Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

पाठ्यपुस्तकको भाउ नबढ्ने

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौं - व्यवसायी र निजी प्रकाशन गृहले पाठ्यपुस्तकको मुल्य वृद्धि गर्न दवाव दिदैं आए पनि यस बर्ष भाउ नबढ्ने भएको छ । गत वर्ष पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउन सरकारले १ अर्व ७० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, बजारमा बिक्री भएका पाठ्य पुस्तकको मुल्य सवा अर्व रुपैयाँ हुन आए पछि यसबर्ष पनि त्यही परिणाममा पुस्तक बिक्री हुने अड्कल काटेर भाउ बढाउन व्यवासायीले दवाब दिएका हुन् ।

शिक्षा विभागका महानिर्देशक खगराज बरालले यसबर्ष पुस्तकको मुल्य वृद्धि नहुने स्पष्ट पारे । शैक्षिक सत्रको मुखमा आएर भाउ बढाउन मिल्दैन, उनले भने, बजेटबाटै विनियोजन हुने रकम यतिखेर थपघट गर्नै मिल्दैन ।

सरकराले वजेट विनियोजन गरेरै प्रति विद्यार्थीका लागि आवश्यक पुस्तकको रकम भौचर मार्फत विद्यालयलाई उपलब्ध गराउने गरी विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।

पाठ्य पुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री केन्द्रले पनि विगत केही वर्षदेखि पाठ्यपुस्तकको व्यापारमा भएको घाटा कम गर्न मुल्य वृद्धि गर्नु पर्ने आवश्यकता रहेको जनाए पनि यस बर्ष गत बर्ष कैं मुल्यमा बिक्री गर्ने निर्णय भएको जनाएको छ । अहिले सम्म १ करोड ५६ लाख थान पुस्तक छपाई गरेको जनकका प्रवन्ध निर्देशक कपिल पोखरेलले बताए । उनले भने 'यो बर्ष जनकले पुस्तक विक्रीबाट करिब ६० करोड रुपैयाँको व्यापार गर्ने अनुमान छ ।' शिक्षा विभागको फ्ल्यास रिपोर्ट अनुसार १ करोड ७७ लाख थान पाठ्यपुस्तक आवश्यक छ । बाँकी निजी क्षेत्रले पूर्ति गर्ने जनकको भनाई छ ।

नयाँ शैक्षिक सत्रमा पुस्तक अभाव नहुने गरी छपाईको काम गरेको रिपोटिङ् केन्द्रबाट प्राप्त भएकोले यसबर्ष समयमै पुस्तक पुग्ने महानिर्देशक बरालले बताए ।

पाठ्य पुस्तक वितरणको जिम्मेवारी पाएको साझालाई कार्य असक्षमताको कारण देखाउँदै विगत तीन वर्ष देखि जिम्मेवारीबाट मुक्त गरी केन्द्रले आफै वितरणको ब्यवस्थापन गर्दैं आएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्य पुस्तक निजी क्षेत्रलाई समेत छपाई गर्न अनुमति दिईएको भएपनि कक्षा ६ देखि १० सम्मका पाठ्य पुस्तक जनकले छपाई गरेर वितरणको व्यवस्थापन समेत आफैं गर्दै आएको छ ।

साझाका प्रवन्ध निर्देशक धिरेन्द्र खनालले सरकारसँग तीन वर्षअघि कै जस्तो गरी जिम्मेवारीको माग गरे पनि सुनुवाई नभएको बताए ।

साझाले वितरणको जिम्मेवारी सम्हालुञ्जेल जनक र साझा विच समवन्य हुन नसक्दा समयमै विद्यार्थीको हातमा पाठ्य पुस्तक नपुग्ने समस्या रहेको थियो । समस्याले विबादको रुप लिए पछि तत्कालिन् शिक्षामन्त्री गंगाधर तुलाधरले साझालाई वितरणको जिम्मेवारीबाट मुक्त गराएर छपाई तथा वितरणको जिम्मेवारी जनकलाई दिने निणर्य गरेका थिए ।

तर पनि सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रसँगैं पाठ्य पुस्तक विद्यार्थीेको हातमा नपर्ने समस्या जहाँको त्यहीँ छ ।

गतबर्षको पाठ्यपुस्तकको मुल्य :

कक्षा –१ : १ सय ३३ रुपैयाँ २५ पैसा

कक्षा –२ : १ सय २८ रुपैयाँ ७५ पैसा

कक्षा –३ : १ सय ५८ रुपैयाँ

कक्षा –४ : २ सय रुपैयाँ ५ रुपैयाँ २५ पैसा

कक्षा –५ : २ सय २२ रुपैयाँ २५ पैसा

कक्षा –६ : ४ सय ९ रुपैयाँ २५ पैसा

कक्षा –७ : ४ सय ५७ रुपैयाँ २० पैसा

कक्षा –८ : ४ सय ९३ रुपैयाँ २० पैसा

कक्षा –९ : ३ सय २० रुपैयाँ (ऐच्छिक वाहेक)

कक्षा –१० : ३ सय १ रुपैया ( ऐच्छिक वाहेक)

प्रकाशित मिति २०७२ चैत ९ गते

प्रतिक्रिया