Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

दाताको खर्चबाट विद्यालय भवन निर्माण

आइतबार, ३० फागुन २०७२

काठमाडौँ, ३० फागुन । पोखराका एक दाताले रु एक करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथ नगरपालिका मोहरियामा एक निम्न माध्यमिक विद्यालयको दुईतले १२ कोठे भवन बनाई दिएका छन् ।  पोखरा उपमहानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी हिजो एक समारोहका बीच साँचो विद्यालयलाई हस्तान्तरण गरे । 

विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहुने र वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले विद्यालयको भवन बनाइ दिएको हो ।  

आफूलगायत परिवार तनहुँको डुम्रे बजारमा बस्दै आएकामा २०३८ सालमा घरमाथिबाट पहिरोसँगै माथिबाट ढुङ्गा खसेर आफ्ना बुबाआमा, एक भाइ र दुई बहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा आएको र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा बचाएर पढ्न दुःख पाएका विद्यार्थीलाई केही सजिलो होस् भनेर विद्यालय भवन बनाइदिएको दाता सनतले बताए । 

ठूलो निजी खर्च सहयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले पनि नवज्योति निमाविलाई दाताहरुको नाम थपेर विद्यालयको नाम नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ ।  शिक्षा सचिव विश्वप्रकाश पण्डितले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरुको सहयोगबाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन निर्माणमा टेवा पुग्ने बताए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरीता त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुुप्रसाद अधिकारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विद्यालयबारे आफ्नो धारणा राखेका थिए । 

रासस 

 

प्रतिक्रिया