Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

जडौरी शैक्षिक योजनामा रुमल्लिने की गरीखान सक्ने शिक्षामा जाने ?

मंगलबार, ०२ चैत्र २०७२

- पेशल आचार्य / पढेलेखेका मानिस जुत्ता सिउन किन मन गर्दैनन् ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्यास, प्रेसर कुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ?

उत्तर स्पष्ट छ :

पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने संस्कार हामीमा झुण्डिएको छ । यही मानसिकताले हामीलाई प्रमाणपत्रहरू काखी च्यापेर बाँच्न सिकाएको छ न की उद्यम गर्न  !

जुनसुकै काम सिके पनि मानिसले त्यसबाट प्रशस्त पैसा कमायो भने ऊ आफ्नो कामप्रति अधिक सन्तृष्ट हुन्छ । शिक्षाले दिने अनेक कुराहरू मध्ये सन्तुष्टि पनि हो । जो मानिसले आफूले गर्ने काममा पाउँछ । अझ त्यो काम उसको आफ्नै छनोटको भयो भने त झन् सुनमा सुगन्धै हुन्छ ।

प्राविधिक र साना भनिएका काममा पैसा छ । जोसँग सीप छ उसले काम पाइरहेको छ अनि जोसँग तालिम र सीप छैन उसले काम पाउँदैन । केही कामका लागि तालिम र सीप आवश्यक भएका विज्ञापनले पनि यो कुरा पुष्टि गरिरहेको छ ।

भन्न त मानिसहरू रोजगारी पाउन सोर्सफोर्सले काम गर्छ भन्छन् र कतिपय ठाउँमा यो कुरा चरितार्थ पनि भएको छ । तर कुशाग्र बुद्धि भएको मानिसका लागि वा सीप र तालिमले तिखारिएको मानिसका लागि उसको क्षेत्र संग सम्बन्धित रोजगारीमा प्रतिस्पर्धा कम हुन्छ । उसको आफ्नो प्रतिस्पर्धा आफैँ सँग हुन्छ ।

संसारका सबै दर्शन र सिद्धान्तको सार भनेको –मानिसको सुख र आनन्द हो । भौतिकवादको आदि होस् या अध्यात्मवादको अन्त्य सबैको उपसंहार भनेकै –आनन्द उर्फ परमानन्द हो । असीम तुष्टि । परम् सन्तुष्टि । कोही कसैको पनि विचार समग्रमा आजसम्म एउटा मानिसको विपक्षमा छैन र हुनु हुँदैन । सारमा । या संसारमा ।

पूर्वीय धर्मशास्त्रको आदिग्रन्थ वेदले ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःख भाग्जन’ भनेर संसारका सबै मानिसहरू सुखी हुन्, दुखीया कोही नहून्, सबैको कल्याण होस् र सबै आनन्दमा रहून भनेको छ ।

मानिसले दसबीस वर्ष परिश्रमपूर्वक साधना गरी अहोरात्र खटेर पसिनाको भाग लगाएर लिएको शिक्षाले उसको पछिल्लो जीवनमा काम गरेन भने त्यसले उसको सफल मानसिकतालाई सम्बोधन गर्न सक्दैन । एक त शिक्षा उधारो प्रक्रियाका रूपमा हाम्रो देशमा भैरहेको छ । आज लगानी गर भोलि भए खाऊँला ।

एकजना मेरा मित्र हुनुहुन्छ वहाँ आफ्ना सन्तानमा गरेको शैक्षिक लगानीलाई सोरैआना जोखिमयुक्त लगानी भन्नुहुन्छ । नेपाली परिवेशमा नराम्रो भयो भने कामै पाउँदैन र राम्रो भयो भने विदेश गैहाल्छ । बस् । यो सामान्य सोच मात्र हो । 

एउटा व्यक्तिलाई त्यस्तो शिक्षा दिनु प¥यो कि उसको शिक्षाले उसलाई जीवनभरि रोजगारी र अवकासीय जीवनमा पेन्सनको सुविधा दिन सकोस् । नदी बगेजस्तो सततः ।

प्राविधिक शिक्षाले मानिसलाई आधिकाधिक सन्तुष्टि दिन्छ । सीपले । रोजगारीले । पैसाले । जीवनोपयोगी शिक्षाले अनुकरणीय अवस्थाको स्थापना गरिदिन्छ । 

