Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षामा महिला देखेर ह्यारी खुसी

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत । बेलायतका राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीले सानो ठिमी प्राविधिक शिक्षालयमा सञ्चालन हुदँै आएका व्यावसायिक र स्वरोजगारमूलक तालिमबारेमा जानकारी लिएका छन् ।  

नेपालको पाँच दिने भ्रमणमा रहनुभएका राजकुमार ह्यारी बुधबार उक्त शिक्षालयमा जानु भई त्यहाँ सञ्चालित प्रिन्टिङ प्रेस, हेभी इकुमेन्ट अपरेटर, हाउस वायरिङ, वल्डिङ र लाइट भेइकल अटो मेकानिक्स् तालिमको आवश्यकता र उपयोगिताका बारेमा प्रशिक्षार्थीसँग समूहगतरुपमा कुराकानी गरी जानकारी लिए ।  

त्यहाँ सञ्चालनमा रहेका प्राविधिक तालिममा महिलाको सहभागिता निकै राम्रो देखेपछि राजकुमार ह्यारीले खुसी व्यक्त गरे ।  समग्रमा उक्त शिक्षालयबाट सञ्चालन हुँदै आएको तालिममा महिलाको सहभागिता ३५ प्रतिशत रहँदै आएकामा पछिल्लो समय सञ्चालनमा रहेको मुद्रणसम्बन्धी तालिममा भने महिलाको सहभागिता शतप्रतिशत शिक्षालयका कामु कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिए ।  

प्रशिक्षार्थीसँग राजकुमार ह्यारीले विषयगत तालिम छनोटको आधार, प्राप्त गरेको जानकारी, उद्देश्य, अवधि, प्रवेश गरेको समय, तालिमपछि रोजगारीको अवसरलगायतका बारेमा समेत जिज्ञासा राखेका थिए ।  बेलायतको अन्तर्राष्ट्रिय सहयोग विभागको सहयोगमा सञ्चालित न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम ९युसेप० यहाँको प्राविधिक शिक्षालयमा सञ्चालनमा छ । बेलायतको सहयोगमा शिक्षालयबाट ती विषयमा हालसम्म १३० प्रशिक्षार्थीले तालिम हासिल गरिसकेका छन् ।

शिक्षालयले बजारको आवश्यकता र रोजगारीको अवसरअनुरुपको छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको छ । शिक्षालयबाट तालिम हासिल गरेका प्रशिक्षार्थीमध्ये ८० प्रतिशतलाई संस्थाले रोजगारी दिलाउन सफल भएको छ ।  देशको दक्ष एवम् अर्धदक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न विभिन्न पेसासँग सम्बन्धित छोटो र लामो अवधिका व्यावसायिक तालिम कार्यक्रम नियमितरुपमा सञ्चालन गर्ने शिक्षालयको मुख्य उद्देश्य रहेको छ । 

विदेशमा हेभि इक्युमेन्ट (डोजर, स्काभेटर) चलाउने जनशक्तिको अत्यधिक माग भई आउने गरेको तथा त्यसमा काम गर्न जाने श्रमिकले राम्रो तलबमान प्राप्त गर्ने हुनाले शिक्षालयमा ठूला सवारीसाधन चलाउने तालिमको चाप देखिएको छ । 

एक महिना अवधिको उक्त तालिमका लागि रु २२ हजार ५०० शुल्क कायम गरिएको तथा युरोपमा स्थायी आवासीय प्रवेशाज्ञा प्राप्त गर्नेदेखि खाडी मुलुकमा चालकको लागि जान चाहनेसम्मको बाक्लो आवेदन पर्ने गरेको अपरेटर प्रशिक्षक सङ्गीता गैरेले जानकारी दिनुभयो । ठूला खाले सवारीसाधन चलाउने उक्त तालिममा हाल ४४ जना संलग्न छन् । 

यसअघि शिक्षालयको अवलोकनका लागि राजकुमार ह्यारी त्यहाँ पुग्नु हुँदा सञ्चालक समितिका अध्यक्ष रामकृष्ण निरौलाले स्वागत गरेका थिए ।  रासस 

प्रतिक्रिया