Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

चीन जानु अघि शिक्षा मन्त्रीद्धारा भारतीय विद्यालयको अनुमति रद्ध !

आइतबार, ०७ चैत्र २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले भारतको राष्ट्रिय मुक्ति विद्यालयी संस्थान (एनआइओएस) को अनुमति रद्ध गरेको छ ।

शैक्षिक प्रणालीमा असर गर्ने गरी विदेशी कार्यक्रमलाई अनुमति दिएको भन्दै चौतर्फि आलोचना भएपछि मन्त्रालयले आफ्नो पूर्व निर्णय रद्ध गरेको हो । शनिवार बेलुका मन्त्रालयका उच्च अधिकारीको बैठक डाकेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त अनुमति रद्ध गर्ने निर्णय गरेका हुन् ।

आईतबार देखि शुरु प्रधानमन्त्रीको चीन भ्रमण टोलिमा आफू पनि रहेकोले केही निर्देशन दिनु पर्ने भन्दै डाकिएको उक्त बैठकमा मन्त्री स्वयंले उक्त निर्णय रद्ध गर्ने प्रकृया शुरु गर्न निर्देशन दिएका श्रोतले जनाएको छ ।

'विवादित कार्यक्रम'को अनुमति दिदाँ समेत मन्त्रालयका उच्च कर्मचारीले ध्यान नदिएर आफूलाई 'अप्ठ्यारो पारेको' भन्दै मन्त्री पोखरेलले आफू निकटस्थहरुसंग गुनासो गर्दै आएका थिए । यस अघिनै मन्त्रालय आफैंले गरेको अध्ययन प्रतिवेदनको विपरित हुने गरी मन्त्रालयले गत माघ १८ गते राई स्कुललाई उक्त कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो ।

भारतीय एनआइओएसमा अंग्रेजी, गणित र विज्ञान विषय अनिवार्य छैन जवकी देशमै कक्षा १० सम्म सञ्चालित खुल्ला विद्यालयमा यी विषय अनिवार्य छ ।

मन्त्रालयले भारतको सीबीएसई कार्यक्रमलाई सम्बन्धन दिने बहानामा एनआईओएसलाई पनि अनुमति दिएको हो ।

भारतीय बोर्डकै सीबीएसई कार्यक्रम सञ्चालन गर्दै आएका विद्यालयहरुलाई दर्ता गर्ने प्रकृया भने जारी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । सीबीएसई कार्यक्रम सञ्चालन गर्ने मध्ये मोर्डन ईण्डियन स्कुलले आलटाल गरे पनि अन्तिम समयमा दर्ता प्रकृयामा सामेल भएको मन्त्रालय श्रोतले जनाएको छ ।

प्रकाशित मिति २०७२ चैत ७ गते

प्रतिक्रिया