Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

जागिर नहुँदा पनि तलब खाने शिक्षकबाट ६ करोड असुली

बुधबार, १० चैत्र २०७२

काठमाडौं - विद्यालय शिक्षक किताबखानाले उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकबाट झण्डै सवा ६ करोड रुपैंया असुल गरेको छ । गत ३ आर्थिक बर्षमा यस्ता शिक्षकबाट असुल गरिएको ६ करोड १८ लाख २० हजार २ सय ३१ रुपैंया राजश्वमा जम्मा गरेको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिए ।

चालू आर्थिक बर्षमा देशभरका ७८ शिक्षकबाट १ करोड ६२ लाख २९ हजार १ सय १६ रुपैंया असुल उपर गरिएको छ । यस्तै गत आर्थिक बर्षमा १ सय ५१ यस्ता शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ रुपैंया असुल गरिएको महानिर्देशक ढुङ्गानाले बताए । आर्थिक बर्ष २०७० ७१ मा पनि २ करोड ४९ लाख ४९ हजार २ सय ५७ रुपैंया असुल गरिएको थियो ।

कुनै पनि शिक्षकले ६० बर्षे उमेर कट्नु भन्दा ९ महिना अघिनै अवकासका बारेमा जानकारी दिनु पर्ने ब्यवस्था नियमावलीमा छ । तर, अटेर गरी तलब खाँदै आएका शिक्षकको संख्या बढ्दै गएपछि राज्यलाई थप ब्ययभार परेको ठहर सहित किताबखानाले लगत तयार गरी रकम असुल गर्न थालेको हो ।    

आफ्नो सेवा अवधि कति छ भन्ने कुरा हरेक कर्मचारीलाई थाह हुने भएपनि शिक्षकहरुबाट चरम लापरवाही भएको यो घटनाले पुष्टि गरेको ढुङ्गानाले  बताए । 'निजामती, जंगी सेवामा उमेर कटेर पनि जागिर खाई राखेको कहिल्यै सुन्नु भएको छ ?' ढुङ्गानाले प्रश्न गर्दै भने, 'शिक्षकहरुको नियतमा कमजोरी देखियो, पोखरा जस्तो शहरी क्षेत्रमा समेत उमेर हद कटेका शिक्षकले ११ महिना २७ दिन सम्म तलब बुझेको फेला परेपछि दूर दराजमा के भै राखेको होला आफैं विचार गर्नुहोस् ।' 

आफ्नो सेवा अवधि सकिईसक्दा पनि ढाँटेर तलब खाने शिक्षकका बारेमा विद्यालय निरिक्षकको अनुगमन समेत फितलो देखिएको उनको भनाई छ । शिक्षा मन्त्रालय अन्र्तगतका निकायको अनुगमन फितलो हुँदा ढाँटेर तलब खाने शिक्षकको मनोबल बढेको उनको निष्कर्ष छ । यस्ता कृयाकलाप रोक्न हरेक जिल्ला शिक्षा कार्यालयलाई मन्त्रालयबाटै परिपत्र गराउने योजना रहेको उनको भनाई छ ।

'सबै भन्दा ठूलो कुरा त स्वविवेक नै हो, शिक्षकहरुबाट त्यो अपेक्षा गर्नु गल्ति हुने हो की भन्ने ठानेर मन्त्रालयबाटै परिपत्र गराउन लागी परेको छु' उनले भने, 'सुशासन कायम गर्न राज्य संगै ब्यक्ति पनि जिम्मेवार हुनु पर्छ, त्यसमाथि शिक्षक जस्तो मर्यादित पेशामा रहेकाहरुबाटै नियम कानूनको पालना नहुनु लाजमर्दो भएको छ ।'

उमेर हद कटेर पनि तलब खाने शिक्षकका कारण राज्य कोषमा क्षती पुग्नुका साथै कक्षा कोठामा नयाँ शिक्षक पुग्ने बाटोमा समेत अवरोध भएको छ । ६० बर्ष कटेका शिक्षकलाई विस्थापन गर्ने वित्तिकै नयाँ क्षमता भएका शिक्षक कक्षामा पुग्छन्, विद्यार्थीको सकाइ सुधार हुन्छ, ढुङ्गानाले भने ।

प्रकाशित मिति २०७२ चैत १० गते

प्रतिक्रिया