Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

मध्यवर्ती क्षेत्रका विद्यालयमा संरक्षण शिक्षा

शुक्रबार, २८ फागुन २०७२

काठमाडौँ, २८ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रमअन्तर्गत अब अनिवार्य रूपमा संरक्षण शिक्षा पाठ्यपुस्तक लागू हुने भएको छ । आगामी शैक्षिक सत्र २०७३ देखि पहिलो चरणमा निकुञ्जको उत्तरी भेगका मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक विद्यालयमा संरक्षण शिक्षा पाठ्यपुस्तक लागू हुने भएको हो । 

निकुञ्जको उत्तरी भेगमा पर्ने सुर्खेत जिल्लाको तरंगा, हरिहरपुर, छिन्चु र लखपराजुल गाविसमा रहेका सामुदायिक विद्यालयमा संरक्षण शिक्षा पाठ्यपुस्तक लागू हुने बताइएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालले संरक्षण शिक्षा पाठ्यपुस्तक तयार गरेको हो । पहिलो पटक कक्षा ६ का लागि पाठ्यपुस्तक तयार पारिएको छ । 

मंगलबार बर्दियाको ठाकुरद्वारामा आयोजित एक समारोहमा शिक्षा विभागका महानिर्देशक खगराज बरालले कक्षा ६ का लागि तयार परिएको संरक्षण शिक्षा पाठ्यपुस्तकको विमोचन गरे । आगामी शैक्षिक सत्र २०७३ देखि निकुञ्जको उत्तरी भेगका १० विद्यालयमा यो पाठ्यपुस्तक लागू हुने विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल ९सेन्स० नेपालका अध्यक्ष गौतमले बताए । सेन्स नेपाल निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने विद्यालयमा गठित विद्यार्थी वातावरण समूह ९इको क्लब० को एक सञ्जाल हो । यसले विगत दुई दशकदेखि विद्यार्थीहरूमा संरक्षणसम्बन्धी विविध गतिविधि सञ्चालन गर्दै आएको छ । 

सेन्स नेपालका अध्यक्ष गौतमले विद्यार्थीलाई विद्यालय तहदेखि नै वन, वन्यजन्तु र वातावरण संरक्षणसम्बन्धी ज्ञान हासिल गराउन स्थानीय पाठ्यक्रमअन्तर्गत संरक्षण शिक्षा पाठ्यपुस्तक तयार गरिएको बताए । 

बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रको उत्तरी भेग संरक्षणको क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी संवेदनशील मानिएकाले यसै क्षेत्रका बालबालिकाबाट नै संरक्षणको चेतना फैलाउने उद्देश्यले पहिलो चरणमा उत्तरी क्षेत्रका विद्यालय छनोट संरक्षण पाठ्यपुस्तक लागू गरिएको सेन्स नेपालका सचिव वासुदेव भट्टराईले बताए । उनले आगामी वर्षदेखि क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गरिने बताए । 

नेपाल सरकारको नियमानुसार निम्न माध्यमिक तहसम्म स्थानीय विषयवस्तु समेटेर १ सय पूर्णांकको पाठ्यक्रम तयार पारी लागू गर्न सकिने प्रावधान छ । सोहीबमोजिम नै यस क्षेत्रमा संरक्षणसम्बन्धी गतिविधि समेटेर पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको सेन्स नेपालका अध्यक्ष दिनेशचन्द्र गौतमले बताए । 

यस पाठ्यपुस्तकका माध्यमबाट बालबालिकामा प्राकृतिक स्रोतसाधनको संरक्षण, जैविक विविधता, वन तथा वन्य जीव संरक्षण, जलवायु परिवर्तनलगायतका विषयवस्तुका बारेमा ज्ञान, सीप हासिल हुने बताइएको छ । पाठ्यपुस्तकमा वन र वन्यजन्तु, विद्यार्थी वातावरण समूह, चोरीसिकार, वैकल्पिक ऊर्जा, चुरे संरक्षण, जडीबुटी, सिमसार र जलचर, संस्कृति र पर्यटन, प्राकृतिक विपद् र जलवायु परिर्वतन गरी दस विषयवस्तु  समेटिएको छ । 

विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालले यसअघि नै कक्षा ५ का लागि वातावरण संरक्षण शिक्षाको पाठ्यक्रम तयार पारिसकेको छ । सोही पाठ्यक्रमअनुसार गत वर्षदेखि नै बर्दिया निकुञ्जसँग जोडिएको मढेला स्रोतकेन्द्रका विद्यालयमा कक्षा ५ को वातावरण संरक्षण शिक्षा पठनपाठन भइरहेको छ । 

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया