Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

स्नातकोत्तर गरेपछि पशुपालनतर्फ !

आइतबार, ०७ चैत्र २०७२

काठमाडौँ, ७ चैत्र । विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन् । कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ ।  समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफँै गर्ने हो भनेर कम्मर कसेर लागेका छन् । यस्ता युवाको पङ्तिमा पर्दछन् विराटनगर १८, जतुवाका सिकेन्द्रसिंह यादव । 

कुनैबेला जागिर दिनुस् नै हजुर भन्दै विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा प्रमाणपत्र लिंदै हिँड्ने उहाँलाई अहिले आफ्नै व्यवसायमा लागेपछि भ्याइनभ्याइ भएको छ ।  एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरका लागि धाउन थाल्नुभएका उहाँले धेरैपटक लोकसेवाको परीक्षा दिनुभयो । तर, सफलता प्राप्त गर्न सक्नुभएन ।  सरकारी जागिर हात नलागे पनि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँले आफैँले केही गर्ने केही योजना बनाउनुभयो । 

यादव परिवारले पहिल्यैँदेखि गाईपालन गर्दै आएका थिए । परम्परागत गाईपालन व्यवसायले भने सोचे जस्तो प्रतिफल दिनसकेको थिएन । घरको सामान्य गर्जो मात्रै टार्ने गरेको थियो । यही व्यवसायलाई अघि बढाउने गरी उनले योजना बनाए । तर पैसा नहुँदा कसरी लगानी गर्ने भन्ने चिन्ताले सताउँदा युवा स्वरोजगारसम्बन्धी कार्यक्रम उनले थाहा पाए । 

बेरोजगार युवालाई सरकारले पैसा दिने बुझेपछि सम्पूर्ण प्रक्रिया पूरा गर्नुभयो र उहाँको आवेदन स्वीकृत भई रु दुई लाख पाउनुभयो । बचत र युवा स्वरोजगार कोषको अनुदानबाट अहिले उहाँको गोठमा तीनवटा उन्नत जातको जर्सी गाई, दुईवटा भैँंसी, चारवटा बाच्छी छन् । 

दैनिक २५÷३० लिटर दूध बिक्री गर्ने गर्नुहुन्छ उहाँ । गाईभँैसीपालनमा व्यस्त भएपछि उहाँको दैनिकी पनि फेरिएको छ । बजारसम्म दूध लैजानका लागि उहाँलाई बुबा शिवराम, आमा उर्मीला, दाजु धर्मेन्द्र भाई पप्पु र विदुरले सहयोग गर्दै आएका छन् । 

बिहान ५ बजेदेखि राति ८ बजेसम्म उहाा गाईभैँंसीकै स्याहारमै रहनुहुन्छ । कुनैबेला व्यावसायिक गाईपालनको विरोध गर्ने उहाँका बुबा सिकेन्द्रको मेहनतबाट खुसी हुनुहुन्छ ।  दुई वर्षभित्रमा १० वटा उन्नत् जातका गाईको दूध बजारसम्म पु¥याउने उनको  लक्ष्य छ । यसका लागि उहाँले बचत गर्न दैनिक दुई लिटर दूधको पैसा सहकारीमा जम्मा गरेका छन् । 

व्यावसायिक गाईपालनमा लाग्ने उनको दृढ अटोटपछि उनले गाउँमै पशु बीमासमेत भित्र्याए । यसका लागि बीमाको अभिकर्ताको काम पनि उहाँले गर्दैआउनु भएको छ । जतुवा र भाथिगछ गाविसमा उनले १०० वटा पशुको बीमा गरिसकेका छन् ।   गाई भँैसीपालन व्यवसाय सफल हुँदै गएपछि बेरोजगार र विदेशिन जाने युवालाई यस व्यवसायतर्फ लाग्न सुझाव पनि दिने गरेका छन् । 

उहाँको मेहनत र सफलताको गाउँमा निकै प्रशंसा हुने गरेको छ । विराटनगरमा दूधको बजारको कुनै पनि समस्या उहाँले देख्नुभएको छैन ।  उहाँ भन्नुहुन्छ ‘आफूले राम्रो उत्पादन गरेपछि जहाँ पनि बिक्री हुन्छ ।’ मासिक रु एक लाख आम्दानी गर्ने उहाँले योजना रहेको छ ।  

रासस 

 

प्रतिक्रिया