Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षक अनियमिततामा छानबिन

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौं - भोजपुरको दुङ्माना गाविसस्थित सरस्वती उच्चमाविमा रकम लेनदेन गरी शिक्षक नियुक्ति गरिएको खुलेपछि शिक्षा कार्यालयले छानबिन सुरु गरेको छ । यस वर्षदेखि उच्चमाध्यमिक शिक्षा परिषद्ले दुई शिक्षक दरबन्दीका लागि उपलब्ध गराएको अनुदानबाट केही महिनाअघि शिक्षक नियुक्ति गरिएको थियो ।

पाँच वर्षअघिदेखि उच्चमावि सञ्चालन अनुमति पाएको उक्त विद्यालयले अनुदानबाट अंग्रेजी र जनसंख्या विषयका शिक्षक नियुक्ति गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर श्रेष्ठले बताए ।

विराटनगरकी सुनीता कट्टेललाई जनसंख्या र सिरहा हरकट्टियाका रामनाथ ठाकुरलाई अंग्रेजी शिक्षक नियुक्ति गरिएको श्रेष्ठले जनाए । तर उच्चमाविका संयोजक सुन्दरकुमार मगरमाथि शिक्षक नियुक्तिमा रकम लेनदेन गरेको आरोप लागेपछि आश्चर्यमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

शिक्षक छनोट समितिका संयोजकसमेत रहेका मगरले सोही विद्यालयका प्रावि शिक्षक राकेश मण्डलसहितको मिलेमतोमा सिरहाका ठाकुरलाई २ लाख २५ हजार रुपैयाँ रकम लिएर अंग्रेजी शिक्षक नियुक्ति गरेको आरोप लगाउँदै स्थानीयवासी तथा अभिभावकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

गत पुस ८ गते महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षक छनोटका लागि आवेदक रामनाथ ठाकुर र सुनीता कट्टेललाई एक्लाएक्लै परीक्षामा सामेल गराई पुस १२ गतेदेखि नियुक्ति दिइएपछि अध्यापन थालिसकेका छन् ।

कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया