Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

करार शिक्षकको सिफारिस शिक्षकलेनै

मंगलबार, ०९ चैत्र २०७२

सिन्धुली - सामुदायिक विद्यालयहरुमा करारमा नियुक्त हुने शिक्षकहरुको नाम सिफारिस शिक्षकले नै गर्ने भएका छन् । जिल्ला शिक्षा कार्यालय सिन्धुलीले करार शिक्षकको सिफारिस गर्न गठनको तयारी गरेको समितिमा सोही तहको स्थायी शिक्षक हुनु पर्ने प्रावधान राखिएसँगै करार शिक्षकको सिफारिस शिक्षकबाटै हुने भएको हो । 

यसका लागि कार्यालयले एक विशेषज्ञ समिति समेत गठन गर्ने भएको छ । समितिमा बस्न इच्छुक ब्यक्तिहरुलाई निवेदन दिन कार्यालयले १५ दिने सूचना सहित आह्वान गरेको छ । माध्यमिक तहको विशेषज्ञहरुको लागि सम्बन्धित विषयमा कम्तिमा शिक्षा शास्त्रमा स्नातकोत्तर र अन्य तहको हकमा सम्बन्धित विषयमा कम्तीमा शिक्षा शास्त्रमा तहमा स्नातक उत्तिर्ण भएको हुनु पर्ने प्रावधान छ । कम्तीमा सोही तहको स्थायी शिक्षक हुनु पर्ने प्रावधान पनि समेटिएको छ ।

'शिक्षक छनौट गर्ने काममा शिक्षक जत्तिको विशेषज्ञ अरु को खोज्ने ? त्यहि भएर शिक्षकबाटै सिफारिस गर्न खोजिएको हो' जिशिअ बद्रीबहादुर पाठकले भने । शिक्षकको नियुक्तिमा धेरै प्रश्न उब्जेपछि विधि अपनाउनु पर्छ भन्ने ठानेर समिति गठन गर्ने तयारी गरेको उनको भनाई छ । 'शिक्षकको नियुक्तिमा समस्या भएको गुनासो आएपछि शिक्षा नियमावलीमै भएको ब्यवस्था अनुसार विधि अपनाएका हौं'  उनले भने, 'विद्यालय ब्यवस्थापन समिति, शिक्षा कार्यालय र शिक्षकको तालमेलबाट मात्रै गतिलो काम हुने ठानेर यो प्रकृया शुरु गरेका हौं ।'

समितिमा बस्न ईच्छुक विज्ञ जुन जिल्लामा शिक्षण गरेको हो सोही जिल्लामा मात्र विशेषज्ञ हुन सक्ने प्रावधान पनि राखिएको छ । शैक्षिक योग्यताका प्रमाणपत्र, शिक्षक नियुक्तिको प्रतिलिपि सहित निवेदन दिन कार्यालयले भनेको छ ।

प्रकाशित मिति २०७२ फागुन ९ गते 

प्रतिक्रिया