Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

'गुणस्तरीय शिक्षामा सधैं अग्रणी'

शनिबार, २९ फागुन २०७२

काठमाडौँ, २९ फागुन । मदन पुरस्कार गुठीका प्रवर्तक र रक्षक कमलमणि दीक्षितले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ुविश्वविद्यालयका कठिन यात्राका पाइलाहरूु पुस्तकमा गुणानुवाद लेखेका छन्। 

'शून्यबाट सुरु गरेर त्यस्तो, त्यत्रो विश्वविद्यालय खडा गर्नु चानचुने पुरुषार्थ होइन,' दीक्षितले लेखेका छन् । कवि चक्रपाणि चालिसेको १९९२ सालको गौंथली कविताका दुई हरफमार्फत दीक्षितले शर्मालाई गौंथलीझैं परिश्रमी मानेर उपमासमेत दिएका छन् । 'हातै नभै गउँथली बिचरी चरीले, मिट्टी चुनी महल पारि खडा चुचैले,' दीक्षितले संस्थापक उपकुलपति शर्माको प्रशंसा गर्दै लेखेका छन् ।

आफ्नै तागतमा बढी विश्वास गर्नुपर्छ भन्दै शर्माको समूहले सन् १९८५ मा काठमाडौं भ्याली क्याम्पस स्थापना गरेको थियो । त्यसको ६ वर्षपछि काठमाडौं विश्वविद्यालय ९केयु० लाई संसदले ऐनमार्फत स्थापना गरेपछि यो २५ वर्षको अवधिमा केयुले पछि फर्कनु परेको छैन ।

केयुलाई विश्वस्तरको विश्वविद्यालय बनाउन संस्थापक उपकुलपतिका हैसियतमा शर्मा दुई दशकसम्म निरन्तर लागिरहे । उनकै पदचिह्न पछ्याउँदै तीन वर्षदेखि वर्तमान उपकुलपति रामकण्ठ माकजू श्रेष्ठले केयुलाई अझ उचाइमा पु¥याउन मेहनत गरिरहेका छन् । नयाँ र समय सुहाउँदो विषयमा उच्च शिक्षा प्रदान गर्न र शैक्षिक क्यालेन्डरलाई निरन्तरता दिनमा केयु अग्रणी रहेकोमा स्थानीयसमेत खुसी देखिन्छन् ।

'केयुले तोकिएकै समयमा भर्ना लिएर पढाइ पूरा गर्दै आएको छ, यति मात्रै नभई हरेक वर्ष दीक्षान्तसमेत आयोजना गर्दै स्नातक र माथिका विद्यार्थीलाई हौस्याउँदै आएको छ,' धुलिखेलका पूर्वमेयर एवं समाजसेवी बेलप्रसाद श्रेष्ठले भने ।

विश्वविद्यालयको मान्यता पाएलगत्तै स्कुल अफ साइन्सबाट उच्च शिक्षा प्रदान गर्न थालेको केयुले स्कुल अफ आर्ट्स, इन्जिनियरिङ, साइन्स, एजुकेसन, म्यानेजमेन्ट र मेडिकल साइन्सेजमातहत उच्च शिक्षा अध्यापन गराउँदै आएको छ । अघिल्लो वर्षबाट नयाँ विभागका रुपमा स्कुल अफ लको समेत सुरुवात भएको छ ।

केयुको स्कुल अफ मेडिकल साइन्सेजले बर्सेनि एक हजारभन्दा बढी संख्यामा मेडिकल डाक्टर उत्पादन गर्दै आएको छ । केयुको आफ्नै र सम्बन्धनप्रदत्त कलेजमा एमबिबिएस र एमडी तहको अध्यापन हुँदै आएको छ ।

गत मंसिरमा २१ औं दीक्षान्त आयोजना गरेको केयुमा हालसम्म २० हजार ६ सय ७८ विद्यार्थीले स्नातक र स्नातकोत्तर उपाधि पाएर दीक्षित भइसकेका छन् । यिनमा आर्ट्सतर्फ १ हजार ६ सय ७७, एजुकेसनतर्फ ८ सय १, इन्जिनियरिङतर्फ २ हजार ३ सय ८२, म्यानेजमेन्टतर्फ ४ हजार ५१, साइन्सतर्फ २ हजार ९७ जना छन् । मेडिकल साइन्सेजमा मात्रै ९ हजार ६ सय ७० जना दीक्षित भइसकेका छन् । यो कुल दीक्षितको आधा हाराहारी संख्या हो ।

'हामीले मुलुकलाई आवश्यक पर्ने मध्यम तथा उच्चस्तरको जनशक्तिलाई ध्यानमा राख्दै स्थापनाकालदेखि नै विभिन्न विषयमा उच्च शिक्षा प्रदान गर्दै आएका छौं, यसबाट रोजगारी मात्रै नभई केयुबाट उत्तीर्ण विद्यार्थी संसारको जुनसुकै विश्वविद्यालयमा थप अध्ययनमा समेत योग्य सावित हुँदै आएका छन्,' संस्थापक उपकुलपति शर्माले भने ।

गुणस्तरीय र समयसापेक्ष शिक्षामा जोड दिँदै आएको केयुले दीर्घकालीन लक्ष्यमा २०७५ सालसम्ममा विश्वस्तरको विश्वविद्यालयमा पुग्ने अपेक्षा राखेको छ । 'अहिलेको अर्थतन्त्रको मेरुदण्ड नै नलेज इकोनोमी हो । उत्पादित जनशक्तिको स्तरले मुलुकलाई दाँजिन्छ । यहाँको पढाइ पनि विदेशको जस्तै स्तरीय हुनुपर्छ । यसैलाई मूलमन्त्र मानेर अघि बढीरहेका छौं,' उपकुलपति श्रेष्ठले भने ।

गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै पछिल्लो समय केयुले स्थानीय समुदायलाई समेत हित हुनेखालका विभिन्न अध्ययन, अनुसन्धान र विकासका कामसमेत गर्दै आइरहेको छ । यसैक्रममा स्थानीय तथा उन्नत जातका बाँस प्रजाति र उच्च महŒवका वनस्पतिको अनुसन्धान एवं प्रविधि विकास गर्न राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र केयुबीच सम्झौता भएको छ ।

केयु, जलीय पर्यावरण केन्द्रका अनुसन्धानकर्ताले उच्च भूभागका तालतलैयाको संरक्षण प्रक्रिया र वर्तमान अवस्थाको अध्ययन गर्न थालेका छन् । उच्चभेगका तालतलैयाको आयु, विगतका वर्षका तापक्रमको जाँच र अध्ययनका आधारमा जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणको उपाय खोज्न सहज हुने केन्द्रले जनाएको छ ।

उता, केयु बिजनेस इन्कुबेसन सेन्टर ९केयुबिआइसी० मा विद्यार्थीले तयार पारेका परियोजना परिष्कृत गर्दै समुदायको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन हुँदै आएका छन् । शर्माले केयुको स्थापनादेखि करिब २३ वर्षको अवधिमा आएका बाधा, अड्चन र धक्काबारे पुस्तकमा धेरै ठाउँमा उल्लेख गरेका छन् । तैपनि हिम्मत नहारी केयुलाई २५ औं वर्षसम्म निरन्तर अघि बढाउनमा उनकै अहम् भूमिका रहेको उनलाई चिनेजानेकाको भनाइ छ ।

'सरकार एवं दाताको सहयोग र विश्वास, शिक्षकको हौसलापूर्ण सहभागिता र परिश्रम, विद्यार्थीको मिहिनेत र अनुशासनले निरन्तरता दिन सकिएको हो,' शर्मा भन्छन् । २५ वर्षको लामो र कठिन यात्रा पूरा भएको अवसरमा विश्वविद्यालय सभाको ६९ औँ बैठकले सन् २०१६ भरि केयु स्थापनाको रजतवर्ष मनाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता र प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार रजत महोत्सव शुभारम्भ हुँदै छ ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया