाडिदेखि नै यो विषय निकै चासो र चर्चामा रह्यो । अझ भनौँ शैक्षिक क्षेत्रको हट केक बन्यो । पक्ष विपक्षमा विचार, वहस सिर्जना भएको छ । नीजि विद्यालयले आफ्ना विद्यार्थीको उपलब्धिलाई अङ्कमा देखाउन नपाउने भएकाले केही हदसम्म विपक्षमा देखिए तापनि हाल त्यो पनि सेलाएको छ । नीतिगत निर्णयलाई कार्यान्वय गर्ने र प्रभावकारी बनाउने हिसाबले सरकारको शिक्षा प्रशासन यसका सकारात्मक पक्षमा वकालत गरिरहेका छौँ भने सामुदायिक विद्यालयहरु पनि ठिकै त छ, भन्ने भावमा देखिएका छन् ।

कुनै पनि पद्धति वा काम गर्ने तौरतरिका पूर्ण रुपमा दोषमुक्त हुँदैन । अङ्कन प्रणालीका पनि केही राम्रा पक्ष थिए भने अक्षराङ्कनका पनि केही नराम्रा पक्ष छन् । अहिले अङ्कन प्रणालीलाई कामै नलाग्ने र अक्षराङ्कन त सबै समस्याको रामवाण भन्ने अर्थमा बुझ्न खोजियो भने यो एउटा ठूलो भूल हुनेछ । विद्यार्थी फेल पासको अर्थ नहुने भनेर सिकाइमा ध्यान दिन छोडे भन्ने गुनासो अभिभावक र केही शिक्षकको देखिएको छ भने केही सामुदायिक विद्यालयले एसएलसीमा निल भयो भनेर पत्रिकामा आफ्नो नाम नआउने भयो भनेर दङ्ग पनि छन् । हामी केही शिक्षाका कारिन्दाहरु एसएलसीको पास प्रतिशत घट्यो, राज्यको शैक्षिक लगानी खेर गयो भनेर पनि चिन्ता गर्न नपर्ने भयो पनि भन्दै छौ । अहिले हामी यो एउटा रामवाण हो, जसले विद्यालय शिक्षाका सबै समस्या समाधान गर्छ भन्ने तर्फले यसको वकालत गर्दै छौ कि जस्तो लागेको छ अनुभूति भएको छ कता कता ।

हाम्रो चासो र चिन्ता विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अङ्कमा छ, तर परीक्षा भन्दा अगाडि १ वर्ष सम्मको पठनपाठनका कुरा हामीले गरेका छैनौ । त्यो भन्दा अगाडि सिकाइको आधार तह (foundation grade) प्राथमिक तहको सिकाइ सुधारका कुरा गरेका छैनौ । विद्यालयमा पठन पाठनका लागि नभइ नहुने तत्व शिक्षकको उपलब्धता कुरा गरेका छैनौ । पठनपाठनमा सुधार नभई नतिजामा सुधार आउने त छैन नै, तर तथ्य तथ्याङ्कहरुले जब उपलब्धिको कमजोरी थाहा दिने छैन तब हामी विस्तारै पठनपाठनको चासो र चिन्ता अझ कम गर्ने हौँ कि भन्ने पनि लाग्दैछ । हामीले १९२ दिन पठनपाठन गर्नै पर्ने भनेर दिन भनेका छौ, तर हाम्रै क्रियाकलापले धेरै विद्यालयमा मुश्किलले १५० दिन पठनपाठन हुने गरेको छ । चैत ३।४ गतेबाट वार्षिक परीक्षा त्यसपछि एसएलसी त्यसपछि भर्ना अभियानमा २ महिना वित्छ । २ महिना त वर्षे र हिँउदे विदामा वित्छ । सार्वजनिक विदाको पनि सङ्ख्या हरेक वर्ष बढिरहेको छ ।

साधारण अर्थ र सोझो भाषामा भन्दा अक्षराङ्कनले विद्यार्थीको सिकाइलाइ अङ्कमा होइन, अक्षरमा भन्ने छ, तर त्यो अक्षरको समुह त आखिरमा अङ्कबाटै आउने हो । हिजो हामीले ६८, ७०, ८०, ९१ अङ्क भनेर भन्थ्यौ, अब ६८ का लागि B, ७० का लागि B+, ८० का लागि A, र ९१ का लागि A+भन्ने भयौ । हिजो २ विषयमा फेल हुनेका लागि पुरक परीक्षा हुन्थ्यो, अब दुइ विषयमा D र D भन्दा तलको ग्रेड (४० भन्दा कम)पाउनेले ग्रैड वृद्धि परीक्षामा सामेल हुनेछन् । हिजो २ भन्दा बढि विषयमा फेल हुनेलाइ एक्जाम्टेड भन्थ्यौ र आगामी वर्षको परीक्षामा सहभागी गराउथ्यौ, अव २ भन्दा बढि विषयमा D र D भन्दा तल्लो ग्रेड पाउनेले आगामी वर्षको मूल परीक्षामा सहभागी हुने छन् (विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२)। यसरी हेर्दा खास अन्तर के त ? विद्यार्थीको लब्धाङ्क पत्रमा विभिन्न विषयमा ० देखि १०० अङ्क हुन्थ्यो, अब A+ देखी Eसम्म गरी * समूह हुनेछ । ३२ भन्दा कमलाइ फेल लेख्थ्यौ, ३० देखि ४० भन्दा कमलाइ D+, ३० भन्दा कमर २० सम्मलाई D र ० देखि २० लाई Eभन्ने छौँ । हामीले १० वर्ष विद्यालयमा पढिसकेको विद्यार्थीले परीक्षामा ० अङ्क ल्याउनेछ भन्ने कुरा स्वीकार पनि गरेका छौँ जुन हिजो पनि थियो ।

२ विषयसम्मको पुरक परिक्षालाई ग्रेड वृद्धि भन्ने छौँ । २ भन्दा बढि विषयमा D ल्याउनेलाइ मूल परीक्षामा सहभागी गराउने छौँ । यो त दाल र भात फरक फरक पकाउने कि, एकै ठाँउ राखेर पकाउने भने जस्तै पो भयो कि। फरक फरक पकाउँदा दाल भात, एकै ठाँउ राखेर पकाउँदा खिचडि भन्ने जस्तो पो भएको हो कि !विद्यार्थीले आत्महत्या गर्ने छैनन, विद्यालयका बीच अस्वस्थ प्रतिस्पर्धा हुने छैन, कसैले आफूलाई, प्रथम, दोस्रो भनेर घोषणा गर्ने छैनन, यो शैक्षिक गतिविधिमा राम्रा पक्ष नै हुन तर हामीले चाहेको कुरा के हो ? हाम्रा प्राथमिकता के हुन ? सिकाइ पहिलो हो कि, सिकाइको प्रमाणीकरण पहिलो । हिजो पासको प्रतिशत निकाल्दा देशभरका करिब १०० विद्यालयको नतिजा शुन्य हुन्थ्यो । हामीले सुधार त्यहाँ खोजेको हो कि, त्यहाँका विद्यार्थीको आत्महत्यामा । आत्महत्या सिकाएर अथवा सिकाइको सुनिश्चितता गरेर रोक्ने कि, फेल नभनेर मात्र । वहश यता पनि जरुरी छ ।

यो पद्धति सँग सम्बन्धित केही documents हरु अध्ययन गर्दा विद्यार्थीले प्राप्त गरेको ग्रेडले पाठ्यक्रमका उद्देश्य कुन हदसम्म हासिल गरेको छ भन्ने प्रतिविम्वित गर्दछ । जस्तै उदाहरणको लागि : 

A= Outstanding. Student has mastered all the course's major and minor instructional goals.

B= Good. Student has mastered all the course's major instructional goals and most of the minor ones.

C= Satisfactory. Student has mastered all the course's major instructional goals but just a few of the minor ones.

D= Very weak. Student has mastered just a few of the courses major and minor instructional goals and barely has the essentials needed for the next highest level of instruction. Remedial work would be desirable.

सबै शैक्षणीक उद्देश्य हासिल गरेको कुरा प्रमाणिकरण गर्न त्यसै अनुसारको परिक्षा र प्रश्नको पनि आवश्यकता हुन्छ, भने सँगसँगै पाठ्यक्रमले मुख्य र सहायक शैक्षणीक उद्देश्य के के हुन उल्लेख गरेको हुनु पर्छ । के हाम्रो परीक्षामा प्रयोग हुने प्रश्नले पाठयक्रमका सबै उद्देश्य मापन गर्न सक्छन् । हाम्रो पाठ्यक्रममा भएका सबै उद्देश्य मापनयोग्य छन ? हामीले यो पक्षमा पनि ध्यान दिनु आवश्यक छ ।

अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधिले यसको उद्देश्य नं ३ मा शैक्षिक क्षति कम गर्ने भनेको छ, शैक्षिक क्षति भन्नाले एउटा Layman ले बुझ्ने भाषामा शैक्षिक प्रणालीमा एउटै कुरालाई २ पटक लगानी गर्दा भएको दोहोरो लगानी अथवा लगानीबाट प्राप्त नभएको लक्ष्य भनेर बुझ्न सकिन्छ । यसरी हेर्दा एउटै विद्यार्थीको पटक पटक परीक्षा लिने भइयो, एक वर्ष पछि मुल परीक्षामा सहभागी हुनु पर्ने पनि भयो, त्यो अवधिमा उसले आफुले चाहे अनुसारको अध्ययन तथा सिकाइ अवसर (गैर प्राज्ञिक, व्यावसयिक सिप तथा तालिम वाहेक) पनि नपाउने देखियो । यस अवस्थामा शैक्षिक क्षति कम हुने कुरा पनि सुनिश्चित भएन । हामी फगत, आलोचनाबाट बच्ने उपायको अवलम्बनमा बढि लालायित भयौ कि । सुधार गर्ने क्षेत्र सिकाइ र पठन पाठन हो, सिकाइको प्रमाणिकरण दोस्रो Agenda हुन सक्छ ।

यति कुरा गर्दा अक्षराङ्कन काम नलाग्ने भन्ने अर्थ होइन । तर यो जुन रुपमा र जसरी प्रयोग गरिनु पर्छ, त्यसरी नभएको भन्ने हो । इतिहासलाइ हेर्दा अहिले हामीले प्रयोग गर्न शुरु गरेको पद्दति सबैभन्दा पुरानो र शुरुवातको पद्दति हो । यसमा सुधार र विकास आवश्यक छ, त्यसका लागि विचार, विर्मश र छलफलको पनि आवश्यकता होला । सामुदायिक शिक्षामा थोरै समय मात्र भएपनि काम गर्दाको अनुभव र धेरैले सुधार चाहेको क्षेत्र सिकाइको प्रमाणीकरण कसरी गर्ने भन्ने होइन, सिकाइ सुनिश्चितता कसरी गर्ने र मूल्याङ्कनले उसले सिके नसिकेको सही रुपमा प्रमाणीकरण गर्ने भन्ने हो । कुनै विद्यार्थीले गणितमा कक्षा ३ मा ६० अङ्क ल्यायो तर भाग गर्न जानेन भने उसले के जानेर ६० अङ्क ल्यायो भन्ने प्रमाणिकरणको सवाल हो । अथवा हाम्रो ३ घण्टाको परीक्षा प्रणालीले विद्यार्थीले जानेका कुरा राम्रो सँग मापन गरेन भन्ने पनि सवाल हो, यस अर्थमा हाम्रो मूल्याङ्कनका साधन र पद्दतिमा पनि सुधारको खाँचो हो, तर अहिले हामी त्यो कुरा सुन्न पनि चाहेका छैनौ जस्तो यसको पक्षमा भएका वहशहरु सुन्दा ।

