Edukhabar
विहीबार, २९ कार्तिक २०८१
अन्तैवाट

विद्यार्थी शून्य, शिक्षक आठ

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौं ५ चैत / विद्यार्थी एउटै छैनन् । तर, शिक्षक भने ८ जना छन् । कक्षा ७ सम्म पठनपाठन हुने हुम्डे निमावि मनाङ्को नियति हो यो । कक्षा ७ मा १ जनामात्रै विद्यार्थी रहेकामा उत्तीर्ण भएर अन्नपूर्ण मावि मनाङ गाउँ गएपछि विद्यार्थी नभएको प्रधानाध्यापक रुद्रनाथ पौडेलले बताए । ‘अहिले हामी शिक्षकमात्रै छांै,’ उनले भने ।

पौडेलका अनुसार अहिले भर्ना अभियानको समय हो । फागुन १ देखि हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । तर, यहाँ चैत १ गतेदेखि पठनपाठन सुरु हुन्छ । ‘बस्तीमा यहाँ आउने खालका विद्यार्थी छैनन्,’ उनले भने, ‘अभिभावकले विद्यार्थी सहरका बोर्डिङमा राखेका छन् । पारिपट्टिको तिब्बती भाषा पढाउने विद्यालयमा लगेका छन् । कोही लामा पढ्न गएका छन् ।’

बाल विकास केन्द्रमा ६ बालबालिका छन् । उनीहरू कहिले आउँछन्, कहिले आउँदैनन् । कक्षा १ मा भर्ना हुने उमेरका छैनन् । तिनलाई पढाउने सहयोगी शिक्षक दरबन्दीका पनि होइनन् । ‘विद्यार्थी नभएपछि साथीहरू काज मिलाएर यहाँभन्दा सुगममा गएका छन्,’ उनले भने, ‘हामी यहाँ जति छौँ, हाजिरमात्रै गरेर बस्ने हो ।’

२ स्थानीय शिक्षक छन् । ती पनि प्राय: विद्यालयमा देखिँदैनन् । स्थायी ५ र अस्थायी ३ गरी ८ जनाको दरबन्दी छ । यीमध्ये गौरीशंकर निमावि तिमाङमा २, मनसुरी निमावि नाचैमा १ र मस्र्याङदी प्रावि खोत्रोमा १ जना काज सरुवा भएका छन् । जिल्लाको तल्लो भेगमा पर्ने यी विद्यालय हुम्डे निमाविभन्दा सुगममा पर्छन् । ‘साथीहरू खाजा खान घर गए,’ मंगलबार दिउँसो १ बजेको समयमा विद्यालय पुग्दा प्रधानाध्यापक पौडेलले भने, ‘अहिले ममात्रै छु, विद्यालयमा कोही छैनन् ।’

विद्यालय ०३८ सालमा स्थापना भएको हो । ‘०५९ सालमा म आउँदा ४० विद्यार्थी थिए । त्यसपछि घट्दै गए, बढेनन् । झन् अहिले विद्यार्थी नै छैनन्,’ पौडेलले भने । पछिल्लो समय यहाँ पढ्दै आएका केही विद्यार्थी पनि स्थानीय होइनन् । कामका लागि बाहिरी जिल्लाबाट आएका कामदारका छोराछोरी हुन् । गत शैक्षिक सत्रमा कक्षा ७ पास भएका सर्गम रोका रुकुमका हुन् । यसअघि ०७० मा सुनिता विक र उनकी बहिनी सरिता कक्षा ६ मा सँगै थिए । ‘सुनिता ६ कक्षामा पढ्दापढ्दै १४ वर्षमै बिहे गरिन् । सरिता अहिले अन्नपूर्ण माविमा कक्षा ९ मा पढ्छिन्,’ उनले भने ।

अभिभावकले छोराछोरीलाई सहरमा पढाएका छन् । नसक्नेले नजिकै तिब्बती भाषा पढाउने विद्यालयमा राखेका छन् । त्यहाँ खान, लाउन र बस्न नि:शुल्क छ । ‘यहाँका विद्यालयमा कहिले पढाइ हुन्छ, कहिले हुँदैन । विद्यार्थीको भविष्य विग्रन्छ,’ एक अभिभावकले भने । उनका अनुसार कक्षा ७ पास गरेपछि २/३ घण्टा हिँडेर मनाङ गाउँ पुग्नुपर्छ । ‘त्यहाँ पनि पढाइ यस्तै हो । जाडो हुन्छ । हिउँ पर्छ ।

कान्तिपुरमा आश गुरुङले लेखेका छन् ।

प्रतिक्रिया