Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिम्मेवारी नभुल्न शिक्षकलाई दाहालको आग्रह

आइतबार, ३० फागुन २०७२

काठमाडौँ, ३० फागुन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शिक्षकले राजनीति गरे पनि आफ्नो जिम्मेवारी भुल्न नहुने बताएका छन् । शिक्षकले राजनीतिक जागरण ल्याउन प्रमुख भूमिका खेल्ने भए पनि पठनपाठनमै बढी ध्यान दिुनपर्ने उनको भनाइ थियो । 

अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त रूपमा आयोजना गरेको संघीय संरचनामा विद्यालयीय शिक्षा व्यवस्थापन विषयक गोष्ठीमा दाहालले यस्तो बताएका हुन् । 

फरक राजनीतिक प्रसंगमा दाहालले प्राप्त उपलब्धि जोगाउन माओवादीहरूबीच एकता अपरिहार्य रहेको बताए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग एकताका लागि गृहकार्य भइरहेको जानकारी दिँदै उनले माओवादीबीच एकता हुन नसके प्राप्त उपलब्धि गुम्ने खतरा रहेको औंल्याए । 

कार्यक्रममा दाहालले नेपाली कांग्रेसका केही नेताले महाधिवेशनको मुखमा संघीयता र धर्मनिरपेक्षताविरुद्ध अभिव्यक्ति दिएको भन्दै कडा आलोचना समेत गरे ।  सोही कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमाओवादीसँग एकताका विषयमा कार्यदिशा जनवाद हुने कि समाजवाद हुने भन्नेमा छलफल भइरहेको र संविधानलाई हेर्ने दृष्टिकोणमा अझै सहमति हुन नसकेको बताए ।  

उनले जनवादी व्यवस्थामा मात्रै सबै नागरिकलाई शिक्षामा समान अवसर हुने बताउँदै त्यस्तो व्यवस्थाका लागि शिक्षकले समाजमा जागरुकता ल्याउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।  शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा क्षेत्रको समस्या समाधान गर्न राष्ट्रिय शिक्षक आयोग गठनको तयारी भइरहेको जानकारी दिए । 

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया