Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय निर्माणमा बल्छी धु्रबेको सहयोग !

शुक्रबार, २८ फागुन २०७२

काठमाडौँ, २८ फागुन । हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरु भत्काएको र पुनःनिर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गरेका हुन् ।  केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको मरिचमानले जानकारी दिए । 

 ‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उनले भने – ‘कार्यक्रम गरेर सङ्कलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा श्रेष्ठले हास्यव्यङ्ग्य कार्यक्रम गरेका थिए ।

विद्यालय भवनहरु पुनःनिर्माण गर्दा कम्तीमा दश रोपनी जग्गा हुनुपर्ने दातृ निकायको नियम भएकाले माइकोट माविले थप जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो । तर, अर्थाभाव हुँदा आवश्यक भएजति जग्गा खरिद गर्न नपाएको शिक्षकहरुले जनाएका छन् । 

कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरेका हुन् । श्रेष्ठ मेरी बास्सैलगायत हास्य टेलिशृङ्खला, नेपाली चलचित्रका साथै गीत, सङ्गीतमा पनि छाउँदै आएका छन् । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया