Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

प्रधानन्यायधिस श्रेष्ठले भने ‘जीवन र दर्शनको शिक्षा भएन’

आइतबार, ३० फागुन २०७२

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालतका प्रधानन्यायधिस कल्याण श्रेष्ठले वर्तमान शिक्षा जीवन र दर्शन अनुसारको हुन नसकेको बताएका छन् ।  राजधानीको भृकुटीमण्डपस्थित रामशाह पथमा अवस्थित पद्मोदय उच्च माध्यामिक विद्यालयको ७० औँ बार्षिकोत्सवका अवसरमा पद्मोदय पूर्व विद्यार्थी संघले शनिबार आयोजना गरेको ‘पुर्नमिलन तथा सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानन्यायधिस श्रेष्ठले यस्तो बताएका हुन् । 

‘देशको आधारस्तम्भ भनेका युवा विद्यार्थी खोई ? तर सबै यता पढ्दै विदेशका कलेजहरु ताकिरहेका छन्’ उनले भने ‘यता लगानी गर्ने तर परिणाम खाडी र विदेशी मुलुकलाई दिने काम भइरहेकोे छ । त्यसैले नेपालमा जीवन र दर्शनको शिक्षा नै भएन ।’   मुलुकको चिनारी र विकासको प्रमुख आधार सामुदायिक शिक्षाको अवस्था दयनीय भन्दै प्रधानन्यायधिस श्रेष्ठले गहिरो चिन्ता व्यक्त गरे । 

‘कुनै पनि मुलुकको विकास र समृद्धिको चिनारी भनेको सामुदायिक शिक्षा हो । तर हाम्रो सामुदायिक शिक्षा दयनीय अवस्थाको छ । किन यस्तो भइरहेको छ ? मुलुकको प्रमुख चिनारी सामुदायिक शिक्षा कुन कारणले खस्किरहेको छ ?’ उनले प्रश्न गरे । 

नेता भए, सही नेतृत्व भएन 

प्रधानन्यायधिस श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर खस्किनुमा अहिलेको राजनीतिक नेतृत्वमा नेतृत्व क्षमता नभएको पनि दाबी गरे ।  ‘अहिले हरेक क्षेत्रको अवस्था एउटै छ । विकास भएन, राजनीति मात्र भयो । हामीकहा लिडर धेरै भए तर लिडरशिप कोहीमा भएन । जबसम्म नेतृत्वमा नेतृत्व गर्ने क्षमता र त्यसको परिणाम आउँदैन् ।  तबसम्म हाम्रो शिक्षाको गुणस्तर विकास र सुधार हुन सक्दैन् ।’ उनले भने ।

नेतृत्वले गर्दा नै परिवर्तन र विकास हुने भन्दै उनले नेतृत्वकर्ताहरुमा नेतृत्व क्षमताको विकास र त्यसको सही अभ्यास नभएकाले शिक्षाको अवस्था दयनीय भएको बताए ।  सामुदायिक विद्यालयहरुमा पढेकाहरु नै मुलुकको नेतृत्वमा भएपनि उनीहरुको योजना र शैली राजनीतिक भईदिदाँ समस्या आएको उनको भनाई थियो ।

‘यदि हामीले सुधार गर्ने हो भने कुनै लामो समय पर्खिनुपर्दैन । तर सुधार गर्ने नेतृत्व नै अरुको मुख ताकेर बस्छन् । अनि कसरी सुधारको आश गर्ने ? मुलुक सञ्चालन गर्ने मुख्य क्षेत्रकै महानुभावहरु यहाँ हुनुहुन्छ । जो सामुदायिक विद्यालयबाटै आउनु भएको हो । तर तीनै सामुदायिक विद्यालयहरु किन यति दयनीय अवस्थामा पुगे ? मुलुकका दक्ष जनशक्तिहरु दिनहुँ विदेश पलायन हुदाँ पनि कसैले किन चासो राखेन ? यी सबैका पछाडी हाम्रो देशमा नेताहरु धेरै भए तर नेतृत्व गर्ने क्षमता कसैसंग भएन ।’

नेपालको लगानी विदेशको तयारी 

करिब ५० जनाभन्दा बढी शिक्षा सरोकारवालाहरु सहभागी कार्यक्रममा आधा घण्टा जति बोलेका प्रधानन्यायधिस श्रेष्ठले मुलुकबाट दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकोमा त्यसलाई रोक्नुपर्नेमा जोड दिए । नेपालमा पढेर राम्रो विद्यार्थी बनेर मेहनत र पसिना विदेशमा बगाउनु नेपाल र नेपालीकै अपमान भएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

‘आज सबै जना एसएलसी, प्लस टु, ब्याचलर पढ्छन् तर विदेशको तयारी गरिरहेका छन् । सबैभन्दा बढी राज्यको लगानी भएको शिक्षा क्षेत्रको परिणाम विदेशीले पाउँछ । नेपालले बर्षौ लगाएर उत्पादन गरेको दक्ष जनशक्तिलाई विदेशी मुलुकहरुले भरपुर प्रयोग गरेर आफ्नो राष्ट्र निर्माण गरिरहेका छन् । तर हामी कहाँ कसैले पनि यो प्रश्न उठाएका छैनन् ?’ 

नेपालका विद्यालय कलेजमा पढेर पनि नेपालमा पर्याप्त अवसर नपाएर विदेश पलायन भएकाहरुले नै नयाँ नयाँ खोजी र आविष्कार गरेको भन्दै त्यसको उपयोग नेपालले गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालबाट पढेर गएकाहरुले नै विदेशमा नयाँ नयाँ अध्ययन र अनुसन्धान गरेका छन् । जसले विश्वलाई नै चुनौति दिइरहेका छन् । तर हामीकहाँ उनीहरुले किन यस्तो गर्न सकेनन् ? के कुराको कमी भयो ? सबैले ध्यानमग्न भएर सोचौँ’ उनले भने ‘यसलाई अहिले गम्भिर भएर सोचिएन भने भोली मुलुकले दक्ष जनशक्तिको ठुलो मुल्य चुकाउनुपर्ने हुनसक्छ ।’

कार्यक्रममा पूर्वमन्त्री लक्ष्मण घिमिरे, राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपाल, हास्यकलाकार हरिबंश आचार्य, नायक सरोज खनाल लगायत करिब ५० जनाभन्दा बढी पद्मोदय विद्यालय पढेका अहिले विभिन्न क्षेत्रमा कार्यरत रहेकाहरुको सहभागिता थियो । 

 

प्रतिक्रिया