कुनै एउटा particular विषयमा एकजना विद्यार्थीले B र अर्काले C ल्यायो भने, B ल्याउनेले ६० देखि ७० को बीचमा र C ल्याउनेले ४० देखि ५० बीचमा अङ्क ल्याएका रहेछन भन्ने त थाहा भयो । तर, यी दुइ जनाको सिकाइमा C ल्याउनेले भन्दा B ल्याउनेले के के थप कुरा जानेको छ र यो दुइजनाको बीचको सिकाइमा भएको Gap के हो भन्ने ज्यादै महत्वपूर्ण हुन्छ । जस्तो, गणितमा C ल्याउनेले जोड घटाउ र गुणन मात्र गर्न सक्छ, र B ल्याउनेले जोड, घटाउ, गुणन र भाग पनि गर्न सक्छ भनेर नभन्दा सम्म त सिकाइको सक्षमता कसरी थाहा पाउने, होला । अङ्ग्रेजीमा रमेशको A ग्रेड आयो, महेशको C ग्रेड आयो । यहाँ A ग्रेडको व्याख्याले विषयवस्तुमा उत्तम भन्छ। तर रमेशकोEnglish मा Listening, Reading, Writing राम्रो छ, Speaking एक वाक्य वोल्न सक्दैन, अब उसको A ग्रेडले यो कुरा कसरी बुझाउने ? महेश Listening, Reading, Writing मा एकदम कमजोर छ, तर Speaking मा राम्रो छ । अब सिकाइको यो अवस्था हाम्रो सिकाइको प्रमाणीकरणमा कसरी प्रमाणित गर्ने । हाम्रो चुनौति यो थियो, तर अति उत्तम, उत्तम, सामान्य, सन्तोषजनक, आंशिक, थोरै, नगण्य र अयोग्यता भनेर फेरी पनि हामी र हाम्रो प्रणाली कुम्लो बोकि ठिमीतिर भनेजस्तो भएको छ ।

A र A+ ग्रेड प्राप्त गरेका विद्यार्थीले समस्या समाधान गर्न सक्छन, सृजनात्मकता हुन्छ, ज्ञानका उच्च तह (Analysis, synthesis, evaluation) हुनेछ भनिएको छ, तर हाम्रो प्रश्नले कुन हदसम्म त्यस्तो सिप मापन गर्ने छन, त्यसमा ध्यान दिनु आवश्यक छ । मार्टिन चौतारीले २०६५ देखि २०७१ सम्म गरेको एसएलसी परीक्षाको प्रश्नको विश्लेषणमा विज्ञान, गणित जस्ता विषयमा ६५ प्रतिशत भन्दा बढि अङ्कभार ज्ञानको निम्न तह (Knowledge, comprehension and application)बाट प्रश्न सोध्ने गरिएको छ (हेर्नुहोस, शिक्षक मासिक चैत २०७२) । जब परीक्षामा त्यो स्तरका प्रश्न सोधिएकै छैननभने अब हामी कसरी सुनिश्चित गर्ने विद्यार्थीले समस्या समाधान गर्न सक्छ भनेर ? विद्यार्थीले ज्ञानको निम्न तहका प्रश्बाट हासिल गरेको उच्च अङ्कलाई ग्रेडमा परिवर्तन गरेकै भरमा विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता छ भनेर विश्वास गर्न सकिदैन । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सिकाइ उपलब्धि परीक्षणहरुले पनि सृजनात्मता र समस्या समाधानका प्रश्नमा सबैभन्दा कम उपलब्धि हासिल भएको देखाएको छ । 

सुधार पाठ्यक्रम, सिकाइका उद्देश्य, प्रश्न र परीक्षा प्रणालीमा पनि आवश्यक छ । कक्षाकोठाको शिक्षण सिकाइ प्रक्रियामा सुधार नगरी सिकाइ सुधार हुन कठिन अथवा असम्भव नै छ । पाठ्यक्रम परिमार्जन, सिकाइका उद्देश्यको विशिष्टीकरण, परीक्षा प्रणालीमा सुधार, प्रश्न निर्माणमा स्तरीयता, विश्वसनीयता र वैधता, कक्षाकोठाको सिकाइ सुधार गर्दै सिकाइको प्रमाणिकरण प्रणाली सुधार हुनु पर्नेमा हामी अलिक हतार गरेर प्रमाणिकरणबाट सुधार शुरु गरेका छौ । विग्रेकै त होइन तर बाटो उल्टो भएको छ । सुल्टो हिडँदा गन्तव्य सुनिश्चत हुन्थ्यो तर उल्टोले गन्तव्यको सुरु विन्दुमा जान बाध्य पार्दैन ।

मापनको Norm Reference Measurement बाट Criteria Reference Measurement मा जानु पर्ने आजको विश्वव्यापी मान्यता र प्रचलन हो, तर हामी बीउ, मलजल, माटो NRM कै पद्दतिबाट गर्दैछौ र फल पनि NRM कै फलाएर स्वाद कस्तो छ भनेर भन्ने बेलामा मात्र CRM को पद्दतिमा गएका छौ । यसमा धेरै सुधार र विकासका काम गर्न बाँकी देखिन्छ । हजारौ कि मि को यात्राको अन्तिम १ किमि मात्र अक्षराङ्कनले समेटेको छ । शैक्षिक गुणस्तर सुधारको प्राथमिकता के हो र सबैभन्दा समस्या भएको क्षेत्र कुन हो, पहिचान गरेर त्यसमा सुधारको प्रयास शुरु गर्न सकिएमा प्रभावकरी हुन सक्छ ।

अक्षराङ्कन मूल्याङ्कन पद्धति थोरै अभ्यास र पर्याप्त छलफल वहश नगरी ल्याइएको रहेछ भन्ने कुरा एकपटक पनि कार्यान्वयनमा नगई २ महिनाको अवधिमै यसमा गरिएको संशोधनले प्रष्टाउँछ । पछिल्लो संशोधनले सरल अर्थमा पहिलेको उत्तीर्णाङ्क ३२ लाई ३० बनाएको भनेर बुझ्न सकिने भएको छ । संशोधन गरिनु पहिले ४० भन्दा कम र २० सम्मको प्राप्ताङ्कलाई D श्रेणीमा राखिएको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, उच्चमाध्यमकि शिक्षा परिषद् लगायतका संस्थाले D श्रेणीका विद्यार्थी भर्ना नलिने खालको नीति तयार गर्दै गर्दा यसमा संशोधन गरी श्रेणीमा ४० भन्दा कम ३० सम्मलाई D+ थप हुनुले यसलाई पुष्टी गर्छ । प्राध्यापक डा मन वाग्लेले आफ्नो फेसबुकमा यो संशोधनप्रति टिप्पणी गर्दै "अक्षराङ्कन प्रणालीले न त गुणस्तरको विश्वास दिनेछ, न त यसले मूल्याङ्कनको कुनै आधार समाउन सक्नेछ" लेख्नु भएको छ । अक्षराङ्कन पद्धति हतारमा ल्याइएको हो कि भन्ने अनुभूति गर्दै शिक्षा सेवाकै एक सहसचिवले पनि फेसबुकमा लेख्नु भएको थियो । यी तथ्यहरुका आधारमा हेर्दा यो प्रणालीमा सुधारका क्षेत्र धेरै नै बाँकी छन् । सिकाइको प्रमाणीकरण भन्दा सिकाइ हुने सुनिश्चितता हाम्रो प्राथमिकता बन्न सकोस ।

[email protected]

* सच्याईएको, त्रुटि औंल्याईदिनु भएकोमा पाठकलाई धन्यवाद - सं.

प्रकाशित मिति २०७२ चैत ११ गते

प्रतिक्रिया