Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

दुईतिर काम गर्ने तीन शिक्षकको जागिर चट्

सोमबार, ०८ चैत्र २०७२

- एकराज गिरी - झापा / एउटै समयमा दुईतिर जागिर खाने झापाका दुई उच्च माध्यमिक विद्यालयका तीन शिक्षकलाई जागिरबाट वर्खास्त गरिएको छ ।

आइतवार जिल्ला शिक्षा कार्यालयले भद्रपुर उमावि र महेशपुरको अरनिको उमाविमा कार्यरत शिक्षकको नियुक्ति बदर गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए । जागिरबाट बर्खास्त भएका शिक्षकमा भद्रपुर उमाविका सागर दाहाल, चैतन्यप्रसाद खरेल र अरनिको उमाविकी सिर्जना शर्मा रहेका छन् । छानबिनका क्रममा उनीहरुले एउटै समयमा दुईतिर हाजिर गरेर काम गरेको फेला परेको थियो । 

झापामा उमावि शिक्षक नियुक्तिमा अनियमितता भएको सूचनाको आधारमा जिशिअ लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले ती उमाविका कागजपत्र नियन्त्रणमा लिई छानबिन गरेको थियो । ‘नियुक्ति प्रक्रिया ठीक देखियो’ जिशिअ लुइँटेलले भने, ‘तर, शिक्षकले अनियमितता गरेको पाइयो ।’

गत पुस १९ गते भद्रपुर उमाविमा नियुक्ति पाएका मध्ये बाहुनडाँगी –५ का दाहाल लेखा विषयका शिक्षक हुन् । त्यस्तै सोही मितिमा नियुक्ति पाएका तोपगाछी –९ का खरेल नेपाली विषयका शिक्षक हुन् । नियुक्ति पाएको मितिबाटै उनीहरु अन्यत्र कार्यरत रहेको पाइएको र दुईतिरै हाजिर भेटिएको शिक्षा कार्यालयले जनाएको छ । खरेल तीन÷चार वर्षदेखि भद्रपुरको एमरल्ड एकाडेमीमा समेत कार्यरत् छन् । दाहाल भने अरुनै संस्थामा कार्यरत रहेको छानविनका क्रममा फेला परेको जनाइएको छ । अरनिको उमाविमा गत मंसीर २८ गते नियुक्ति पाएकी बनियानीकी शर्मा अंग्रेजी विषयकी शिक्षक हुन् । उनी बिर्तामोडस्थित बुद्ध स्मृति बोर्डिङ स्कूलमा कार्यरत रहेको समेत पाइएको छ ।

ती उच्च माविले उनीहरुलाई नियुक्त गरेर औपचारिक प्रक्रिया पूरा गरेको देखिए पनि अरुलाई नै काममा लगाउने र तलब खुवाउने नियत देखिएको शिक्षा कार्यालयको निष्कर्ष छ । ‘तीनै जना शिक्षकलाई नियुक्त भएको मितिबाटै लागू हुने गरी बर्खास्त गरिएको छ’ जिशिअ लुइँटेलले भने, ‘गलत नियत राख्ने उच्च माविलाई सचेत गराई निकासा रोक्का गर्नुका साथै आइन्दा त्यसो नगर्न चेतावनी दिइएको छ ।’

लुइँटेल संयोजक रहेको छानबिन समितिमा उपसचिव उद्धव विष्ट, गणेशप्रसाद  अधिकारी र विद्यालय निरीक्षक भोला दाहाल सदस्य छन् । झापामा रहेका ६२ वटै उच्च माविको शिक्षक नियुक्ति प्रक्रिया र सम्बन्धित ठाउँमै शिक्षक कार्यरत रहे–नरहेको बारे छानबिन गरिने समेत जनाइएको छ । झापामा उच्च माध्यमिक विद्यालय शिक्षक अनुदान कोटा अन्तर्गत एक सय २४ जना शिक्षक नियुक्त भएका छन् । नियुक्ति पाएका शिक्षक सम्बन्धित उमाविमा कार्यरत रहे–नरहेको बारे चैत ११ गते हुने स्रोत व्यक्तिहरुको बैठकबाट प्रारम्भिक जानकारी लिई आवश्यकता अनुसार कागजात नियन्त्रणमा लिएर छानबिन गरिने र यथार्थ सार्वजनिक गरिने योजना बनाएको जिशिअ लुइँटेलले बताए ।

प्रकाशित मिति २०७२ चैत ८ गते

प्रतिक्रिया