पढेर मात्र केही हुनेवाला छैन यदी उसले समयानुकूल सीप भएको शिक्षा पाएन भने । कामले कुनै पनि मानिसलाई जीवन जीउन सक्ने स्रोत दिन्छ । पढेर सरक्कै त्यसै अनुसारको काम एउटा मानिसले पायो भने ऊ सन्तुष्ट हुन्छ । पहिलेको जमानामा पनि सानोतिनो कुटिर उद्योग संचालन गर्ने खालका जीवनोपयोगी शिक्षा दिने संस्था र निकायले विस्तारै विस्तारै भए पनि प्राविधिक शिक्षा दिन थालेका थिए ।

शिक्षा भनेको पहिले पहिले विकासको पूर्वाधार भएको कुरा बताइन्थ्यो तर अहिले शिक्षालाई अधिकारका रुपमा लिइन्छ । अधिकारको कुरा गर्ने सन्दर्भ चाहिँ विकासे संस्थाहरूको काउन्सिलिङ्ले ल्याएको हो ।
चाहे जे होस् संसारको मुहार फेरेको नै शिक्षाले हो । जसले समयानुसारको शिक्षा लिन सकेको हुन्छ । उसले आफ्नो भविष्य पनि निकै उज्यालो बनाउँछ । शताब्दी÷सहस्राब्दीको परिवर्तनसँगै समयले विज्ञान र प्रविधिको निकै विकास गरेको छ ।

पूर्वमा ज्ञानगंगा रसाएको थियो भने पश्चिममा विज्ञानको आकासगंगा फैलिएको थियो ।

शिक्षाको इतिहास मानव सभ्यताको इतिहास जत्तिकै पुरानो छ । विश्वको पहिलो प्रकाशित पुस्तक चीनको ‘हिरक ग्रन्थ’ हो । यो इसापूर्व मै प्रकाशित भैसकेको थियो । समयान्तरमा मानिसहरू कागजमा प्रकाशित पुस्तकको भर नपर्ने भएका छन् । अहिले ‘इ बुक’ को चलन चलेको छ । यसो भएर पनि विश्वमा छापिएको पुस्तकको माग भने घटेको छैन । ‘मानिसको विकास शिक्षाबाट र बिरूवाको विकास आधुनिक कृषि प्रविधिबाट भएको हो’ भनेर भारतका आधुनिक विद्वान् जेके कृष्णमूर्तिले भनेका छन् । मानिसले प्राप्त गरेको बुद्धि र विवेकबाट नै यो संसारमा भएका सबै प्राणी भन्दा ऊ उच्चकोटीको प्राणीमा दरिएको हो । प्रकृतिले मानिसलाई जति सीप दिएको छ त्यो अन्य प्राणीलाई दिएको छैन ।

कसैलाई भुक्ने, कसैलाई सुँघ्ने, कसैलाई मिठो स्वर अनि कसैलाई दौडने शक्ति दिए पनि मानिसलाई चाहिँ यी सबै शक्तिको एकमुष्ठ स्वरूपमा बुद्धि दिएको छ । यही बुद्धिका कारण मानिसले संसारमा यतिविधि विकासका झाँकीहरू प्रस्तुत गर्न सकेको छ । यो उसकै मानस शक्तिका कारण भएको हो ।

यही माहौलमा समयले पखेँटा चाल्यो । सभ्यताले टाप कस्यो । अहिलेको संसारिक गति हेर्ने हो भने हामी प्रविधिको चकाचौँध विकासमा मानिसले गर्न नसकेका कुराहरूको लेखाजोखा मात्र गर्ने हो भने पहिलेको समयभन्दा निकै प्रगति पाउँछौं । कुरा के भने वर्षे भेल तर्न नसकेर वाल्ल परेर खोलाको वारिपट्टि नै उभिने मानिस अब चन्द्रमामा पुग्ने भएको छ । ज्ञानात्मक शिक्षा लिने मानिसहरू चन्द्रमालाई अर्घ चढाइरहेका छन् भने प्रविधिमूलक शिक्षा लिने मानिसहरू चन्द्रमामा गएर त्यहाँको मज्जा लिन सक्ने हैसियतका भैसकेका छन् ।

भलै, यो अवस्था धनी र विकसित देशका मानिसमा छ, तर उपभोगका हिसावमा त केही समय अघि सम्म पुजिने चन्द्रमामा मान्छे पुगिसकेको छ नी ! 

त्यसैले, शिक्षा प्रसारका बाटामध्ये अहिलेको महत्वपूर्ण बाटो भनेको प्राविधिक शिक्षा हो । मानिसले जीवनसँग जोड्ने शिक्षाका रूपमा लिएको र विगत् निकै समय देखि अब्बल शिक्षा भनेर मानिएको प्राविधिक र व्यावसायिक शिक्षाका रूपमा लिइएको यो पाटोलाई अहिले जीवनसँग जोड्नेहरूले पनि यसैमा बढीसेबढी वकालत गर्न थालेका छन् ।

विकसित देशको व्यक्तिको शिक्षाले उसलाई उसको कामसँग जोडेको हुन्छ । इच्छासँग जोडेको हुन्छ । बजारमा विकसित भएका प्रविधि र विधिसँग जोडेको हुन्छ । बजारले जे माग्छ त्यो विद्यालय र विश्वविद्यालयमा सिकाइन्छ । यो अहिलेको संसारको पद्दति हो । नेपालजस्ता गरिब र विकासोन्मुख देशमा चाहिँ अहिले पनि सैद्धान्तिक शिक्षा कै रट लगाइएको छ ।

जनतालाई चाहिएको रोजगारी या स्वरोजगारीको सन्दर्भमा उनीहरूलाई बेवास्ता गरिएको छ । यो त भयो बास्वविकता । अब भविष्यको योजना चाहिँ के छ त ? भन्दा पनि यथास्थितिको अवस्था अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण भएको यो व्यवस्थासँगै विद्यमान छ ।  

के सम्भव छ जीवनोपयोगी शिक्षा ?

यो हाम्रो देशका लागि निकै दशकदेखिको टाउको दुखाइको विषय हो । नेपालमा शिक्षा र चेतनाका कुरा गर्दा राणाकालको इतिहासलाई नै मन लगाई नलगाई पल्टाउनु पर्ने हुन्छ । जङ्गबहादुरले तीन महिना लगाएर बेलायत यात्रा गरेपछि शिक्षा चाहिने रैछ भनेर विसं १९१० तिर ‘दरबार हाइस्कुल’ स्थापना गरे ।

आफ्नै सन्तानलाई मात्रै भएपनि अङ्ग्रेजी शिक्षा र आधुनिक विश्वको चेतना संप्रेषणार्थ जङ्गबहादुरले दाखचोकमा दरबार हाइस्कुलको स्थापना गरे । कालान्तरमा त्यसले देशभरि नै चेतनाको उभार ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा मद्दत गरेथ्यो ।

वि.सं.२००२ सालतिर नेपालको कूल साक्षरता २ प्रतिशत मात्रै थियो अर्थात् एकसय जना मानिसमा अन्ठानब्बे जना मानिसहरू निरक्षर थिए । हुन त त्यसै बेलामा हाम्रा बूढापाकाहरू ‘पढी गुनी कुनै काम हलो जोती खायो माम’ भन्थे । बाँकी २ जना मात्रै साक्षर थिए –सयको समूहमा । यो एक प्रकारले कहालीलाग्दो अवस्था थियो । यस्तो अवस्थाले नेपालको शैक्षिक जगत्को टिठलाग्दो अवस्था चित्रण गर्दथ्यो । बास्तविकता पनि यही थियो । 

सात सालको राजनीतिक परिवर्तन र सत्र सालको राजनीतिक घटनाका विचमा अहिलेको जस्तै संक्रमण थियो । त्यति बेला भएका करिबकरिब सबै शैक्षिक संस्थाहरूलाई धुकधुकी जोगाएरै थेग्ने काम मात्र भएको पाईन्छ । अर्थात् राजनीतिक परिवर्तन पछि पनि शिक्षामा ह्वात्तै विकास भएको पाइदैँन ।

नेपालमा सैद्धान्तिक शिक्षा उन्मुलन आवश्यक छ ?

नेपालमा अघिअघि ल्याइएका शिक्षाका पुराना जडौरी प्रकारका योजनाका लागि मात्र योजना बन्ने कार्य प्रणालीलाई अब बन्द गरी नयाँ र समुदायमा आधारित प्राविधिक शिक्षाको महाअभियानलाई थाल्न ढिलो भैसक्यो । अहिले गाउँमा सैद्धान्तिक शिक्षा र सहर बजारमा चाहिँ प्राविधिक र जीवनोपयोगी शिक्षा दिने परिपाटी अलि क्रियाशील भएकाले पनि गरिब र सीमान्त वर्गका मानिसहरू शिक्षाको मोडलबाट निराश भएका हुन् ।

यो प्रक्रियाले हेर्दा पनि अहिले गरिब, दलित, जनजाति, छेउ लागेको वर्ग र सीमान्तकृत वर्गलाई प्राविधिक शिक्षाले सम्बोधन गर्दै गएन भने अब अचेतनशील मानिसको दृष्टिमा फेरि शिक्षालाई उही धनी र हुनेखाने वर्गको कुरा गर्ने साधन मात्र भन्ने बुझिन सक्छ । 

प्राविधिक शिक्षा स्थापनाका केही नौला र मौलिक उपायहरू :

– मुलुक संघीयतामा गएको सन्दर्भलाई मध्य नजर गर्दै हरेक संघीय राज्यमा साना, मझौला र ठूला जनशक्ति उत्पादन गर्ने खालका प्राविधिक शिक्षालयहरूको स्थापना गरेर ।

– समावेशी प्रजातन्त्रको अवधारणालाई मूर्तरूप दिन गरिब, दलित, जनजाति, सीमान्तकृत, मधेशी र छेउ लागेको वर्गका व्यक्तिलाई प्राविधिक शिक्षामा ल्याएर र शिक्षालाई जीवनसँग जोड्न जुन भूगोलमा जे हुन्छ त्यहाँ त्यही पढाउने जस्तै ः सुनसरीमा माछापालन र तरकारी खेती, सिन्धुलीमा सिन्कौली, रामेछापमा जुनार, सोलुमा पर्वतारोहरण र पर्यटन, कास्कीमा होम स्टे, मनाङ र मुस्ताङमा साहसिक पर्यटन, पश्चिमी पहाडी जिल्लामा यार्सागुम्बा आदि । 

– प्राविधिक शिक्षालाई मध्यनजर गरेर राष्ट्र सेवा र विविध कार्य प्रकृतिको संयोजन गर्नुपर्छ ।

– व्यक्तिलाई उसको बसोबास भएको क्षेत्रको भूधरातलीय स्वरूप अनुसारको शिक्षा र सीप दिने । जस्तै ःतराईमा हुने प्रकारका बालीनालीलाई तराईमा पढाइलेखाइ गर्नुपर्छ । त्यसैगरी पहाडका चिजबिजहरू पहाडमा उत्पादन गर्न सकेर निर्यात गर्न सकिएको खण्डमा धेरै उपयोगी हुन्छ । हिमालका वस्तुहरू हिमाली क्षेत्रमा नै पढाइ हुनुप¥यो ।

– अहिलेको समयमा दूध, मासु, अण्डा र फूलखेतीमा देशलाई आत्मनिर्भर बनाउने हो भने देश दिन दुगुना रात चौगुना धनी हुन्छ ।

– साना जलविद्युत, पिउने पानी, फलफूल, तरकारी, माछा, सांस्कृतिक सिनेमा, डक्युमेण्ट्री निर्माण, कम्प्युटर प्रोग्रामजस्ता कुराहरूमा अब मध्यम र उच्च जन शक्तिका सीपहरू दिएका खण्डमा देश दुईचार दशकमै धनी बन्छ ।

– राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्ने । खेल पर्यटनमा ध्यान दिन बन्जी जम्प, रेसलिङ् र हिउँ स्कीजस्ता खेल कार्यक्रम देशीय रूपमै अगाडि बढाउने ।   

– पर्यटनमुखी अर्थतन्त्रको विकासमा आधारित शिक्षानीति ल्याउनुपर्छ अहिले भएको पुरानो र सिद्धान्तमुखी पाठ्यक्रमलाई तुरुन्तै हटाउनु पर्छ । च्यातेरै फाल्नु पर्छ ।

– श्रमलाई सम्मान गर्न सक्ने खालको शिक्षालाई अनिवार्य गर्ने । जस्तै ः पत्रकार, शिक्षक, वकिल र प्राध्यापकलाई पार्ट टायम जब गर्न सक्ने संस्कृतिको आरम्भ गर्ने । 

– जनतालाई अनिवार्य रूपमा साक्षर र केहीलाई विशिष्ठ खालको सैद्धान्तिक शिक्षा, रूचि भएका तमाम मानिसलाई सीप भएको शिक्षा अनिवार्य रूपमा दिने ।

– नदीका बगरमा सामूहिक प्रकारले सहकारीको माध्यमबाट लसुन, प्याज, गोलभेडा, सिमसारका सागहरू, लौका, फर्सी, खोर्सानी, परबरजस्ता महँगा तरकारी खेती वा तरभुजा, खरभुजा, काँक्रा र खिरा खेती गर्ने ।

– युवा युवतीलाई मौरीपालन, बट्टाईपालन, फूलखेती, फलफूल खेती, च्याउ खेती, गाईभैँसी पालन, बाख्रा पालन र धरातलीय स्वरूप फरकफरक खालका भएका स्थानमा फलफूल खेतीमा अनिवार्य रूपमा लगाउन तालिम र सीपको विकास गराउने व्यावसायिक शिक्षा दिने ।

– वृद्धवृद्धा, महिला, अशक्त, गरिब र निमुखालाई उनीहरूको मानवीय ऊर्जा प्रयोग हुने खालको सीप र तालिम दिने । जस्तै ः बत्ती कात्ने, धूप बनाउने, मैनबत्ती बनाउने, हातले बनाएका दुना, टपरी र बोहोता बनाउने काममा र लुगामा टाँकघर हाल्ने, उन्नेतुन्ने काम, आइरन लगाउने, बगैँचामा पानी हाल्ने, फूलहरू गोडमेल गर्ने र अन्य हाते काम लगाउन सकिन्छ ।

– पहाडी र हिमाली क्षेत्रका नाङ्गा डाँडामा अनिवार्य रूपले फलफूल खेती गर्ने, वृक्षरोपण गर्ने, भूगोल र हावापानी हेरी चिया, अलैँची, अदुवा, बेसार, अम्रिसोजस्ता घाँसे वनस्पति, बयर, सतिबयर, चिउरी र अन्य प्रकारका रूख रोप्ने कार्यलाई अभियानका रूपमा लैजाने । 

– सामुदायिक वनमा आधारित साल र सखुवाका पातमा आधारित वृहत् प्रकृतिका दुनाटपरी उद्योग तराई, भित्री मधेश र पहाडी जिल्लामा सहकारीका रूपमा खोल्ने  ।

– नेपालले ‘प्याटेन्ट राइट’ लिन नसकेका तर उत्पादन गरी निर्यात गर्ने गरेका लप्सी, आँप, अम्बा, गुन्द्रुक, मोरब्बा, नेपाली कागज, अकबरे खोर्सानी र बेसारजस्ता कुराहरूमा नेपाली उत्पादनको अधिकार लिने ।

– विश्व खेल जगत्लाई आवश्यक खेल प्रविधि, खेल सामग्री र खेलाडीहरू नेपालबाट उत्पादन गर्दै नेपाली भूमिमा अब क्रमशः खेलकुद विद्यालयहरूको स्थापना गर्ने ।

– माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूलाई क्रमशः एकातिर साक्षर र अर्कोतिर पेशागत विद्यालयको अवधारणा अनुसार रूपान्तरण गर्दै लैजाने ।

– फूटबल, भलिबल, हेण्डबल, बास्केटबलजस्ता व्यावसायिक र कपर्दी, भेडीगाँठो, काकाजोरी बिजोरी, तेलकासा, लठ्ठीकासा जस्ता गाम्रीण जनजीवनका खेलहरूलाई नयाँ ढङ्गले व्यवसायीकरण र व्यापारीकरण गर्दै जाने ।

– नेपाली लोकजीवनमा आधारित कथा, मुन्धुम, आख्यान, उपाख्यान, मिथक, जनश्रुति, लोकाख्यान र जनजातीय गाथा बोकेका बालोपयोगी कार्टून चलचित्र र युवामुखी तथा वयश्कमुखी एनिमेटेड चलचित्र बनाएर विश्व बजारमा लैजाने ।

– सांस्कृतिक र पर्यटनमुखी वृत्तचित्रहरुको निर्माण गर्ने र त्यस्तो निर्माणलाई सरकारबाट अनुदान दिने । त्यस्ता पढाइ हुने खालका विद्यालय एवम् क्याम्पसहरूको स्थापनामा विदेशीहरूको सहयोग सहित विदेशी विश्वविद्यालयहरूसँग सम्पर्क राखी सम्बन्धन लिई काम थाल्ने ।

– भीरमौरी काढ्नेहरूको, राउटेहरूको कथा र बूढापाकाहरूको अचम्मका रमाइला लोककथा, गाउँखाने कथालाई सिनेमा बनाएर खिच्ने । जसबाट नेपालीले काम र नाम  दुवै पाउँछन् । साथै विश्वका ओस्कार र अन्य विश्वप्रसिद्ध पुरस्कारहरू पाउने खाले रणनीति बनाउने ।

– कृषि क्षेत्रको गाउँ पत्रकारिताको आरम्भ गर्नुपर्छ । जसमा नामुद् र हिरो कृषकका कथा, जीवनी, अन्तरवार्ता, लेख र फिचरजस्ता सामग्रीले खेतीपाती, बजार विस्तार र कृषि कार्यको व्यापारीकरणलाई अघि बढाउन ठूलो टेवा दिनसक्छ ।

प्राविधिक शिक्षाको यो अवधारणा अनुसार अघि बढ्न कुनै वादी आवश्यक छैन । केवल विकासवादी इच्छाशक्तिका मानिसहरू नेतृत्वमा पुगे हुन्छ ।

[email protected]  

प्रकाशित मिति २०७२ चैत २ गते         
                       

प्रतिक्रिया