Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

२० हजार पुस्तक अलपत्र

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौँ, ९ चैत्र । सत्तारुढ दल एमाले केन्द्रीय कार्यालयका करिब २० हजार पुस्तक अलपत्र बनेका छन्।  अलपत्र पारिएका पुस्तकमा भूमिगतकालदेखि संकलित विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, दर्शन, संस्कृति, साहित्य, समाज, विज्ञान, प्रविधिलगायत विभिन्न विषयसँग सम्बन्धित छन्।   

साथै, महत्त्वपूर्ण दस्ताबेज संग्रहहरू दश महिनादेखि अलपत्र अवस्थामा छन्। अस्थायी पार्टी कार्यालय धुम्बाराहीमा पर्याप्त स्थान नरहेपछि ती पुस्तक धोबीखोलाकिनारमा रहेको मदन भण्डारी कलेजको गोदाममा बोराभित्र बाँधेर थन्क्याइएको छ।  

नम्बरिङ गरिएका १२ हजार, बाँकी आठ हजार  

पुस्तक हराउन नदिन एमालेले बाहिर पुस्तक लैजान नपाउने, तर पुस्तकालयभित्र मात्रै अध्ययन गर्न पाउने नियम बनाएको थियो । दुई वर्षअघि पुस्तक व्यवस्थित गर्न १२ हजार पुस्तक दर्ता गरी नम्बरिङ गरिएका थिए । पहिले महत्त्वपूर्ण पुस्तक नम्बरिङ सकेर बाँकी पुस्तक पनि नम्बरिङ गर्ने योजनाकै बीचमा भूकम्प गएपछि त्यो पनि अलपत्र पर्‍यो । 

माक्र्सको ‘पुँजी’देखि मदनको ‘जबज’सम्म अलपत्र  

अति दुर्लभ मानिने माक्र्सको चर्चित कृति ‘पुँजी’का सबै भाग, लेनिनका संगठनात्मक सिद्धान्तसम्बन्धी पुस्तकहरू, लेनिनका भोल्युम, माओत्से तुङका संकलित रचनाहरू, मदन भण्डारीका ‘जबज’ पुस्तक अलपत्र छन् । व्यवस्थित ढंगले पुस्तकालय पुनस् सञ्चालनमा ल्याउन नसक्दा ती सबै पुस्तक प्रयोजनविहीन बनेका हुन् । अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, केशव बडाल, बेदुराम भुसालदेखि थुप्रै नेताले भूमिगतकालदेखि संकलित पुस्तक पुस्तकालयलाई प्रदान गरेका थिए। 

(पत्रिका दैनिकमा प्रकाशित) 

प्रतिक्रिया