Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षाले राष्ट्र प्रेमको भावना जगाउनुपर्छ : राष्ट्रपति

शनिबार, २९ फागुन २०७२

काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले भावी पुस्तामा समेत राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा दिनुपर्ने बताएकी छिन् ।  शुक्रबार धुलिखेलमा काठमाडौं विश्वविद्यालयको रजत जयन्ती महोत्सवको शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई श्रमप्रति सम्मान गर्दै राष्ट्रहितमा आफुलाई समर्पित गराउने शिक्षा आवश्यक भएको बताइन् । 

 ‘अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधीमा आधारित भएपनि आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्टिय सम्पदाप्रति यथेष्ठ जानकारी, श्रद्धा एवं सम्मान जगाउने हुनुपर्छ,’ उनले भनिन्, ‘शिक्षा मार्फत राज्यले सुसंस्कृत नागरिक तयार गर्नुपर्छ ।’  उनले गुणस्तरीय शिक्षा र रोजगारीको लागि विदेशीनेको संख्या बर्षेनी बढेको भन्दै स्वदेशमा चाहिने जनशक्ति आफौ तयार पार्न नेपाली विश्वविद्यालयहरु सक्षम हुनुपर्ने बताइन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नै मुलुकका सबै विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेज गर्ने दाबी गरे । उनले शिक्षा क्षेत्रमा योगदान दिएका मध्येबाट कुलपति छानिनुपर्ने तर्क गरे । ‘प्रधानमन्त्री भएकै कारण म धेरै विश्वविद्यालयको कुलपति छु, यो तमासा रोकिनुपर्छ,’ उनले भने, ‘सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालयविच समन्वय हुने संयन्त्र बनाएर प्रधानमन्त्री नै उपकुलपति हुने व्यवस्था अब म हटाउँछु ।’ उनले देशका सबै क्षेत्रमा चाहिने विधागत जनशक्ति विश्वविद्यालयले तयार गर्नुपर्ने तर्क गरे । धनी र गरिबले लिने खालको शिक्षा  प्रणाली हुन नहुने तर्क गर्दै उनले शिक्षा, व्यवहारिक, प्रतिस्पर्धी र जीवन उपयोगी हुनुपर्ने बताए । 

सहकुलपति समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्न सक्नुपर्ने बताए । उपकुलपति डा। रामकण्ठ माकजूले मुलुक निर्माण गर्ने तागत नेपालीहरुसग कति रहेछ भन्ने उदाहरण विश्वविद्यालयले प्रस्तुत गरेको दाबी गरे । संस्थापक उपकुलति डा। शुरेसराज शर्माले नमुनाको रुपमा सञ्चालित विश्वविद्यालयले बोलेको कुरा पुरा गरेको दाबी गरे ।

काठमाडौं विश्वविद्यालय ऐन २०४८ आएपछि स्थापना भएको विश्वविद्यालयले आफ्नो रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

दोहोरो भन्दै प्राध्यापकको असन्तुष्टि

एउटै संस्थाको दुई पटक रजत महोत्सव मनाएको भन्दै प्राध्यापकहरुले असन्तुष्टि जनाएका छन् ।  काठमाडौं भ्याली क्याम्पसलाई नै विश्वविद्यायको रुप दिएको भन्दै केयुले संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा ०६७ पुस २४ गते नै रजत जयन्ती मनाइसकेको छ । त्रिभुवन विश्वविद्यालयको क्यामकम्पस स्थापना भएको मिति २०४२ साललाई आधार बनाएर रजत जयन्ती मनाएको भन्दै प्राध्यापकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसअघि उजुरी समेत दिएका थिए । ‘एउटै संस्थाको दुई पटक रजत जयन्ती के आधारमा मनाइएको हो, थाहा भएन,’ प्राध्यापक संघका अध्यक्ष विभुतिरञ्जन झाले भने, ‘कि अघिल्लो गलत थियो भन्नुपर्यो, कि अहिलेको, लाखौं खर्च गरेर गरिने यस्ता कार्यक्रम अख्तियारको दुरुपयोग मात्रै हो ।’ 

रजिष्टार डा। भोला थापाले रजत जयन्ती उत्सव भएकालेले मनाउन कुनै कारण नचाहिने बताए । ‘दुई पटक मनाएको हैन, छुट्टाछुट्टै हो,’ उनले भने, ‘पहिला भ्याली क्याम्पस र अहिले विश्वविद्यालयको हो, उत्सव मनाउन कुनै कारण चाहिने हैन ।’ प्राध्यापकहरुले विश्वविद्यालयको ठूलो रकम खर्च भएको भन्दै अख्तियारमा उजुरीको तयारी गरेको बताए । दोस्रो पटक भएको रजत जयन्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया