Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

उल्टो उत्तर लेख्दा पनि शिक्षक दिन्थे 'फूल मार्क !'

शनिबार, २९ फागुन २०७२

नायक सरोज खनालको स्कुले जीवन र भोगाई यो साताको शनिवार विशेषमा :

- विष्णु विवेक / काठमाडौं - उल्टो उत्तर लेख्ने विद्यार्थीले कति नम्बर पाउँछ ? पक्कै पनि शून्य ! तर नायक सरोज खनालले पूर्णाङ्क पाए !

कक्षा १० को त्रैमासिक परीक्षा अन्र्तगत विज्ञान विषयमा चुनढुंगा बन्ने प्रोसेस र फर्मूला लेख्नु पर्ने प्रश्न आयो । उनले उल्टो उत्तर लेखेको त्यतिखेर चाल पाए जतिखेर उनकै हुवहु उत्तर सारेको साथीको शून्य नम्बर आएको देखे ।

तर आश्चर्य उनको त ५ मा ५ थियो  !

'जाचँमा चुनढुंगा बन्ने प्रोसेस र फर्मूला लेख्न भनिएको थियो । तर मैले त्यसको उल्टो प्रोसेस लेखेको रैछु, तर, सरले मलाई ५ मा ५ नम्बर दिनुभयो । किनकी सरोज खनाल राम्रै विद्यार्थी हो भन्ने विश्वास उहाँलाई थियो' उनले भने, 'म पनि पढाईमा राम्रै थिएँ । कहिल्यै फेल भइन । सरले त्यो प्रश्न नजाँचीकनै सिधै पूर्णाङ्क दिनुभएको रहेछ ।'

सरले जाँची सकेको कापी उनलाई फिर्ता गर्न मन लागेन, एक त पाईसकेको नम्बर फिर्ता हुने चिन्ता, अर्को सरको पनि बेईज्यत हुने डर । 'सरले जब जाँचेको कपी फिर्ता गर्नुभयो । मैले च्याप्प समातेर गोजीमा हालेँ । कसैलाई देखाइन' उनले हाँस्दै भने, 'देखायो भने त झन् सबले थाहा पाउथेँ ।’

एक कार्यक्रमका लागी अमेरिका गएका नायक सरोज खनाल १७ बर्ष उतै भासिएर गत बर्ष मात्रै नेपाल फर्किए । अमेरिका रहरले नभई वाध्यताले बसेको बताउने खनालको उक्त वाध्यताको ब्याख्या छ - छोराछोरीको पढाई र भविष्य !

उतै पढेका सन्तान मध्ये जेठो छोरा अमेरिकी सेनामा कार्यरत छन् भन्, कान्छो छोरा अहिले स्नातक तहको अध्ययन गरिरहेका उनी बताउँछन् । सन्तानको भविष्यले पोलेर अमेरिका भासिएका खनाल यतिखेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुरु गरेको नयाँ शक्ति नेपालमा आवद्ध भएका छन् ।

‘नेपालमा सिष्टम छैन । तर अमेरिकामा सबैलाई एकनास चल्न दिने सिस्टम छ । मेरो चाहना त एकपटक सबैलाई अमेरिका लैजाने छ । यदि म त्यो गर्न सक्छु भने एकपटक ३ करोड सबै नेपालीले अमेरिका हेर्नुपर्छ जस्तो लाग्छ' उनी भन्छन्, 'नेताले अमेरिका धेरै हेरे तर गर्न सकेनन् । देश सिष्टमले बनाउने हो । त्यो सिष्टम अमेरिकाबाट सिक्नुपर्छ ।’

नेपालको शिक्षा अमेरिकाको भन्दा कम नभए पनि शैक्षिक प्रणाली पुरानै ढर्राबाट चलेको उनको भनाई छ । ‘उच्च मावि शिक्षामा अमेरिका अगाडी छ । कारण त्यहाँ प्राविधिक विषयमा बढी जोड दिइन्छ । तर हामीकहाँ क्याम्पस तहको शिक्षा पुरै घोकन्ते छ' आफूले बुझेको नेपाल र अमेरिका विचको शिक्षाको भिन्नता बताउँदै उनी भन्छन्, 'बेसिक लेभलको पढाई नेपालमा कम छैन । तर यसलाई परिमार्जन गर्ने बेला भईसकेको छ ।’

अमेरिका र नेपालको शिक्षाको तुलना गर्दै गर्दा खनाललाई आफूले स्कुल पढ्दाका सम्झनाले डोहोर्यायो । ‘म त्यही ६/७ कक्षामा पढ्दाखेरी हो । म सानोमा निकै चकचके थिएँ । अनि कक्षा कोठामा पनि चलेर साथीभाइसंग जिस्किएर बस्ने बानी छँदै थियो । एक दिन सरले धेरै चलेको भनेर मलाई बेञ्चमाथी उभ्याउनु भयो । त्यसरी उभ्याएपछि कक्षाकोठाका अरु विद्यार्थी सामु लाज हुन्छ भनेर त्यसो गर्नुहुन्थ्यो । म लाजले भुतुक्कै भएँ, रातो पिरो भएँ ।’
चितवन, टाँडीको नेपाल माध्यामिक विद्यालयबाट २०३६ सालमा एसएलसी पास खनालले अमृत साइन्स क्याम्पसबाट कलेज जीवन शुरु गरे । अमृत साइन्समा भर्ना भएका उनले स्थानान्तरण गरेर त्रिचन्द्र क्याम्पसबाट आई.एस्सी. पुरा गरे ।

आमा बाबुको सपना डाक्टर बनाउने, उनको सपना चाँही आर्मी

'नलीहाड’ नाटकबाट अभिनयमा प्रवेश गरेका खनालको पहिलो फिल्म ‘विजय पराजय’ हो । करिब ३८ बढी फिल्म खेलिसकेका नायक खनालले किन विज्ञान विषय छाने त ? उनी भन्छन् ‘त्यतिबेला साइन्स पढनु भनेको ईज्यतको कुरा थियो, राम्रो विषय मानिन्थ्यो ।’ आमाबुवाको चाहना डाक्टर बनाउने आफ्नो सपना भने आर्मी बन्ने । यी दुई कुराको तालमेल मिलिरहेको थिएन ।

नेपाली समाजमा छोराछोरीलाई डाक्टर, इञ्जिनियर बाहेक अरु बनेको हेर्न नचाहने सोचाईमा परिवर्तन हुनुपर्ने उनको भनाई छ । ‘मेरो मनमा त अभिनय गर्ने चाहना पो रैछ, पछि अभिनयमा आइसकेपछि त्यो नेपाल आर्मी बन्ने सपना पनि हरायो ।’

डाक्टर बने हुन्थ्यो भन्ने परिवारको कुरा भएपनि डाक्टर नै बन् भनेर दबाब भोग्नु परेन । अभिनयमा आइसकेपछि परिवारमा सबै खुशी नै भए । 

यो घटनाले उनलाई राम्रो शिक्षा दिएको छ - छोराछोरीको रुचि हेरेर मात्र अगाडी बढ्नुपर्छ । जबर्जस्ती त्यै पढ भन्नु मुर्खता हो ।’

टोलैपिच्छे स्कुल, क्लिनिक र रेष्टुरेण्टको व्यापार

नायक खनाललाई काठमाडौँ र आसपासको एउटा विकृति देखि निकै चिन्ता लाग्छ । एउटा टोलैपिच्छे खुलेका प्राइभेट कलेज, क्लिनिक र रेष्टुरेन्ट । यी तीन कुराले उनलाई निकै अचम्म लाग्छ र संगै चिन्ता पनि ।
‘अमेरिकाबाट फर्केपछि मैले हरेक टोलमा कलेज, हस्पिटल र रेष्टुरेण्ट देखिरहेको छु । यो अचम्मको छ । शिक्षा जस्तो संवेदशिल विषयमा कुनै पनि नीति र पद्धति छैन । स्वास्थ्य पनि त्यस्तै छ । अनि बेस्वादको रेष्टुरेण्टहरु । कम्तीमा राज्यले एउटा सिमितता त ल्याउनुपर्यो । यस्तो व्यपारले गर्दा नै हामी शिक्षामा माथी उठ्न नसकेका हौँ ।’ उनले भने ।

कुनै पनि कुराको महत्व त्यसको आवश्यकता र उत्कृष्टतामा हने उनको बुझाई छ । 'तर हामीकहाँ जसले जे गरेपनि जसो गरेपनि कुनै रोकटोक छैन । यही अवस्था रह्यो भने भोली नेपालमा शिक्षा नै दुर्लभ हुन सक्छ । यस्तो विगविगीले गुणस्तरीय शिक्षामा ठूलो ह्रास ल्याउँछ ।’

सुधारका तीन तत्व

‘नेपालको शिक्षा सुधार्ने हो भने पहिला यहाँ पढेकालाई नेपालमै राख्नुपर्छ । सबै पढेकाहरु नेपालमा पर्याप्त अवसर नपाएर बाहिरिएका छन् । मैले त्यस्ता धेरै जनालाई अमेरिकामा भेटेको छु ।’ उनले गम्भिर भएर भने ‘हाम्रालाई छाडेर राम्रालाई मात्र रोज्यो र त्यस्ता मान्छेलाई शिक्षाको हरेक क्षेत्रमा स्थान दिने हो भने सुध्रन्छ । धेरै समय लाग्दैन ।’

अस्थिर राजनीतिले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको उनको भनाई छ । राजनीतिक संस्कार विगे्रेकाले नै शिक्षा विग्रिएको भन्दै यसलाई सुधार गर्नुपर्ने खनाल बताउँछन् ‘हाम्रो राजनीतिक संस्कार अहिले पनि ठिक छैन । त्यसैले पहिला राजनीतिक संस्कारसंगै शिक्षामा राम्रालाई मात्रै प्राथमिकता दिनुपर्छ ।’

शिक्षाको सुधारका लागी पाठ्यक्रम परिवर्तन र पढेकाहरुलाई नेपालमै अवसर दिनु पर्ने उनको भनाई छ ।

‘राम्रालाई अवसर दिएसंगै अर्को कुरा पाठ्यक्रम परिवर्तन गर्नुपर्छ । अहिलेको शिक्षाले हाम्रो सीप, क्षमता र आवश्यकतालाई परिपूर्ति गर्न सकेको छैन । त्यसैले अब हाम्रो नेपालकै परिवेशको पाठ्यक्रम चाहियो । किनकी यहाँ पर्यटन, कृषि, जलश्रोत आदीको पर्याप्त सम्भावना भए पनि शिक्षा नभएका कारण खेर गइरहेको छ ।

अनि अर्को भनेको पढेकालाई विदेश जान बन्द गर्नु पर्छ । नेपालमै उनीहरुलाई रोजगारी दिनुपर्छ । यति भएपछि शिक्षामा सुधार हुन्छ जस्तो मलाई लाग्छ’ उनले भने ‘पाठ्यक्रमकै कुराकानी गर्दा अब हरेक क्षेत्रका बारेमा किताब र शैक्षिक संस्था आवश्यक  छ । जस्तो अभिनय सिकाउने सरकारी शैक्षिक संस्था र पाठ्यक्रम अहिले पनि छैन । यस्ता धेरै विषय छन्, जहाँ पर्याप्त रुपमा राज्यको ध्यान नपुग्दा समस्या छ ।’

प्रकाशित मिति २०७२ फागुन २९ गते

प्रतिक्रिया