Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कमजोर अंग्रेजीको कारण, अंग्रेजी पनि नेपालीमै पढाउँछन् सामुदायिकका शिक्षक !

विहीबार, २७ फागुन २०७२

- विष्णु विवेक / काठमाडौं - माध्यम भाषाका रुपमा संसारमा भइरहेको अंग्रेजीको विस्तार र नेपाली सन्दर्भमा कमजोर अंग्रेजी शिक्षण सिकाइ प्रति व्यंग्य गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्धनै लेखेका थिए, हाय अंग्रेजी ! पचास वर्ष अघि उनले जुन सन्दर्भमा अंग्रेजी माथि व्यंग्य गरेर निबन्ध लेखे अहिले झन् अंग्रेजी प्रतिको क्रेज बढ्दो छ । तर नेपालका अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी सिकाउने तरिका भने पचास वर्ष अघिकै जस्तो छ ।

अधिकांश सामुदायिकमा अंग्रेजीका शिक्षक छैनन् । भएका शिक्षकले अंग्रेजी पनि नेपालीमा पढाइरहेका छन् । परिणाम सामुदायिकमा कक्षा दशको वार्षिक परीक्षा एसएलसीमा गणित र विज्ञान पछि अनुतीर्ण हुने सबै भन्दा बढी विद्यार्थी अंग्रेजीमै छन् ।

सामुदायिकमा अंग्रेजी शिक्षण सिकाइ किन कमजोर छ ? नारायण बहुमुखी क्याम्पस दैलेखका शिक्षक डबल विसी भन्छन्, ‘सामुदायिक विद्यालयमा शिक्षकले पढाउने शैली परिवर्तन भएन । शिक्षकले अंग्रेजी भाषालाई जुन रुपमा बुझेर पढाउनु पथ्र्यो त्यसो गर्न सकेका छैनन् । शिक्षकको काम बोर्डमा लेख्ने र विद्यार्थीको काम त्यसैलाई सार्ने भइरहेको छ ।’

भाषा शिक्षण भएकाले अन्य भाषा शिक्षणमा जस्तै अंग्रेजीमा पनि सुनाइ, बोलाइ, पढाइ र लेखाइ चार तत्व शिक्षणमा आवश्यक छ । बीसीका शब्दमा हाम्रो सामुदायिक विद्यालयमा लेखाइ केही हदसम्म भए पनि भाषा शिक्षणका अरु तीन तत्व शून्य प्राय छन् ।

‘भाषाका आफ्नै नियम हुन्छन्, अंग्रेजी शिक्षणमा एकाध ग्रामर बाहेक अरु कुरा विद्यार्थीलाई बुझाइ दिने मात्रै हो’ उनले एडुखबर सित भने, ‘शिक्षकको काम बुझाउन सघाउने हो । बोर्डमा लेखेको विद्यार्थीले सार्छ बुझ्दैन जसले गर्दा उच्च शिक्षा अध्ययनमा पनि विद्यार्थी अंग्रेजीमा कमजोर देखिन्छन् ।’

शक्ति उच्च माध्यमिक विद्यालय बेलोरी कञ्चनपुरका अंग्रेजी शिक्षक चन्द्रप्रसाद पोखरेल अंग्रेजी पढाउन सबै भन्दा सजिलो विषय हो भन्ने ठान्छन् । ‘तर त्यै विषयमा धेरै विद्यार्थी फेल हुन्छन् । विद्यार्थी फेल हुने प्रमुख कारण शिक्षक नै हुन्’ पोखरेलको बुझाइ छ, ‘अंग्रेजी सहज र सिर्जनात्मक ढंगले पढाउने हो भने कोही विद्यार्थीले अंग्रेजी दोहोर्याएर पढ्नु पर्ने विषय होइन ।’

पछिल्लो समय निजीमा अभिभावकको आकर्षण बढ्नुका पछिल्तिर अंग्रेजी माध्यमको पढाइ पनि एउटा कारण रहेको अध्ययनहरुले देखाएको छ । बीसीका शब्दमा निजीमा अंग्रेजी माध्यममा पढाइ भए पनि उनीहरुले अंग्रेजी सिकाइ रहेका छैनन् घोकाइ रहेका छन् । विद्यार्थी कडा वातावरणमा अनिवार्य अंग्रेजी घोक्नु पर्ने बाध्यतामा छन् । उनले भने ‘यसले अंग्रेजी त जान्लान् तर सिकाइको सही तरिका त्यो पनि होइन ।’

मनकामना रत्न अम्बिका क्याम्पस तुम्लिङटार संखुवासभाका शिक्षक कुबेर भेटुवाल विद्यालयमा एउटा अंग्रेजी शिक्षक हुने, अरु शिक्षक अरु विषयका हुने तर अंग्रेजी जाने पनि बोलिचालीमा अंग्रेजी प्रयोग नगर्नुलाई पनि समस्या देख्छन् । भन्छन्, ‘विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक, व्यवस्थापन समितीमा अंग्रेजी सुधारका नयाँ कार्यक्रम छैनन् । शिक्षकको काम विद्यलाय गयो, उही पुरानै शैलीमा हाजिर गर्यो, विद्यार्थी पढायो फक्र्यो भएको छ । यसरी विद्यालय तहमा अंग्रेजी सुध्रिदैन ।’

उनी सामुदायिक विद्यालयमा अंग्रेजी पढाउने बाहेकका अधिकांश शिक्षक अंग्रेजीमा सामान्य संवाद गर्न लेख्न नजान्ने, उनीहरुमा सिक्ने उत्साह पनि नहुने ठान्छन् । ‘यसले सामुदायिकका शिक्षक अंग्रेजीनै जान्दैनन् भन्ने भइरहेको छ’, उनले भने, ‘शिक्षककै तहबाट यस्तो धारणा अन्त्यका लागि पहल जरुरी छ ।’

नारायण क्याम्पस दैलेखका शिक्षक विसीले दुर्गमका सामुदायिक विद्यालयमा यो समस्या धेरै रहेको र प्रधानाध्यापकले कम्तीमा पनि आँट गरेर अंग्रेजी भाषामा शिक्षण सिकाइ थाल्ने हो भने सुधारको पहल सुरु हुन सक्ने बताए । उनले भने, ‘यसका लागी शुरुमा अंग्रेजी विषयका शिक्षकले ‘गाइड’ गर्ने र पछि सबै शिक्षकले त्यसलाई फलो गर्न सक्छन् ।’

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) का सचिव कुञ्जर गौतम अंग्रेजी शिक्षणका लागि पहिले शिक्षक दक्ष हुनु पर्ने बताउँछन् । ‘हाम्रो उद्धेश्य नेपालमा विश्वव्यापी भाषा अंग्रेजी सबैले सहज रुपमा जानुन् भन्ने नै हो । त्यसका लागी नेतृत्व र शिक्षणमा संलग्नलाई दक्ष बनाउन हामी लागि परेका छौं’, उनले भने ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागी अंग्रेजी भाषालाई बोलीचालीको भाषा बनाउनु पर्छ ।’

नेल्टा नेपालका निजी तथा सामुदायिक विद्यालय विश्वविद्यालयमा अंग्रेजी शिक्षण गर्ने शिक्षकहरुले २२ वर्ष अघि स्थापना गरेको संस्था हो । यसले सामुदायिक विद्यालयको अंग्रेजी सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । ४३ जिल्लाका अंग्रेजी शिक्षक यसमा संलग्न छन् ।

गौतमका शब्दमा विद्यार्थी फेल हुनु भनेको गतिलो शिक्षण शैली नभएरै हो र त्यसको कारण शिक्षकनै हुन् । विद्यार्थीले नपढेर फेल भएको भन्दा पनि शिक्षकले पढाएको सहज तरिकाले सिक्न सक्यो कि सकेन भन्ने कुरा महत्वपूर्ण हुने उनको तर्क छ ।

नेल्टाकी अध्यक्ष मीरा श्रेष्ठ पनि यसमा सहमत छिन् । उनको धारणा छ, ‘पढाउने शिक्षकले हो, पढ्ने विद्यार्थीले । त्यसैले शिक्षक र विद्यार्थीलाई राम्रोसंग जिम्मेवार र अनुशासित बनाउने हो भने सामुदायिकको अंग्रेजीको गुणस्तर माथि उठ्छ ।’

यसका लागी अभिभावक, विद्यालयका शिक्षक शिक्षिका र स्वंयम विद्यार्थीले अंग्रेजी भाषामा बोल्न र लेख्न थाल्नु पर्ने उनको सुझाव छ । उनले भनिन्, ‘अंग्रेजी भाषामा पढाई हुन थाले पछि निजीमा पढाइरहेका अभिभावकले पनि छोराछोरी सामुदायिकमा भर्ना गरेका छन्, त्यसैले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन थाल्ने हो भने सुधार अवश्य हुनेछ ।’

प्रकाशित मिति २०७२ फागुन २७ गते

प्रतिक्रिया