Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालयबाटै नैतिक शिक्षा पढाउन दबाब 

बुधबार, २६ फागुन २०७२

काठमाडौँ, २६ फागुन । दक्षिण एशियाली ज्योतिष महासंघको ३९औं बार्षिक अन्तर्राष्ट्रिय ज्योतिष तथा पूर्वीय दर्शन सम्मेलनले नेपालमा पूर्वीय दर्शनमा आधारित धर्म, संस्कृति र परम्पराको नैतिक शिक्षा विद्यालयबाटै दिन सरकारलाई दबाब दिने भएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले ज्योतिष, वास्तु, योग र प्राचीन चिकित्सा पद्धतिको शोध अनुसन्धानलाई निरन्तरता दिँदै यसको प्रयोगमा जनचेतना बढाउने पनि निर्णय गरेको छ। 

महासंघको नेपाल अध्यक्ष लक्ष्मण पन्थीका अनुसार, यसअघि मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनले गठन गरेको प्रस्तावित अन्तर्राष्ट्रिय ज्योतिष महासंघलगायतका ज्योतिषीय अन्तर्राष्ट्रिय संस्थालाई एकीकृत गर्दै विश्व ज्योतिष महासंघ गठन गर्ने भएको छ।  सो महासंघमा आवद्ध भएका सस्थाहरुको प्रतिनिधित्व रहने गरी कम्तीमा ५१ सदस्यीय तदर्थ समिति र ९ सदस्यीय सचिवालय समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए।  

महासंघका अध्यक्ष ज्योतिष डा. लोकराज पौडेलको नेतृत्वमा नयाँ दिल्ली गएको २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको हो। सम्मेलनमा नेपाल, भारत, अमेरिका, इटाली, बंगलादेश, बर्मा, थाइलैण्ड, चीन, श्रीलंका, भुटानलगायत १६ देशका एक सय २५ जना विदेशी प्रतिनिधि र भारतका सबै प्रान्तबाट तीन सय ७५ सहित चार सय ५० जनाको सहभागिता थियो।  

एस्ट्रोलोजिकल रिसर्च प्रोजेक्ट र इण्डियन इन्ष्टिच्यूट अफ ओरियण्टल हेरिटेजको आयोजनामा सम्पन्न सम्मेलन २७ फेब्रुअरीदेखि २९ सम्म भएको थियो। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया