Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

संस्थागत विद्यालयका शिक्षकले भने ‘शिक्षाका नाममा व्यापार नगर’

आइतबार, ०७ चैत्र २०७२

काठमाडौँ, ७ चैत्र । संस्थागत विद्यालयका शिक्षकले शिक्षाका नाममा नीजि विद्यालय सञ्चालकलाई व्यापार नगर्न चेतावनी दिएका छन् ।  कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेर नाफाकै लागी विद्यालय नखोल्न र नाफा भए गुणस्तर दिने नभए हेलचेक्र्याई नगर्न उनीहरुले चेतावनी दिएका हुन् । 

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षक होम कुमार थापाले भने ‘व्यापारका लागी मात्रै नीजि विद्यालय खोल्ने विकृति बढ्दै गएको छ । यसलाई तुरन्तै बन्द गर्नुपर्छ ।’ 

हाल नीजि विद्यालयलाई कम्पनीका रुपमा दर्ता गरी सञ्चालनको अनुमति दिइएको छ । यसले नीजि विद्यालय सञ्चालकलाई व्यापारीका रुपमा सरकारले नै प्रोत्साहन दिइएको भन्दै सोही विद्यालयका शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।  

उनीहरुले आगामी दिनमा नीजि विद्यालयलाई शिक्षा मन्त्रालयकै मातहतमा राखेर कडा अनुगमन गरी विद्यार्थीको सिकाईमा गुणस्तर बृद्धि गर्न समेत माग गरेका छन् ।   इस्टुका अध्यक्ष मुकुन्द थापाले नीजि विद्यालय सञ्चालकहरुले विद्यार्थी र शिक्षकलाई गुणस्तर शिक्षाका नाममा आश्वासन मात्रै दिएको तर व्यापारको स्वरुप परिवर्तन नगरेको आरोप लगाए ।

उनले हालै मात्र शिक्षा मन्त्रालयले जारी गरेको नीजि विद्यालय शुल्कको मापदण्ड जायज भएको भन्दै त्यो नमान्ने नीजि विद्यालय सञ्चालकलाई कारबाही गर्न पनि माग गरे । अर्का शिक्षक केशब भट्टले सरकारी जस्तो नीजि विद्यालयमा पारिश्रमिक र लामो समय गरेको सेवाको कुनै कदर नहुने भन्दै नीजि विद्यालय सञ्चालकबाट आफुहरु पटक पटक पीडित भएको गुनासो गरे ।

विद्यालय फाइदामा गएपनि घाटामा गएपनि शिक्षकलाई कुनै किसीमको सुविधा नदिएको प्रति उनले रोष प्रकट गरे ।   केही समय अघि इस्टुबाट फुटेर छुट्टै संस्थागत विद्यालय शिक्षक युनियन नेपाल (एनइस्टु) गठन गरेका होम कुमार थापाले एजेण्डा र आन्दोलनका मुद्धा एउटै भएकाले फेरी इस्टुमै फकिएको पनि बताए ।  

दुई संस्थागत शिक्षक संगठन इस्टुको पुर्नमिलन तथा एकिकरणका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न नीजि विद्यालय शिक्षकहरुको बाक्लो जमघट थियो ।

 

प्रतिक्रिया