Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

उच्च माविमा प्राविधिकको पढाइ लथालिंग

विहीबार, २७ फागुन २०७२

काठमाडौँ, २७ फागुन । बर्दिया भुरी गाउँको त्रिभुवन उच्च माविले यस वर्ष कक्षा ११ मा पशुविज्ञान (एनिमल साइन्स) सञ्चालनको अनुमति पायो । उच्च माध्यमिक शिक्षा परिषद्मा अनुमति लिन पेस गरेको कागजमा प्रयोगात्मक कक्षाका लागि प्रयोगशाला रहेको उल्लेख थियो । सोही आधारमा परिषद्ले अनुमति पनि दियो ।

तर, परिषदका उपाध्यक्ष चैतन्य शर्मासहितको टोली अनुमगनमा जाँदा कागजमा लेखेको पूर्वाधार भेटाउन मुस्किल पर्‍यो । ‘प्राक्टिकल गराउन गोठ, खोर बनाइएको थियो तर कुखुरा, बाख्रा केही पनि थिएन,’ उनले भने, ‘विद्यार्थीहरूले प्रयोगात्मक कक्षा लिनै पाएका छैनन् । सैद्धान्तिक कुरा पनि योग्य शिक्षकले पढाएको पाइएन ।’ कक्षा ११ मा पढाइ हुने भौतिक, रसायन र जीव विज्ञानको छुट्टाछुट्टै ल्याब हुनुपर्छ । ‘ल्याब बनाउने अनुदान लिए पनि सामान केही थिएन,’ शर्माले भने । 

बुटवलको नवीन औद्योगिक कदरबहादुर–रीता उच्च माध्यमिक विद्यालयले परिषद्बाट यसपालि कक्षा ११ मा सिभिल इन्जिनियरिङ अध्ययनको अनुमति पाएको थियो । तर, सरकारले उपलब्ध गराएको अनुदानबाट प्रयोगशालामा आवश्यक पर्ने सामान खरिद गरेर गोदाममा थन्क्याएको अवस्थामा पाइएको शर्माले बताए । विद्यालयले ३ वर्षअघि नै उपकरण जडान गरेर विद्यार्थीलाई प्रयोगात्मक कक्षामा सहभागी गराउनुपर्थ्यो । गतवर्ष एसएलसी दिएका विद्यार्थीलाई समेत प्रयोगात्मक कक्षामा सहभागी नगराएको परिषदको अनुमगन टोलीले फेला पारेको हो । 

३ वर्षअघिदेखि ९९ विद्यालयमा प्राविधिक पढाइ सुरु भएको हो । विद्यालय तहमा प्राविधिक विषय पढाउँदा प्रयोगात्मक कक्षामा आवश्यक पर्ने उपकरण खरिद गर्न शिक्षा विभागले न्यूनतम २० लाखदेखि ५० लाख रुपैयाँसम्म अनुदान समेत दिएको छ । ल्याब व्यवस्थापनका लागि सिभिल इन्जिनियरिङलाई ५० लाख, कम्प्युटर इन्जिनियरिङलाई ३१ लाख, बाली र पशु विज्ञानलाई २६ लाख र इलेक्ट्रिकल इन्जिनियरिङ पढाउने विद्यालयलाई २० लाखको दरले अनुदान दिएको थियो । 

त्यस्तै उच्च माविमा पनि प्राविधिक विषय पढाउन स्वीकृति पाउने त्यही विद्यालयलाई सिभिल र इलेक्ट्रिकल पढाउन १८ लाख, कम्प्युर इन्जिनियरिङ पढाउनेलाई १० लाख, बाली र पशु विज्ञानका लागि नौ लाखका दरले अनुदान पठाइसकेको विभागले जनाएको छ । यी विद्यालयमा २ शिक्षकको तलबसमेत अनुदान पठाएको विभागका उपनिर्देशक रामराज खकुरेलले बताए । 

सरकारले प्रयोगशाला व्यवस्थापनमा पर्याप्त अनुदान दिए पनि प्राविधिक विषय पढाइ हुने यी दुई विद्यालयको दृश्यले मुलुकभर सञ्चालनमा रहेका ९९ विद्यालयको अवस्था प्रस्ट्याएको छ । परिषद्ले कक्षा ११ मा प्राविधिक विषय पढाउन भने ७५ उच्च माविलाई अनुमति दिएको छ । 

परिषद्ले प्राविधिक धार सञ्चालन गर्न चाहने विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकलाई १५ वटा सर्त पूरा गर्ने कबुलियतनामा गराएको छ । पाठ्यक्रम अनुसारका विषयगत शिक्षकको व्यवस्थापन गर्ने, कक्षा सञ्चालन गर्न न्यूनतम २० र अधिकतम ४८ विद्यार्थी भर्ना गर्ने, प्रयोगात्मक कक्षाका लागि मापदण्डअनुसार छुट्टै विषयगत प्रयोगशाला व्यवस्थापन गर्ने, भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने लगायतको सर्त छ । तोकिएको पूर्वाधार कमी पाइएमा कक्षा सञ्चालन रोक्का र विषय थप नगर्ने भन्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले सहमति जनाएका छन् । 

परिषद्का उपाध्यक्ष शर्माको टोलीले झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, पाल्पा, कैलाली, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लामा प्राविधिक विषय सञ्चालन गर्ने २० भन्दा बढी विद्यालयको अनुगमन गरेको थियो । सबैजसो विद्यालयको पूर्वाधारको अवस्था कमजोर रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । 

‘यस्ता विद्यालयमा सरकारले अनुदान दिएको छ,’ शर्माले भने, ‘प्लान्ट साइन्स पढाइ हुने विद्यालयमा गमलाको बोट पनि छैन ।’ कतिपय विद्यालयमा ल्याबको कोठा समेत नपाइएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । केहीले सामान किनेर कोठामा थुपारेको पाइएको टोलीका सदस्यले जानकारी दिए । 

कक्षा ९ र १० मा प्राविधिक धार पढेर कक्षा ११ मा निजी उच्च माविमा विज्ञान संकायको प्रवेश परीक्षा दिँदा सबैजसो अनुत्तीर्ण भएका थिए । ‘प्राविधिकबाट एसएलसी दिएका विद्यार्थीको सिकाइ कमजोर पायौं,’ उच्च माध्यमिक विद्यालय संघ ९हिसान० का उपाध्यक्ष रमेश सिलवालले भने, ‘कमजोरी पत्ता लगाएर सुधारमा जोड दिनुपर्ने देखिन्छ ।’ 

यस्ता विद्यालयमा पढाउने शिक्षक टिकाउनै नसक्नु अर्को समस्या हो । सम्बन्धित विषयमा स्नातक र स्नातकोत्तर सकाएको व्यक्ति शिक्षक नियुक्ति गर्नुपर्ने हुन्छ । ‘प्राविधिक विषय पढाउने शिक्षक एकरदुई महिनाभन्दा बढी टिकाउनै सकेको छैन,’ उपाध्यक्ष शर्माले भने, ‘अवसर नपाउँदासम्म विद्यालयमा काम गर्छन्, राम्रो काम पाउनेबित्तिकै छाड्ने गरेका छन् ।’ 

४ वर्षअघिदेखि पढाउन सुरु भएको विद्यालयको अवस्था कमजोर हुँदाहुँदै सरकारले यस वर्ष थप एक सय ४१ विद्यालयमा प्राविधिक विषय सञ्चालन गर्दै छ । ‘विषयगत शिक्षकको व्यवस्थापन नगरी नयाँ विद्यालयमा सुरु गर्नु मूर्खता हुनेछ,’ शर्माले भने ।  १० कक्षासम्म प्राविधिक विषय पढेका विद्यार्थीलाई उच्च माविकी सीटीईभीटी कहाँ लैजाने भन्ने विवाद हुँदाहुँदै तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले उच्च माविमा पनि पढ्न पाउने निर्णय गरेकी थिइन् । 

‘उसबेला यस्तो होला भन्ने थाहै भएन,’ परिषदका एक पदाधिकारीले भने, ‘प्लस टुमा सञ्चालन गर्ने निर्णय गलत भएको बल्ल थाहा भयो ।’ कक्षा ९ र १० मा प्राविधिक विषय पढ्ने विद्यार्थीलाई कतिपय विद्यालयले ऐच्छिक गणित पढाएका छैनन् । गणित नपढेका विद्यार्थीले ११ र १२ को कोर्स अध्ययन गर्न गाह्रो पर्न सक्ने विज्ञहरू बताउँछन् । 

कक्षा ९, १० र ११, १२ को पाठ्यक्रमको तालमेल छैन । ९ देखि १२ सम्मको कोर्षको तालमेल मिलाउन प्रा. टंक शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया