- श्रीधर पौडेल / काठमाडौं २० फागुन / वर्षभरि सुधारको रटान लागेको लाग्यै छ । शिक्षा मन्त्रालय आफै भन्छ, कक्षा १० को अन्तिम परीक्षाका रुपमा राष्ट्रिय स्तरमा लिइने एसएलसी अरु परीक्षा जस्तै हो, कुनै ठूलो कुरा होइन । यसलाई अनावश्यक महत्व दिनु जरुरी छैन । तर हरेक वर्ष एसएलसी सुरु हुनु अघिको त्रास घट्नुको साटो बढेको बढ्यै छ । अर्को महिना चैत ५ देखि सुरु हुने एसएलसीको त्रासले यतिखेर बजार तातेको छ । र, यो त्रास यो वा त्यो रुपमा राज्य स्तरबाटनै फैलाइएको छ ।
यसपाली देशभरका १ हजार ८ सय ६२ परीक्षा केन्द्रबाट ५ लाख ७४ हजार ६ सय ८५ नियमित तथा आंशिक विद्यार्थी जाँच दिँदैछन् । अंक प्राप्तिलाई सिकाइ उपलब्धि मान्ने एसएलसी सम्भवत यो अन्तिम हो । सरकारको घोषणा अनुसार आगामी वर्षदेखि एसएलसीको नतिजा अक्षर ग्रेडिंगमा हुदैछ । र, अर्को महत्वपूर्ण कुरा कक्षा १२ सम्मलाई राज्यले विद्यालय तहको शिक्षा मानिसकेको अवस्था छ ।
तर पनि कक्षा १० मा लिइने एसएलसीको हाउगुजी हट्न सकेको छैन । पछिल्लो एक वर्षको एसएलसी समाचार र सरकारी अधिकारीहरुका अभिव्यक्ति हेर्ने हो भने यसलाई महत्व दिनु जरुरी छैन ।
सरकारी अधिकारीहरुको कुरामा लोली मिलाउँदै निजी विद्यालयका सञ्चालकले पनि भनेका छन्, हो एसएलसीलाई यति धेरै महत्व दिनु पर्दैन । सामुदायिक विद्यालयको शिक्षक भन्दैछन्, एसएलसी मात्रै सिकाइको मापन होइन, यसलाई मात्रै महत्व दिइनु हुदैन । अभिभावक भन्छन्, एसएलसीको हाउगुजीले हाम्रा छोराछोरीलाई मानसिक रुपमा दवाव पर्यो यसलाई महत्व दिनुु हुदैंन । विज्ञहरु भन्छन्, एसएलसीलाई यति धेरै महत्वदिनु कुनै जरुरी छैन । यो अरु कक्षाको परीक्षा जस्तै परीक्षा हो ।
तर, राज्यले गरेको एसएलसीको बोक्रे तयारी हेर्दा लाग्छ यो मात्रै अन्तिम परीक्षा हो, यसपछि कुनै परीक्षा आउँदैनन् । यसमा फेल भए जीवन सकिन्छ । परीक्षा दिने छोराछोरी छन्, अभिभावकलाई त्यसको चटारो छ । शिक्षकलाई एसएलसी धङ्धङी छ । आफन्त चिनजानका व्यक्ति पनि भन्दैछन्, एसएलसी आउँदैछ, राम्ररी पढ ।
विद्यालयको कुरै छाडौं विशेष गरी निजीलाई ट्युसन र कोचिंग पढाउँदै ठिक छ । त्यसका लागि अतिरिक्त रकम आम्दानी पनि हुने, पढाउँदा घाटा पनि क्यै नुहने । निजीको व्यापार बढाउने काम गरेको पनि सरकारले शिक्षा मन्त्रालयलेनै हो । सरकारीका शिक्षक विद्यार्थी मुखामुख गरेर बसेका छन्, के पढ्ने के पढाउने तिनलाई हेक्का छैन । तर यति जानकारी छ ठूलै हल्ला खल्लाका साथ एसएलसी आउँदैछ । चैत ५ गतेदेखि हरेक दिन ३ घन्टा फरक विषयका परीक्षा दिनुपर्छ । परीक्षा विद्यार्थीले लेख्नेछन् र नतिजा पछि शिक्षकको परीक्षण हुनेछ ।
छोटोमा भन्दा सामाजिक प्रतिष्ठा, उच्च शिक्षाका लागि खुल्ने ढोका र राष्ट्रिय स्तरको मापन भएकाले एउटा विरासतका रुपमा आएको एसएलसी सरोकारवालाका लागि आतंक जस्तै भएको छ । परीक्षाको तयारी र सुरक्षा आवश्यक छ । परीक्षाको मूल मर्म भनेको मर्यादानै हो । मर्यादा हिन परीक्षाले न सिकाइ मापन गर्न सक्छ न त्यस्तो मार्कसिटले जीवनमा कुनै उपलब्धिनै हासिल हुन सक्छ । पक्कै पनि परीक्षाको सुरक्षाका लागि राज्यले अपनाउनु पर्ने सबै तरिका अपनाउन सक्छ । प्रश्नपत्रको सुरक्षा, उत्तर पुस्तिकाको सुरक्षा एउटा पाटो हो । तर विद्यार्थीको ज्ञानको सुरक्षा जरुरी छ । उनीहरुले जानेको कुरा निर्भयता पूर्वक लेख्न पाउनु पर्छ विगत कक्षाका परीक्षाहरुमा जस्तै ।
विगतमा एसएलसी केन्द्रमा १० जना सुरक्षाकर्मी राख्ने गरेकोमा यसपाली बढाएर १५ पुर्याइएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका शब्दमा सुरक्षाकर्मी कमहुदा परीक्षा केन्द्रमा हो हल्ला हुने, विद्यार्थी आफन्तले बाहिरबाट चिट चोराउने घटना बढेपछि सुरक्षाकर्मी बढाइएको हो । ‘बिगतको भन्दा थप मर्यादित र शान्तपूर्ण वातावरणमा परीक्षादिने व्यवस्था गर्न सुरक्षाकर्मी थप गरिएको हो,’ उनले भने । उनका अनुसार यसपाली २७ हजार ९ सय ३० जना सुरक्षाकर्मी एसएलसीका लागि परिचालित हुदैछन् । प्रति सुक्षाकर्मी भत्ता पनि बढाएर १ सय ५० पुर्याइएको छ । र सुरक्षाकर्मीको भत्ता मात्रै करिब ४२ लाख रुपैंया खर्च हुन्छ । यो रकम एसएलसीलाई प्रश्नपत्र छाप्न पुग्ने पैसा हो ।
परीक्षा केन्द्रमा सुरक्षाकर्मी परिचालन गरेकै भरमा, विद्यार्थीलाई लाइन लगाएर नांगे झार पारेकै भरमा मात्रै सिकाइ उपलब्धि सही रुपमा मापन हुन्छ भनेर सोच्नू कुनै पनि शिक्षाको सिद्धान्तसित मेल खाने विषय होइन । समस्या पक्कै छ, शिक्षक, अभिभावक, विद्यलाय सञ्चालक आफ्ना विद्यार्थीलई चिट चोराउन निर्लज्ज भएर आफैँ अघि सर्छन् । यो निर्लज्जतामा पनि राज्यकै एसएलसी धंगधंगीको हात छ । जुनदिन एसएलसी केही होइन, अरु कक्षाको परीक्षा जस्तै परीक्षा हो भन्ने पर्छ त्यस दिन देखि न कसैले चिट चोराउँछ न कसैले चोर्छ । यो ज्ञान शिक्षा मन्त्रालय र उच्च अधिकारीहरुलाई जति सक्दो छिटो आयो भने एसएलसी त्रासको धंगधंङीबाट सबैले छिटटै छुटकारा पाउन सक्न् ।
विद्यार्थीले हिजो जसरी परीक्षामा तयारी गर्थे एसएलसी वा कक्षा १० को परीक्षमा पनि त्यस्तै तयारी गर्नुपर्छ । लाजमर्दो कुरा के भने यति भनिदिने शिक्षक छैनन् । विद्यालय सञ्चालक छैनन् । अभिभावक र आफन्त छैनन् । सबैको एउटै रटान छ, एसएलसी आएको छ विशेष तयारी गर ।
न उनीहरुले आफ्ना नानीहरुलाई त्यस अघि त्यसरी भनेका छन्, न एसएलसी सकिए पछिका परीक्षाहरुमा तिनले आफ्ना नानीहरुलाई परीक्षा छ विशेष तयारी गर भन्ने छन् । किन भने त्यस बाहेकका परीक्षामा राज्यले त्रास आतंक एसएलसीमा जसरी फैलाइ सकेको छैन ।
हरेक विद्यार्थीले हरेक तहका हरेक परीक्षामा उच्च र विशेष तयारी गर्नु पर्छ । एसएलसी मात्रै के के न हो जसरी ठूलो धन राशी खर्चेर राज्य स्तरबाटनै होहल्ला, दौडादौड र अनावश्यक प्रचारवाजी जरुरी छ ?
यो पनि पढ्नुहोस् एसएलसीलाई अनावश्यक महत्व !
तस्बिर : ईन्टरनेट
प्रतिक्रिया