Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

जोड घटाउ पढेर कहिले 'ठूलो मान्छे' भईएला !

शनिबार, ०६ चैत्र २०७२

एक जना नायकको स्कुले अनुभूति र वर्तमान शिक्षाको अवस्थाबारे यस पटकको शनिवार विशेष :

- विष्णु विवेक - काठमाडौं / बालबालिकालाई ठूलो मान्छे बन्नुपर्छ भनेर नसुनाएको अभिभावक को होला र ? विद्यालय जादाँ सबैले ठूलो मान्छे बन्नुपर्छ भनेको सुन्दै सुन्दै हुर्किएको सानो बालक कालान्तरमा नेपाली सिने जगतमा चल्तिको हिरो भयो । तर उसलाई संधै लागिरहन्थ्यो, जोड घटाउ पढेर कहिले ठूलो मान्छे भईएला !

‘सानोमा विद्यालय जादाँ सबैले ठूलो मान्छे बन्नुपर्छ भन्थे । मलाई बन्नुपर्छ भन्ने त अलि अलि लाग्थ्यो । तर यो जोड घटाउ पढेर कहिले ठूलो भइएला र खै ? भन्ने लाग्थ्यो ।’ एडुखबरसंगको भेटमा नायक निखिल उप्रेती आफ्नो स्कुले जीवन सम्झदैं थिए

सरस्वती माध्यामिक विद्यालय हजुरिया सर्लाहीमा कक्षा १० सम्म पढेका निखिलले २०४६ सालमा एसएलसी उतीर्ण गरेका हुन् । ‘त्यस्तो कुनै विशेष डिभिजन आएन् । पास भए भनौँ । तर मलाई यो पास सास भएर पनि केही होला जस्तो लागेन’ उनले भने ‘आँटेको र चाहेको काम फरक थियो । अभिनय र अलिकति अरु सामु चिनिने ।’

विद्यालयमा पढ् पढ् भन्ने बानी निखिललाई कहिल्यै मन परेन । ‘किनकी पढेर मात्र ठूलो भईंदैन, सीप भएकको शिक्षा अर्थात् कुनै न कुनै काम लाग्ने कुरा पढ्नु पर्ने अहिलेको जमानामा सबैले पढेर पनि कोही नपढे जस्तो लाग्छ ।’ उनले भने ।

जोड घटाउको शिक्षाले काम गरेन

हाम्रो शिक्षा प्रणाली प्रति निखिल खुसी छैनन् । नेपालमा केही गर्न शिक्षा व्यवसायिक हुनुपर्ने उनको भनाई छ । ‘खोई के गरेको छ हाम्रो शिक्षाले ? शिक्षक गलत हुन् या त विद्यार्थी त्यो उनीहरु नै जानुन् । तर देशको विकास गर्ने मेरुदण्ड शिक्षा भने पनि हाम्रो यो किसिमको शिक्षा मलाई पटक्कै मन परेको छैन ।’

शिक्षा गुणस्तर र विकसित भए कुनै पनि नेपाली आज विदेशमा भौँतारिने स्थिति नहुने उनको धारणा छ ।

‘पढेकाहरुले अवसर पाएनन् । त्यो आफ्नो ठाउँमा छ । तर पढेकाहरुले पनि के गरेका छन् नेपालमा ? मलाई यही विषयले सधै पोल्छ । आज पढेकाहरुले नै देश चलाएका छन् । प्रशासन चलाएका छन् । अनि हरेक ठाउँमा पढेकै मान्छेहरु पुगेका छन् । तर खोई के भयो ?' झोक्किदै उनले भने, 'जति भयो उनीहरुले व्यक्तिगत र आफु अनुकुल मात्र गरे । कम्तीमा शिक्षाको नैतिकता त लागु हुनुपर्ने ? त्यो पनि भएन ।’

‘यो फाइदा र घाटा अनि आफु अनुकुल मात्र प्रयोग गर्ने शिक्षाले हामीलाई केही फाइदा गर्दैैन । गणितका सुत्र घोकेर हिसाब बनाए जस्तो सबैको जीवन त्यसरी चल्दैन । त्यसैले शिक्षा आधुनिक र कम्तीमा पनि व्यक्तिको क्षमतालाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।’

सुधारका लागी सरकारसंग योजना हुनुपर्छ

‘हाम्रो शिक्षा प्रति मलाई अहिले पनि झाँक चलेर आउँछ । किनकी हामीले हाम्रो जनशक्ति विदेशमा काम लगाइरहेका छौँ । उनीहरु सबै नेपाल फर्किए नेपाल बन्न धेरै समय लाग्दैन । त्यसका लागी सरकारसंगै योजना हुनुपर्छ । अरुले गरेर दिगो हुँदैन ।’ उनले भने ।

‘मैले शिक्षाको अहिलेको अवस्थाको बारेमा त्यति नजिकबाट अध्ययन गरेको त छैन । तर जति पनि मान्छेहरुसंग कहिलेकाही कुरा हुँदा निकै दुःख लाग्छ । किनकी उनीहरु भन्छन् पढेर के गर्ने ? कसले दिन्छ जागिर ? कति कमाई हुन्छ र जागिर खाए पनि ? यो नैराश्यता राज्यले नागरिकलाई दिनु कत्तिको जायज हो । किन यसलाई समस्यामा रुपमा लिएर समाधान गरिदैन । मैलै बुझ्नै सकेको छैन ।’ उनले भने ।

शिक्षालाई व्यावहारिक, आवश्यकता बमोजिम नबनाएसम्म देशको विकास नहुने नायक निखिलको भनाई छ ।

‘शिक्षा सरकारी होस् या त नीजि तर व्यवहारिक र अहिलेको आवश्यकतालाई जोड्ने खालको हुनुपर्छ । यसले कम्तीमा सबैलाई फाइदा पुर्याउनु पर्छ । पढेर जागिर खोज्ने बाध्यता नबनोस् ।’

कमर्स पढ्दै अभिनयमा

एसएलसी पछि काठमाडौंको नेपाल कमर्स क्याम्पसमा पढ्न थाले । ‘कुन पढौँ कुन पढौँ भन्ने लागेको थियो । साथीहरुले ‘म्यानेजमेन्ट’ पढौँ न भने । हुन्छ पढौँ त भनियो । तर अभिनयको भुतले छाडेको थिएन ।’ निखिल सम्झिन्छन् ‘त्यही अभिनयको भुतले पढाई पनि गोली मारियो ।’

पहिलो पटक नेपाली फिल्म ‘पिजँडा’ खेलेका निखिलले घरको सातौँ तलाबाट हाम फालेर सबैलाई चकित मात्रै पारेका थिएएनन् नेपाली फिल्ममा डरलाग्दो 'स्टन्ट' पनि भित्र्याएका थिए ।

‘मेरो फिल्मी डेब्यु नै अरु भन्दा फरक ढंगले भएको थियो । गाँउमा गाई भैसी चराउने मान्छे । न ज्यान थियो न त त्यस्तो कुनै पैसा । खाली अभिनयमा रुचि थियो । त्यो फिल्ममा खेल्न भने पछि सिधै नयाँ स्टाइलबाटै खेल्न शुरु गरेँ ।’

दर्जनौं फिल्म खेलिसकेका निखिल ‘मार्सल आर्ट’ का पनि खेलाडी हुन् । खासगरी आत्मरक्षाका लागी खेलिने मार्शल आर्टले उनलाई नेपाली फिल्म क्षेत्रमा ‘एक्सन स्टार’ भनेर चिनाउँछ ।

‘अरुभन्दा फरक र केही नयाँ गर्ने मेरो सोच थियो । मार्शल आर्ट खेलेपछि मलाई त्यसले धेरै सहयोग गर्यो । खासगरी हलिउड बलिउडमा जुन किसीमका डरलाग्दा ‘स्टन्ट’ हरु देख्थे । त्यसरी नै नेपाली फिल्ममा मैले खेल्न शुरु गरे ।

फिल्म र अभिनय पढ्न भारत

‘पढ्न मन त त्यति थिएन । तर मलाई फिल्ममा अभिनय गर्न र निर्देशन गर्न केही न केही सिक्नु थियो । यसका लागी यहाँ ठाउँ थिएन । भारत तिर लागियो ।’ उनले भने ‘भारतको कर्नाटकमा त्यतिबेला एकजना नेपालीकै अभिनय इन्स्टिच्युट थियो । ‘फिल्मी एक्टिङ क्लास’ भन्ने त्यही गएर पढियो र सिकियो पनि ।’

नेपालमा अभिनय सिक्ने ठाउँ विद्यालय भए भारतमा जानुपर्ने बाध्यता नहुने निखिलको भनाई छ । भारतका केही फिल्ममा सह निर्देशक भएर समेत उनले काम गरे। 

‘अहिले त नीजि भए पनि अभिनय सिक्ने ठाउँ छन् । तर त्यतिबेला कुनै त्यस्तो ठाउँ थिएन । भारत नै गएर सिक्नुपर्ने बाध्यता थियो ।’

प्रकाशित मिति २०७२ चैत ६ गते

प्रतिक्रिया